• १७ जेठ २०८१, बिहिबार

चट्याङ पूर्वानुमान मेसिनले गरेन काम

blog

काठमाडौँ, चैत २२ गते । नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो । यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने विभागको योजना अन्योलमा परेको छ । 

जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने तयारीसाथ परीक्षण गरिरहेको थियो । तर मेसिनले काम नगरेपछि परीक्षणको काम पनि ठप्प भएको विभागका प्रवक्ता सुनील पोखरेलले बताउनुभयो ।  देशका विभिन्न नौ स्थानमा स्टेसन राखेर चट्याङको तथ्य सङ्कलन भइरहेको थियो । एक वर्षदेखि मेसिन चल्ने र बिग्रने हुँदै काम गर्न छाडेको हो । तत्कालको चट्याङ पूर्वानुमान गर्न नसके पनि कता कता प¥यो भन्ने जानकारीसहित आधा घण्टामा सूचना जारी (नाउ कास्ट) गर्न सकिने भएकाले सोही अनुसार परीक्षण थालिएको थियो । 

विभागको उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन प्रमुख इन्दिरा कडेलका अनुसार मेसिन बनाउन नसकिएका कारण परीक्षणकालमै सीमित भएको चट्याङ अनुगमनको काम ठप्प भएको हो । 

कँडेलले भन्नुभयो, “वारेन्टी रहुन्जेल मेसिनले राम्रै काम गर्‍यो तर वारेन्टी सकेको भन्दै बन्द भएको मेसिन बनाउन कम्पनीले मानेन ।” सुरुवाती चरणमा तीन वर्ष चल्दा राम्रै तथ्य सङ्कलन भएको उहाँले बताउनुभयो । तथापि केही स्टेसनको फ्रिक्वेन्सी अन्यसँग जुधेपछि अन्त सारेर परीक्षण थालिएको थियो । मेसिन बिग्रेसँगै अनुगमनको सर्भरमा थप समस्या आएर काम हुन नसकेको उहाँले बताउनुभयो । 

जलवायु प्रकोप समुत्थान आयोजना विश्व बैङ्कको साझेदारीमा सञ्चालन हुँदा सो मेसिन खरिद भएको थियो । बन्द हुँदा आवश्यक प्राविधिक सहयोग नआएकाले चट्याङ अनुगमन अन्योलमा परेको हो । ‘नाउ कास्टिङ’ को सूचना दिने गरी थालिएको परीक्षणमा प्राविधिक दक्षताको अभावले कर्मचारीले काम गर्न सकेका छैनन् । 

प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्न आयोजना अन्तर्गत जनशक्तिको क्षमता अभिवृद्धिका धेरै प्रशिक्षण दिइने भनिएको थियो । तर ती तालिम तथा प्रशिक्षणको आयोजना गर्न विभाग र अन्य निकायले सकेनन् । आयोजन सुरु हुँदा यस्तो प्रविधि भित्र्याउँदा जनशक्ति थपिनुपर्ने सर्त पूरा भएन । त्यसले गर्दा पनि सामान्य बिग्रेको मेसिनको अवस्था हो वा पूरै बिग्रेको हो भन्ने जानकारी उनीहरूले पाउन सकेनन् । 

सो परियोजना अन्तर्गत नेपालमा तीन वटा राडार सुर्खेत, पाल्पा र उदयपुरमा जडान गरिए । त्यस्तै विभागमा उच्च प्रविधियुक्त कम्प्युटर तथा अन्य उपकरण पनि जडान भए । तीनमध्ये दुई वटा राडारले काम निरन्तर गरे तर सुर्खेतको भने राम्ररी नचलेर बन्द छ । 

राडारले पनि चट्याङको पूर्वानुमान गर्न सघाउने गरी सूचना दिन्थे । त्यो पनि एउटा नचल्दा त्यो क्षेत्रको मौसमजन्य सूचना सङ्कलनमा अवरोध सिर्जना भएको छ । राडारमै चट्याङ पर्ने, ओभर भोल्टेज भएर बिग्रने समस्या आइरहेको छ । 

उपकरण शाखामा कार्यरत कँडेलसहित तीन जना प्राविधिक पनि ज्ञानको अभावले अहिले कामविहीन छन् । उपकरणको सबै प्राविधिक पक्ष नजानेकाले उहाँहरू मेसिन टुलुटुलु हेरेर बस्न बाध्य हुनुहुन्छ । उहाँहरूसँगै थप तीन जना गरी छ जनाको दरबन्दी शाखामा रहेको छ । 

कुल ३१ करोड अमेरिकी डलर बराबरको बजेट आयोजनामार्फत आएकोमा २६ करोड अमेरिकी डलर बराबरको खर्च विभाग अन्तर्गत भयो । जसबाटै विभागको आधुनिक भवन, राडार, अटोमेटिक स्टेसन, कम्प्युटर जडान गरिएको विभागले जनाएको छ । बाँकी पाँच करोड अमेरिकी डलर कृषि अनुसन्धान परिषद् र कृषि मन्त्रालयले खर्च गरेको थियो ।  राम्रो तथ्यसहित पूर्वानुमान गर्न नसकेपछि पहिलेकै मोडलमा कता, कस्तो बादल बनिरहेको छ भन्ने आधारमा विभागको मौसम पूर्वानुमान महाशाखाले चट्याङ पर्ने अनुमानजन्य सूचना दिँदै आएको छ । 

गत वैशाखयता चट्याङबाट ४३ जनाको ज्यान गएको छ । २३४ वटा चट्याङका घटना भएकामा २१७ जना घाइते भएका छन् ।