• ८ मंसिर २०८१, शनिबार

खुल्दै सुरुङको ढोका, पूर्वाधार विकासको नयाँ गन्तव्यमा पुग्दै नेपाल

blog

निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

काठमाडौँ, वैशाख १ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग छिचोलिन डेढ मिटर मात्र बाँकी छ । यो खन्दाखन्दै बाँकी रहेको पनि होइन बाँकी राखिएको हो । सबै कुरा सामान्य रहेको भए खन्न बाँकी राखिएको भाग पूरा भएर नेपाल सुरुङमार्गको नयाँ चरणमा यसअघि नै प्रवेश गर्ने थियो तर स्थानीयवासीको अवरोध र अन्य विभिन्न कारणले त्यो मिति पछि सर्दै जाँदा २०८१ सालको सुरुमा नै नेपाल नयाँ ढोका उघार्दै पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गर्ने भएको छ ।

सो सुरुङमार्गले मुलुकलाई नयाँ सडक पूर्वाधार मात्र दिने छैन त्यससँग सम्बन्धित जापानी उच्च प्रविधिसमेत नेपाल भित्रिने छ । सुरुङ खन्न जापानका प्राविधिक साथै नेपाली प्राविधिकसमेत खटिँदै आएका छन् । औपचारिक उत्सव मनाउन नयाँ वर्षको पहिलो हप्ता नै सुरुङ छिचोलिने कार्यक्रम गरिने भएको छ । नेपालस्थित जापानी राजदूतावास र नेपाल सरकारको उच्च तहको सहमतिमा त्यसको मिति तय गरिने छ । हालसम्मको तयारी अनुसार वैशाख ३ गते छिचोल्ने गरी काम भइरहेको छ । आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले खन्न बाँकी रहेको डेढ मिटर सुरुङमा विस्फोट गराएर सुरुङ छिचोलिने बताउनुभयो । 

यसअघि साउन २३ गते आपत्कालीन सुरुङ छिचोलिएको थियो । आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ । २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरिएको थियो । आयोजनाका उपनिर्देशक डुमरुका अनुसार अहिले आयोजनाको कुल भौतिक प्रगति ७३ प्रतिशत रहेको छ ।

एक वर्ष लाग्ने

छिचोलिएपछि सुरुङ सञ्चालनमा ल्याउन कम्तीमा एक वर्ष एक महिना लाग्ने आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुङ छिचोल्नु भनेको घरको ‘पिल्लर’ ढलान गरेजस्तै हो । जसरी ‘पिल्लर’ ढलानको काम सम्पन्न भए पनि घरको अधिकांश काम बाँकी हुन्छ । त्यसै गरी छिचोलिए पनि सुरुङलाई सञ्चालनमा ल्याउन त्यसका अधिकांश काम बाँकी नै रहने छ । सुरुङमार्ग आयोजनाको बाँकी काम सकिन करिब १२/१३ महिनाको समय लाग्न सक्छ ।”

यस आयोजना अन्तर्गत सुरुङबाहेक विभिन्न १२ वटा संरचना निर्माणाधीन छन् । यी संरचनाको निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने सम्भावना छ । यस आयोजना अन्तर्गत सुरुङबाहेक फ्लाइओभर, अन्डरपास, ओभरपास, पुल, बक्स कल्भर्ट गरी १२ वटा थप संरचना निर्माण भइरहेका छन् ।

म्याद थप्नु पर्ने

यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले २०७१ सालमा प्रारम्भिक अध्ययन गरेको थियो । त्यसै गरी २०७४ सालमा यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो भने २०७२ सालमा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो । ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको हो ।

