• १३ साउन २०८१, आइतबार

आफ्नै स्रोत साधनले स्थानीय तह निर्वाचनः प्रवक्ता पौडेल

blog

तस्विरः केशव गुरुङ गोरखापत्र अनलाइन

लक्की चौधरी

काठमाडौं, वैशाख ५ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आफ्नै स्रोत साधनले सम्पन्न गर्ने बताएको छ । यसअघिजस्तो विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्रतिवद्धता नआएपछि आयोगले आफ्नै आर्थिक स्रोतमा निर्वाचन सम्पन्न गर्ने बताएको हो ।

आयोगमा भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म दातृ संस्थाबाट निर्वाचन प्रयोजनमा सहयोग गर्ने प्रतिवद्धता नआएको बताउनुभयो । निर्वाचनको समय नजिकिएकाले आवश्यक पर्ने करिब सबै निर्वाचन सामग्री आफ्नै आर्थिक स्रोतले खरिद गरिसकेको बताउनुभयो । नेपाल सरकारको आर्थिक सहयोगमै यस पटकको निर्वाचन सम्पन्न हुने उहाँले बताउनुभयो । “केही तालिम प्रशिक्षण कार्यक्रम बाहेक सबै निर्वाचन सामग्री आयोगले सरकारकै बजेटमा खरिद गरेको छ” प्रवक्ता पौडेलले भन्नुभयो ।

सोहीअनुसार स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै मुख्य  निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई नमुना पठाएको उहाँले बताउनुभयो । सो नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । 

चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार

त्यस्तै, स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । त्यसको जवाफ आउने क्रम जारी रहेको प्रवक्ता पौडेलले बताउनुभयो । 

९५ लाख २५ हजार मतपत्र छपाइ

स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये सोमबारसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न भएको आयोगले जनाएको छ । बाँकी मतपत्रको छपाई युद्धस्तरमा भइरहेको आयोगको भनाइ छ ।  

 त्यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि गत चैत ३० गते ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ सम्पन्न गरेको छ । सो अवसरमा विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा तथा वैशाख २ गते जनकपुर, हेटौडा, बुटवल र धनगढीमा कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र दिइएको छ ।

 यसैबीच राष्ट्रिय सञ्चारमाध्यमका निर्वाचनसम्बन्धी विषयमा समाचार लेख्ने समाचारदाता र फोटो पत्रकारका लागि मंगलबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रवक्ता पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

सुरक्षा व्यवस्थापन चुस्त

निर्वाचन आयोगका प्रवक्ता पौडेलकाअनुसार निर्वाचन आयोगमा सुरक्षा व्यवस्था चुस्त रहेको बताउनुभएको छ । पतपत्र छपाइ तथा अन्य कामबारे आयोगले टेलिभिजनलाई फुटेज खिच्न नदिएको पत्रकारको जिज्ञासामा प्रवक्ता पौडेलले सुरक्षा व्यवस्थापनलाई ख्याल गरी सो कार्य गर्न अनुमति नदिइएको बताउनुभयो । आयोगले निर्वाचनसम्बन्धी गरेका सबै कार्य प्रगति र विवरण मिडिया सेन्टरबाट प्रेस मिट मार्फत जानकारी गराउने उहाँले बताउनुभयो । 

अपाङ्गमैत्री मतदान केन्द्र

आयोगका प्रवक्ता पौडेलले आगामी निर्वाचनमा अपाङ्गमैत्री मतदान केन्द्र स्थापनाका लागि आयोगले ध्यान दिएको बताउनुभएको छ । विगतका निर्वाचनमा केही कमी कमजोरी भएको र त्यसबाट शिक्षा लिंदै अवका दिनमा अपाङ्गमैत्री मतदान केन्द्रमा आयोगले ध्यान दिने उहाँले प्रष्ट पार्नुभयो ।