• १९ असार २०८१, बुधबार

कोरोनाको चौथो लहर फैलिन सक्ने चेतावनी

‘चुनाव आयो, भीडभाडमा जाँदा स्वास्थ्य मापदण्ड पालना गरौं’

blog

फोटो फाइल

काठमाडौं, वैशाख ३ गते । स्थानीय तहको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । वैशख  ३० गतेका लागि घोषणा भएको चुनावको सरगर्मी बढेको छ ।

चुनाव नजिकिँदै गर्दा चुनावी आमसभा र पार्टी प्रवेश कार्यक्रमहरु बढेका छन् । गाउँ टोलदेखि नै दलका नेता, कार्यकर्ताको दौडधुपका साथै सभा सम्मेलन बढ्दै गएका छन् ।

दुई वर्षदेखि कोरोना महामारीबाट तङ्ग्रिन लाग्दै गर्दा नेपाल तीन तहको निर्वाचनमा होमिएको छ । चुनावका बेला हुने भीडभाडले फेरि कोरोना सङ्क्रमण बढाउने त होइन भन्ने चिन्ता पनि सुरु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । त्यस्तै, चीनमा पनि सङ्क्रमणदर बढेपछि केही शहरमा बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । चीन र भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुलाई विज्ञहरुले चौथौ लहर फैलिन सक्ने चेतावनी दिएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी विश्वबाट हटेको घोषणा गरिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा औसत कोरोना भाइरसको सङ्क्रमणदर ०.४ प्रतिशतमा झरेको छ ।

नेपालमा सङ्क्रमणदर कम भएको तर शून्यमा नझरेको र विश्वका विभिन्न देशमा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले नेपालमा पनि सङ्क्रमणको जोखिम कायमै छ । त्यसैले सभा, भेला, सम्मेलमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन सरकारले आग्रह गर्दै आएको छ ।

गाउँदेखि सहरसम्म हुने चुनावी कार्यक्रम, सभा सम्मेलनमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्ड पालन गर्न बिर्सन नहुने जनस्वास्थ्यविद्हरुको सुझाव छ ।

भारतमा सङ्क्रमण फैलिएको १५ दिनभित्र कोरोना नेपालमा पनि फैलने गरेको विगतले देखाउँछ । त्यसैले नेपालमा पनि पुन सङ्क्रमण बढ्न सक्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि कोरोनाको जोखिम घटी नसकेको बताउनु हुन्छ ।

डा. पुनले भन्नुभयो, “अहिले चीन र भारतमा  फैलिएको सङ्क्रमण ओमिक्रोनको परिवर्तित स्वरुप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ओमिक्रोनको सङ्क्रमणदर बढी भएकाले नेपालमा पनि सङ्क्रमण फैलन सक्ने र उत्सर्गमा पुग्न सक्ने देखिन्छ ।”

चीनमा र भारतलगायत विश्वका विभिन्न देशमा सङ्क्रमणको सङ्ख्या बढे पनि अस्पतालमा भर्ना भएका घटना न्यून सङ्ख्यामा छन् । त्यसैले कोरोना सङ्क्रमण नेपालमा बढ्न सक्ने सम्भावना भए पनि जटिलता कम हुने डा. पुनको विश्वास छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या पनि धेरै नै छ ।

“नेपालमा सङ्क्रमण फैलिए पनि धेरैले खोप लगाइसकेकाले त्यति जटिल अवस्था नआउन सक्छ,” उहाँ भन्नुहुन्छ । तर खोप नलगाएका तर सङ्क्रमित भएका व्यक्तिहरु चुनावी अभियान र मतदानमा सहभागी भएमा उनीहरुबाट कोरोना सङ्क्रमण फैलने जोखिम बढी हुने चिकित्सक बताउँछन् ।

कोरोनाको सङ्क्रमण दर घटेको र खोप लगाइसकाले धेरैले हेलचेक्राइँ गर्ने गरेको चिकित्सक बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दा गर्मी मौसममा हुने अन्य सरुवा रोगबाट पनि बच्न सकिने डा. पुन बताउनुहुन्छ ।

