• १८ असार २०८१, मङ्गलबार

आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण

blog

दिपकप्रसाद गौतम

वीरगञ्ज,  बैशाख २ गते । पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित जीतबहादुर विकको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । विहीबार मध्यान्ह १२ बजे आगलागी भई घर र गोठ जलेर नष्ट भएको पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित विकको परिवारलाई ठोरी गाउँपालिका, नेपाली काँग्रेस ठोरी कमिटी र दलित विकास केन्द्रले बेग्लाबेग्लै राहत सामग्री हस्तान्तरण गरेको हो ।

आगलागी पीडित परिवारलाई गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठसहितको टोलीले दिउँसो आगो निभाउनेबित्तिकै अत्यावश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । विहीबार साँझ दलित विकास केन्द्रले आगलागीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको थियो । त्यसैगरी नेपाली काँग्रेस ठोरी कमिटीले शुक्रबार बिहानै आगलागी पीडित परिवारलाई चामल, दाल, तेल, नुनलगायतका अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । 

काँग्रेस मधेश प्रदेशका महामन्त्री एवं काँग्रेसकातर्फबाट आगलागी पीडित विक परिवारलाई अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरिएको काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । ठोरी गाउँपालिका १ सरस्वतीनगर फायरलाइनमा आगलागी हुँदा विकको घर, गोठ र भान्साघर जलेर नष्ट भएको तथा आगलागीबाट १५ लाख रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । 

स्थानीय जगेन्द्र पौडेलकाअनुसार वीरगञ्ज र पोखरीयाबाट आएका वारुणयन्त्रको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना एवं स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । स्थानीय तहको निर्वाचन नजिकिएकाले आगलागी पीडितलाई राहत सामग्रीको ओईरो लागेको भनी सामाजिक सञ्जालमा टिक्काटिप्पणी हुन थालेको छ ।