• १९ वैशाख २०८१, बुधबार

शताब्दीपुरुष बस्नेतको अभिनन्दन

blog

काठमाडौँ, वैशाख ६ गते । काँगेल बाहुन्डी सरोकार केन्द्रले शताब्दीपुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबिच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा उहाँलाई अभिनन्दन गरिएको हो । पूर्वप्रशासक एवं साबिक काँगेल गाउँ विकास समिति सोलुखुम्बुका अध्यक्षसमेत रहेका बस्नेतले प्रशासनिक, सामाजिक तथा राजनीतिक माध्यममार्फत समाजलाई दिनुभएको उत्प्रेरणा र सन्देशको कदर गर्दै अभिनन्दन गरिएको हो ।

उक्त अवसरमा प्रथम राष्ट्रपति रामवरण यादवले समाज, देश र राष्ट्रियताका लागि बस्नेतले पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै उहाँको इमानदारितालाई वर्तमान पुस्ताले ऊर्जाका रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रशासनिक र राजनीतिक व्यक्तित्व बस्नेत आफैँमा इमानदारिताको उदाहरण हुनुहुन्छ । उहाँको इमानदरिताको कदरलाई ऊर्जाका रुपमा लिएर हामी सबैले व्यवहारमा उतार्नु आवश्यक छ ।”

अभिनन्दन समारोहमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी सेवा र राजनीतिक जीवनबाट उत्प्रेरित बस्नेत वर्तमान समाजको आधारशिला भएको बताउनुभयो । पछिल्लो समय अधिकांश युवा अवसर खोज्दै विदेश जान थालेको र नेपालको जमिन तथा यहाँको अस्तित्व र पहिचानसँग मानिस बिस्तारै भाग्न थालेकाप्रति चिन्ता व्यक्त गर्दै उहाँले बस्नेतबाट समाजले सकारात्मक चिन्तनका कुरा सिक्दै समाजलाई रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा नेतालाई हेरेर सबै सखाप पा¥यो, सबै बर्बाद भयो भन्ने भाष्य निर्माण गर्न थालिएको छ । जनताबाट अनुमोदित हुँदै आउने जोकोहीलाई शक्ति प्राप्त हुन्छ । त्यो शक्तिलाई नडराइकन, नबिराइकन, नचुकीकन जिम्मेवारी निर्वाह गर्नु आजको मुख्य आवश्यकता हो । यस्तो एक मात्र नेता गणेशबहादुर बस्नेतले गरेका छन् ।” महामन्त्री थापाले अहिलेको पुस्तामा नेताहरूले नै देश सखाप र बर्बाद पा¥यो भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै युवा निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । 

त्यसै पूर्वमन्त्री बलबहादुर केसीले जाति, धर्म र भूगोलका कारण समाज विभाजित भइरहेको समयमा बस्नेतको व्यक्तित्व चर्चाले समाजमा सद्भाव, संस्कारको पाठ सिकाउने बताउनुभयो ।

सांसद अम्बिका बस्नेतले इमानदारिता र पक्षपात नगर्ने बस्नेतको जीवनकाललाई प्रेरणाका रूपमा लिँदै राष्ट्र सेवामा लाग्न आग्रह गर्नुभयो । अर्का सांसद मानवीर राईले सोलुखुम्बुका बस्ती बस्ती बस्नेतको सत्कर्मबाट परिचित रहेको जनाउँदै समाजले उहाँ जस्तै स्वाभिमानी बन्न प्रेरणा लिइरहेको बताउनुभयो । कार्यक्रममा हुक्तराज बस्नेतले बस्नेतको जीवनबाट समाजको जिम्मेवारी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका पूर्वसभापति छत्रध्वज बस्नेत र प्रदेश सभा सदस्य उत्तम बस्नेतले पनि शताब्दीपुरुष बस्नेतका बारेमा बोल्नुभयो । बस्नेत सोलुखुम्बुको थुलुङ दुधकोशी–२, काँगेल बहुन्डीमा विसं १९८० कात्तिक ४ गते जन्मनुभएको हो ।