• १५ कात्तिक २०८२, शनिबार

बिपी राजमार्ग ठप्प हुँदा बर्दीबास सुनसान

blog

रवीन्द्र उप्रेती

बर्दीबास, कात्तिक १५ गते । बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसी आवतजावत बन्द हुँदा बिपी राजमार्गको प्रवेश विन्दु बर्दीबास सुनसान बनेको छ । शुक्रबार बिहानदेखि बिपी राजमार्ग अवरुद्ध हुँदा केही सवारीसाधन हेटौँडाको घुमाउरो बाटो प्रयोग गरेका छन् भने सयौँ सवारीसाधन र यात्रु बाटो खुल्ने प्रतीक्षामा छन् । यद्यपि पानी पर्न नरोकिएकाले तत्काल बाटो खुल्ने सम्भावना कम देखिन्छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिपी राजमार्गका विभिन्न स्थानमा आएको पहिरो र लेदोका कारण आवागमन अवरुद्ध छ । ट्राफिक निरीक्षक बाबुराम कार्कीका अनुसार शुक्रबार बिहानदेखि काठमाडौँतर्फ जाने सवारीसाधनलाई बर्दीबासमै रोक लगाइएको छ । भिमान र सिन्धुलीसम्मका सवारी भने फाट्टफुट्ट चलिरहेका छन् ।

कार्कीका अनुसार काभ्रेपलाञ्चोकलगायत पहाडी क्षेत्रमा निरन्तर पहिरो खस्ने र लेदो बग्ने क्रम जारी रहेकाले केन्द्रको सूचनाका आधारमा काठमाडौँ जाने सवारीमाथि रोक लगाइएको हो तर सिन्धुलीसम्म जाने सवारीमा भने चलिरहेका छन् । बर्दीबास–३, गौरीडाँडास्थित तौलपुल ट्राफिक बिटका जवान जनक दाहालका अनुसार सामान्य दिनमा बिहान १० बजेसम्म १५० देखि दुई सय सवारी गुड्ने बिपी राजमार्गमा शुक्रबार बिहानसम्म काठमाडौँतर्फ एउटा पनि सवारी चलेको छैन । उताबाट पनि आएका छैनन् । काठमाडौँ जान आएका चार वटा निजी सवारीलाई हेटौँडाको बाटोबाट  जान सुझाएको छ । यसबिच भिमान हुँदै पूर्वतर्फ दुई वटा सवारी र सिन्धुलीतर्फ चार वटा बस गएको दाहालले जानकारी दिनुभयो । दाहालले भन्नुभयो, “छोटो दुरीका मोटरसाइकल र ट्याम्पो भने चलिरहेका छन् ।”

यातायात व्यवसायीका अनुसार बर्दीबास हुँदै बिपी राजमार्गमा दैनिक करिब दुई हजार सवारीसाधन गुड्छन् । तीमध्ये बर्दीबासबाट मात्रै काठमाडौँका लागि दैनिक १५० सार्वजनिक सवारी सञ्चालनमा छन् । ती सवारीबाट दुई हजार यात्रु यात्रा गर्ने गरेको बर्दीबासका यातायात व्यवसायी सीताराम ढुङ्गेलले बताउनुभयो । वर्षा रोकिएलगत्तै पहिरो पन्छाउने र राजमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेकोले यात्रु र सवारीधनीलाई धैर्य गर्न ट्राफिकले अनुरोध गरेको छ ।