• ७ मंसिर २०८१, शुक्रबार

कूटनीतिक ज्ञान बाँड्ने पुस्तक

blog

चाँदनी हमाल

कुनै पनि मुलुक जिउँदो रहन छिमेकी मुलुक र मित्रराष्ट्रसँगको सम्बन्ध पनि जिउँदो राख्नुपर्छ । छिमेकी सम्बन्धलाई जिउँदो राख्ने एउटै माध्यम कूटनीतिक सम्बन्ध हो । नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको एउटा उपदेश छ, “जाई कटक नगर्नु झिकी कटक गर्नु ।” अर्थात् आफँै जाइ नलाग्नु, जाइलाग्नेमाथि जाइलाग्न पछि नपर्नु । त्यो बेलामै नेपालले छिमेकी मित्र मुलुकप्रतिको समभावलाई महत्व दिइएको यही उपदेशले प्रष्ट पार्छ ।

प्रा.डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेद्वारा लिखित ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ पुस्तकले नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको सार बताउँछ । यसमा नेपालको कूटनीतिक सम्बन्धको विगत र आगतसँग जोड्ने विविध आयाममध्येको एक अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा लेखकले खुट्याउने प्रयास गर्नुभएको छ । छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताका बारेमा लेखकले उल्लेख गर्नुभएका कतिपय विषय आगामी दिनमा थप अध्ययन गर्न चाहने अध्येताका लागि समेत महìवपूर्ण सन्दर्भग्रन्थ बन्न सक्छ । विभिन्न सोह्र अध्यायमा विभक्त गरिएको पुस्तकको अन्तिम अध्याय नै सन्दर्भग्रन्थ रहेको छ । जसले नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा थप जानकारीका लागि ढोका खुला गरेको छ ।

कूटनीतिको इतिहासको फेहरिस्त खोतल्दै कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध एकअर्काका पर्यायवाची हुन् भनेर लेखकले पहिलो अध्यायमै उद्घोष गर्नुभएको छ । जस अनुसार उहाँले यी दुई विषयवस्तुलाई जोडेर अन्य अध्यायमा थप चित्रण गर्नुभएको छ । कूटनीतिका आठ रूप प्यासिफिकेसन, गनबोट, आर्थिक, सार्वजनिक, जनता, मध्यस्थता, विद्युतीय र सम्मेलन कूटनीतिका बारेमा यही पुस्तकले भन्छ । अनौपचारिक कूटनीतिक यात्रा विश्वमा शताब्दीयौँदेखि चलिआएकै हो । तथापि औपचारिक अभिलेखका रूपमा पहिलो कूटनीतिक अभ्यासको विषयमा अझै पनि बहस छ । पुस्तकले भने चौथो शताब्दीमा मिश्रका सम्राट् रामेसस् द्वितीय र कनानको अमुरुबीचमा भएको पत्र आदानप्रदानलाई पहिलो औपचारिक कूटनीतिको अभिलेखका रूपमा प्रस्तुत गरेको छ । इतिहासका चाखलाग्दा मिश्र र हिट्टी साम्राज्यबीचको युद्ध र कूटनीतिक प्रयासपछिको शान्ति सम्झौताजस्ता विषयबोध पाठकलाई गराउँछ ।

नेपालको अनौपचारिक कूटनीतिक सम्बन्धको विगत बताउने तथ्य चीनबाट मञ्जुश्रीको आगमन र द्वापरयुगमा श्रीकृष्ण भगवानको आगमनको चर्चा पुस्तकले गरेको छ । त्यसपछि चिनियाँ भिक्षुलगायतका विदेशी यात्रुको नेपाल यात्राको कालखण्डसँगै नेपालका लिच्छवि, मल्ल र शाहकालीन समयसँगै आधुनिक कूटनीतिक सम्बन्धको तुना पुस्तकले जोड्न खोजेको पाइन्छ । शाहकालीन कूटनीतिमा नेपाल–ब्रिटिस युद्ध तथा त्यसपछिका सम्बन्धका पाटाहरूलाई लेखकले दोस्रो अध्यायमा समेट्नुभएको छ । नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहले तिब्बतसँगको व्यापार कायम राख्न गरेका पहल र अन्य शाहवंशीय राजाले त्यस्ता विदेशसम्बन्धलाई कोसेलीपातले सँगालेको स्मरण रोचक छन् । 

यस अन्तर्गत नेपालको राजवंशीय इतिहास झल्काउने केही कथाहरूले पुस्तक कतै कतै इतिहासतिर बरालिएको हो कि भन्ने भान पनि पार्छ तर बीचबीचमा अङ्ग्रेजसँगको सम्बन्धका विषयले त्यसलाई सन्तुलनमा राख्न कोसिस गरेको छ । नेपालको अङ्ग्रेजसँग भएको युद्धका क्षतिको विवरण, नेपालले युद्धका क्रममा प्रयोग गरिएका जनावर र हतियार, तत्कालीन सेनापतिको व्यक्तिगत विवरणको उल्लेखले पाठकलाई तान्छ ।  राणाकालीन कालखण्डको आन्तरिक किचलो र अन्तर्राष्ट्रिय सम्बन्धको आधुनिकीकरणलाई पुस्तकले पर्गेल्न खोजेको छ । भारतीय भूमिमा तत्कालीन समयमा जारी ब्रिटिससँगको युद्ध र नेपालले त्यहाँका राजा रजौटालाई गरेको सहयोगसँगै तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाको बेलायत यात्राबाट सुधारिएको सम्बन्धको यात्राले नेपालको कूटनीतिक सम्बन्धको काँचुली फेरेको दर्शाउँछ । 

दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाको बेलायती सेनामा भर्तीको विरोधाभास तथा बेलायतको नेपालप्रतिको नतमस्तक दृष्टिकोणको उदय त्यही समयमा भएको थियो । राणाकालमा नेपाल–बेलायत युद्धको अन्त्यसँगै नेपालले पहिलो कूटनीतिक सम्बन्ध बेलायतसँगै गाँस्यो । त्यसपछि अमेरिका, भारत, फ्रान्स, चीनसँग दौत्य सम्बन्ध गाँस्दै औपचारिक रूपमा विदेशी दूतको नियुक्ति र कार्यभार दिन थालिएको जानकारी पुस्तकले दिन्छ । यसरी इतिहास खोतल्दै जाँदा नेपालको विविधताका बारेमा पनि पुस्तकले बोल्छ ।  अध्याय चारदेखि विभिन्न मुलुकसँगको सम्बन्धका विषयमा जानकारीमूलक विषय उल्लेख छन् । नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध त्यसपछि नेपाल–बेलायत सम्बन्ध, नेपाल–अमेरिका सम्बन्ध, नेपाल–जर्मन सम्बन्ध, नेपाल–फ्रान्स सम्बन्ध, नेपाल–रुस सम्बन्ध र नेपालको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धको व्याख्या र विश्लेषण पुस्तकमा सटीक रूपमा गरिएका छन् । 

यी अध्यायहरूमा आपसी सम्बन्धका विभिन्न आयामको विश्लेषणका साथै ती देशसँग भएको आर्थिक तथा विकास साझेदारी एवम् उच्चस्तरीय भ्रमण आदानप्रदानका तथ्यतथ्याङ्कको मौलिक ज्ञान पुस्तकले बाँड्छ । निकटतम छिमेकी भारतबाट भएका धार्मिक भ्रमणहरू र सांस्कृतिक सामाजिक समानताका विषय पुस्तकका महत्वपूर्ण पाटो लाग्छन् । छिमेकी मुलुकसँग विभिन्न कालखण्डमा भएका केही सन्धि सम्झौताका बारेमा जानकारीमूलक सामग्रीको अभिलेखले पुस्तकको मान बढाउँछ ।

अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सम्बन्धतर्फ संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रवेशदेखि सार्कको उदय र शिखर सम्मेलन, असंलग्न राष्ट्रका सम्मेलन, बिमस्टेक तथा अन्य अन्तर्राष्ट्रिय सम्मेलन र समुदायसँग नेपालको साझेदारी विस्तारलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ । 

कुन देशबाट कस्ता साझेदारी हुन्छन् र भए भन्ने जानकारी आम नागरिकका लागि पनि पठनीय विषय हुन् । आफ्नो देशका नेतृत्वले कति ऋण वा अनुदान लिइरहेका छन् र यसले देशको भविष्य कतातिर लैजान्छ भन्ने मूल्याङ्कन गर्न ती तथ्यले सघाउँछन् । समग्रमा पुस्तक पठनीय छ । कतैकतै लेखक कूटनीतिभन्दा बढी इतिहासमैत्री भएको छनक दिन्छ । कतिपय गहन विषयको जानकारीमात्र काफी हुन्न त्यसमाथि भएका टिप्पणी र विरोधाभासका विषय पनि नेपालको कूटनीतिक क्षेत्रको महत्वपूर्ण अभिलेख हुनसक्ने सवालमा लेखकले ध्यान दिन सक्नुभएको छैन । तथापि पुस्तक ज्ञानवद्र्धक खुराकका रूपमा छ ।