डा. पुन भन्नुहुन्छ, “कोरोना सङ्क्रमणका कुरा मात्रै नभएर ठूलो जमघटमा अन्य सङ्क्रमणजन्य रोगहरु सर्न सक्ने सम्भावना भएकाले अनिवार्यरुपमा मास्क प्रयोग र हातको सरसफाइतर्फ ध्यान दिनुपर्छ ।  चुनावमा कम्तीमा अनिवार्यरुपमा मास्क लगाए पनि कोरोना फैलिने सम्भावना कम हुन्छ ।”

आयोगको तयारी
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल सभा, गोष्ठी, जुलुस गर्दा कोभिड १९ विरुद्धको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको बताउनुहुन्छ । दलहरुले आयोजना गर्ने आमसभा, बैठक, र्‍याली, कोणसभामा स्वास्थ्य मापदण्ड पालन गर्न गराउन आचारसंहितामा स्पष्ट रुपमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो ।

साथै अर्यालका अनुसार, आयोगले स्थानीय तहका सबै चुनाव केन्द्रमा चुनाव गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गराउने र विभिन्न ठाउँमा सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालन गर्ने सम्बन्धी प्रचारप्रसार सामग्री राख्न निर्देशन दिइसकेको छ ।

मतादान केन्द्रको हकमा निश्चित व्यक्तिलाई मात्र पास दिने व्यवस्था गर्न निर्देशन दिएको पनि उहाँले  जानकारी दिनुभयो । मतदातालाई बढी भीडभाड नहोस् भनेर दुईवटा लाममा दूरी कायम गराउने र फराकिलो ठाउँमा मतदान केन्द्र बनाउने तयारी गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रत्येक निर्वाचन केन्द्रमा मास्क र सेनिटाइजरका साथै साबुनपानीको व्यवस्था गर्न निर्देशन दिएको छ भने स्वास्थ्य मादपण्ड अपनाउन आवश्यक साम्रगी केन्द्रबाट पठाउने तयारी आयोगले गरेको छ ।

खोप कार्ड अनिवार्य छ ?
निर्वाचनमा मतदान गर्न मतदातालाई खोप कार्ड अनिवार्य गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय भइनसकेको निर्वाचन आयोगको भनाइ छ । आयोगको सहायक प्रवक्ता अर्यालले खोप कार्ड अनिवार्य गर्दा मतदान झन् झन्झटिलो हुनसक्ने बताउनुभयो । “खोप कार्ड अनिवार्य गरेको छैन । मतदातालाई खोपकार्ड अनिवार्य गर्दा त्यो झन्झटिलोे हुन्छ । सरकारले सबै नागरिकले खोप लगाएको सुनिश्चितता दिएपछि  खोप कार्डभन्दा विश्वसनीय हुन्छ”,उहाँले भन्नुभयो ।

खोप नलगाउने मतदान गर्न पाउँछन् ?
आयोगले सरकारलाई बैशाख १० भित्र सबै नागरिकलाई खोप लगाइसक्न निर्देशन दिएको थियो । तर चैत महिनासम्म १८ वर्ष माथिका ६ प्रतिशतले कोरोनाविरुद्धको खोपको एक मात्रा पनि लगाएका छैनन् । सरकारले खोपको कमी नभएको बताए पनि नागरिकले नै खोप लगाउन नचाहेका जनाएको छ ।

खोप नलगाएकाले मतदान गर्न पाउँदैनन् कि भन्ने जिज्ञासा धेरैमा छ । आयोगका सहायक प्रवक्ता अर्यालले खोप नलगाएको व्यक्तिलाई मताधिकारबाट बञ्चित गर्न नमिल्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘राज्यले खोप उपलब्ध गराउने हो, खोप लगाउने/नलगाउने अधिकार जनताको हो । उहाँलाई बाध्यकारी बनाउन मिल्दैन । राज्यले खोप दिँदादिँदै खोप लगाउन चाहनुहुन्न भने उहाँहरुको इच्छा हो । भोट हाल्न पाउने उहाँहरुको अधिकार हो । त्यसैले आयोगले भोट नहाल्न भन्न मिल्दैन ।’’

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।