• १९ वैशाख २०८१, बुधबार

सामुदायिक विद्यालयमा सहयोग शुल्क उठाउन बन्द

blog

बिष्णुप्रसाद पोखरेल

दमक, वैशाख ६ गते । झापाको दमक नगरपालिकाले आधारभूत तह अर्थात् कक्षा ५ सम्म सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनैपनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनु नपर्ने भएको छ । निःशुल्क शिक्षा भनिएपनि अभिभावक सहयोग शुल्क, फारम शुल्क लगायतका विभिन्न बहानामा विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शुल्क उठाउने कार्य हुँदै आएको थियो ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यार्थीबाट एक रुपियाँ पनि नलिन निर्देशन दिएको छ । विद्यार्थीको सङ्ख्याको आधारमा नगरपालिकाले विद्यालयलाई रकम प्रदान गर्ने नगर प्रमुख रामकुमार थापाले बताउनुभएको छ । निजी श्रोतका शिक्षकका लागि तलब खुवाउन, अग्रेंजी माध्यमबाट पठनपाठन भन्दै विद्यालयहरूले शुल्क उठाउँदै आएका थिए ।

संविधानमा माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भनेपनि यसको कार्यान्वयनमा समस्या भएकाले आफूहरूले सुरुवातमा कक्षा ५ सम्म यस्तो व्यवस्था गरेको र आगामी शैक्षिक सत्रमा थप बजेट विनियोजन गरेर अघि बढ्ने योजना रहेको नगर प्रमुख थापाले बताउनुभयो । 

दमकमा नाम चलेका हिमालय माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, ढुकुरपानी माध्यमिक विद्यालय लगायत अधिकांश विद्यालयहरूले व्यवस्थापन समितिको निर्णय अनुसार भन्दै विद्यार्थीहरूसँगै मासिक रूपमा नै पैसा उठाउँदै आएका थिए । कक्षा ५ भन्दा माथि अहिले पनि उनीहरूले सहयोग शुल्क भन्दै विद्यार्थीबाट रकम उठाउँदै आएका छन् ।

नगर शिक्षा परिषद् र नगर कार्यपालिकाबाट निर्णय गरेर यो व्यवस्था गरिएको बताइएको छ । विद्यालयहरूले नगरपालिकाको परिपत्र र निर्देशन विपरीत शुल्क उठाएमा त्यस्ता विद्यालयहरूलाई कारबाही गरिने पनि थापाले जनाउनुभयो । दमक नगरभित्र २७ वटा सामुदायिक विद्यालयहरू छन् ।