निर्माण कम्पनी हाजमा आन्दोका प्रमुख इन्जिनियर मृगेन्द्र काफ्लेले आयोजनाको समयावधि २०८१ वैशाखमा सकिने बताउँदै एक वर्ष म्याद थप गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । २०७६ साल मङ्सिरदेखि यस आयोजनाको निर्माण अवधि ४२ महिना तोकिएको थियो । चालु आर्थिक वर्ष (२०८०/८१) को बजेट वक्तव्यमा समेत नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्पन्न गर्ने उल्लेख छ । चालु आवमा यस आयोजनाका लागि पाँच अर्ब १३ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यसै वर्ष तीन वटा

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना अन्तर्गत निर्माणाधीन तीन वटा सुरुङ यस वर्षभित्र छिचोलिने भएको छ । ७३ प्रतिशत खन्ने काम सम्पन्न भइसकेको महादेवटार सुरुङ, धेद्रे सुरुङ र लेनडाँडा सुरुङ यसै वर्ष छिचोलिने छ । अहिले निर्माणाधीन कुल छ हजार ४१५ मिटर सुरुङमध्ये चार हजार ६५३ मिटर खनिसकिएको नेपाली सेनाले जनाएको छ । 

निर्माणाधीन महादेवटार सुरुङ दुई हजार ८२ मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज नम्बर १ अन्तर्गत पर्ने यस सुरुङमार्गको कुल लम्बाइ तीन हजार ३५५ मिटर छ । त्यसै गरी प्याकेज नम्बर २ अन्तर्गत पर्ने धेद्रे सुरुङको एक हजार २८८ खनिसकिएको छ । यस सुरुङमार्गको कुल लम्बाइ एक हजार ६३० मिटर छ । यसै प्याकेज अन्तर्गत पर्ने लेनडाँडा सुरुङको कुल लम्बाइ एक हजार ४३० मिटर रहेकामा एक हजार २८३ मिटर खन्ने काम सम्पन्न भइसकेको सो आयोजनाले जनाएको छ । 

आयोजनाको संशोधित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार थप भएका तीन वटा सुरुङ निर्माणका लागि खरिद प्रक्रिया अन्तिम चरणमा रहेको सेनाले जनाएको छ । डिपिआरमा भएको संशोधन अनुसार २५० मिटरको चन्द्राम भिर सुरुङ, एक किलोमिटर लम्बाइको देवीचौर सुरुङ र ३९ मिटरको सिसौटार सुरुङ निर्माणका लागि खरिद प्रक्रिया सुरु गरिएको हो । 

निर्माण गति बढ्यो

सिद्धबाबा सुरुङमार्गको निर्माणले गति लिएको छ  । पछिल्लो चार महिनादेखि निर्माणले गति पाउँदा अहिलेसम्म दक्षिणतर्फबाट ४४.५ मिटर र उत्तरतर्फबाट दुई मिटर सुरुङ खनिएको छ । त्यसै गरी सेफ्टी ढोका र रकनेट बिछ्याउने कामले समेत गति लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यस आयोजना अन्तर्गत सुरुङमार्ग निर्माणको अतिरिक्त बुटवल–पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन निर्माण गरिने छ । अहिलेसम्म आयोजनाको समग्र भौतिक प्रगति १२.५ प्रतिशत पुगेको छ ।

गत वर्ष २०७९ फागुनदेखि नै सुरुङ खन्ने काम सुरु गरिए पनि सुरुङ खन्नुपर्ने ठाउँमा पहिरो खसेपछि काम रोकिएको थियो । कुल लम्बाइ एक हजार १२६ मिटर रहेको सो सुरुङमार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । कुल सात अर्ब ३४ करोड रुपियाँको लागतमा सो सुरुङमार्ग निर्माण भइरहेको छ । यो सुरुङमार्गको निर्माणसँगै सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, बागलुङलगायतका जिल्लामा हुने आवतजावत सहज हुने विश्वास गरिएको छ । 

चितवन एक घण्टामै

सुरुङमार्गमार्फत काठमाडौँबाट चितवन एक घण्टामै पुग्ने सडक आयोजनासमेत अगाडि सारिएको छ । यस आयोजना अन्तर्गत करिब ३० किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ ।