• १५ कात्तिक २०८२, शनिबार

बैतडी अस्पतालमा तीन विशेषज्ञ चिकित्सकबाट नियमित सेवा सुरु

blog

जिल्ला अस्पताल बैतडी । तस्बिर : केशब राज भट्ट

केशब राज भट्ट 
वाशुलिङ (बैतडी), कात्तिक १५ गते ।
जिल्ला अस्पताल बैतडीमा अब तीन जना विशेषज्ञ चिकित्सकले नियमित सेवा प्रदान गर्ने भएका छन् । अस्पतालमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ नियुक्त भई सेवा प्रारम्भ गरिसकेका छन् ।

अस्पतालका प्रमुख डा. सुशील विकका अनुसार जनरल फिजिसियन डा. पविन उपाध्याय, स्त्रीरोग विशेषज्ञ डा. रामकुमार यादव र हाडजोर्नी विशेषज्ञ डा. दिपेन्द्र भण्डारीले स्थायी रूपमा कार्यभार सम्हालेका छन् । हाडजोर्नी विशेषज्ञ भण्डारीको आगमनसँगै अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या तीन पुगेको उहाँले बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार केही समयदेखि रोकिएको हाडजोर्नी सेवा पुनः सञ्चालनमा आएको छ । उहाँका अनुसार, अब अस्पतालमा हातखुट्टा भाँचिएको उपचारदेखि प्लास्टर, अपरेशन, ढाड र कम्मर दुखाइ, घुँडा सुन्निने वा दुख्ने समस्या, नशासम्बन्धी समस्या, पैताला पोल्ने, जन्मजात हातखुट्टा बाङ्गो हुने तथा दुर्घटनापछि देखिने हड्डीसम्बन्धी उपचार सेवा उपलब्ध हुनेछ । अस्पताल प्रशासनका अनुसार विशेषज्ञ सेवाको विस्तारसँगै अब जिल्लाका बिरामीले काठमाडौँ वा अन्य शहर धाउनुपर्ने आवश्यकता घट्ने र स्थानीयस्तरमै गुणस्तरीय उपचार पाउने सम्भावना बढेको छ ।