साहारा लिम्बू
फुङलिङ, साउन २० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विशेष पुस्तक प्रकाशन गर्ने भएको छ । गाउँपालिकाले आफ्नो भूगोलभित्र जन्मिएर व्यक्तित्वहरूको जीवन यात्रा र प्रेरणादायी पाटोलाई उजागर गर्न विशेष पुस्तक प्रकाशन गर्ने भएको हो ।
पुस्तकमा गाउँपालिका भित्रका सामाजिक, राजनीतिक, शैक्षिक, प्रशासनिक, कला, संस्कृति तथा साहित्य जस्ता विभिन्न क्षेत्रमार्फत समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई समेटिने छ । ‘शिखरतिर समर्पणः मैवाखोलाका प्रेरणादायी अनुहार’ नामक उक्त पुस्तकमार्फत ती व्यक्तित्वहरूको परिचय, योगदान, अनुभव तथा भाबी पुस्ताले उनीहरूबाट सिक्न सक्ने ज्ञान र मार्गदर्शनलाई समेट्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
उहाँका अनुसार मैवाखोलाको माटोमा उब्जिएका प्रेरणादायी पाइलाहरूको अनुभव भावी पुस्ताका लागि मार्गदर्शन बन्न सक्छ । त्यसैले पालिकाले यस्ता प्रेरणादायी अनुहारहरूको जीवन यात्रा दस्तावेज गर्न लागेको हो । यो पालिकाको अमूल्य सम्पत्ति र अभिलेख हुने अध्यक्ष वनेमले बताउनुभयो । गाउँपालिकाले पुस्तक प्रकाशनका लागि प्रारम्भिक तयारी थालिसकेको छ ।
यसका लागि विभिन्न स्रोतबाट विवरण सङ्कलन गरिरहेको छ । विशेष योगदान पुर्याउने व्यक्तित्वहरू नछुटुन् भन्ने उद्देश्यका साथ गाउँपालिकाले एक सूचना जारी गरी तथ्य तथ्याङ्क उपलब्ध गराई सहयोग गर्न अपिल समेत गरेको छ ।
यस पुस्तकमार्फत गाउँपालिकाको समृद्ध ऐतिहासिक र सामाजिक पृष्ठभूमि मात्रै होइन, भविष्यका पुस्ताले सिक्न सक्ने प्रेरणाको खानी पनि बन्ने अपेक्षा गरिएको छ ।