• १८ वैशाख २०८१, मङ्गलबार

विद्यार्थीका लागि पूरक परीक्षाको तयारी

blog

फाइल तस्बिर

अर्जुन काफ्ले

स्याङ्जा, बैशाख ५ गते । अर्जुनचौपारी गाउँपालिकाले कक्षा ३, ५ र ८ को पूरक परीक्षा लिने तयारी गरेको छ । दुई विषय लागेका विद्यार्थीलाई पूरक परीक्षा लिने  तयारी थालिएको हो ।  

शिक्षा शाखा सहायक कमला चापागाईँले यहाँ २७ विद्यालयका १५८ विद्यार्थीले कक्षा ३ को परीक्षा दिएकोमा ९६ जना उत्तीर्ण भएका छन् । अनुत्तीर्णमध्ये ४० जनाले पूरक परीक्षा दिने उहाँले बताउनुभयो । 

यस्तै, १८ विद्यालयका १३७ विद्यार्थीले कक्षा ५ को परीक्षा दिएकोमा ४४ जना मात्र उत्तीर्ण भएको र अनुत्तीर्णमध्ये ३० जनाले पूरक परीक्षा दिने चापागाईँले बताउनुभयो । 

कक्षा ८ को ११ वटा विद्यालयका १९७ जना विद्यार्थीले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भएका छन् । अनुत्तीर्णमध्ये ६१ जना पूरक परीक्षा दिने छन् । 

यहाँ समग्रमा ४९२ जना विद्यार्थी अर्थात् ४२.६८ प्रतिशत २१० जना उत्तीर्ण हुँदा १५१ जना विद्यार्थीले पूरक दिन लागेका हुन् । पालिकाले तीन वटा केन्द्र तोकेर वैशाख ९ देखि १२ गतेसम्म परीक्षा लिने जनाएको छ ।

यसरी पालिकास्तरीय परीक्षा दिएका विद्यार्थीलाई पालिकाले लिएको हो भने अन्य कक्षाको हकमा सम्बन्धित विद्यालयले पूरक परीक्षा लिएका छन् । निरन्तर मूल्याङ्कनका नाममा विगतमा विद्यार्थी उत्तीर्ण गराएको बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाको शैक्षिक सुधार गर्ने उद्देश्यले अभियान अघि बढाएको बताउनुभयो । 

अभियनाले गत वर्षभन्दा यो शैक्षिकसत्रमा २६ प्रतिशत बढी उत्तीर्ण भएको बताउँदै तिवारीले अबको तीन वर्षमा ८० प्रतिशत उत्तीर्ण गर्ने लक्ष्य रहेको बताउनुभयो । पालिका स्तरीय परीक्षा लिने अर्जुन चौपारी जिल्लाको पहिलो पालिका रहेको छ । पालिकाले शिक्षकलाई नतिजाअनुसार मूल्याङ्कन र पुरस्कृत गर्नेगरेको छ ।