• १३ साउन २०८१, आइतबार

सकसका साथ उठाइयो लिङ्गो

blog

गोरखापत्र समाचारदाता

भक्तपुर, वैशाख २ गते । भक्तपुरस्थित भेलुखेलमा दुईहाते बिस्काः जात्राको लिङ्गो ठूलो प्रयासपछि बिहीबार मध्याह्न ठड्याइएको छ । लिङ्गो उठाउन लिङ्गोको फेदमा राखिने कैँची काठको टेको व्यवस्थापन नहुँदा बुधबार साँझ लिङ्गो उठाउन सकिएको थिएन ।

लिङ्गो उठाइएपछि भक्तपुरमा खुसियाली छाएको छ । हिजै हुनुपर्ने भोजभतेर लिङ्गो उठाइएपछि सुरु भएको छ । गुठी संस्थान भक्तपुर शाखा प्रमुख खिमा वलीका अनुसार जात्रालाई व्यवस्थित गरिए पनि सधैँ यस्तै हुने गरेको यो जात्राको इतिहास छ । 

भक्तपुरको तालाकु वडा नं. २ स्थित पोट्री स्क्वायरमा बुधबार बिस्काः जात्राको लिङ्गो ठड्याइएको थियो । चैत मसान्तका दिन लिङ्गो ठड्याइएपछि उपत्यकाको नेवार बस्तीमा नयाँ वर्षको उल्लाससँगै जात्रा–पर्व सुरु हुने गर्छ । 

नेपाल रेडक्रस सोसाइटी नवदुर्गा समितिका सभापति तुल्सीनारायण दण्डेख्याका अनुसार भक्तपुर सहरबाहिरका जात्रालुले जात्रा बिथोलिरहेका थिए । घाइते भई उपचार गर्न आउने सबैजसो भक्तपुर भित्री सहरबाहिरका थिए । उनीहरूबाटै लिङ्गो निर्धारित समयमा उठाउन नसकिएको ठम्याइ छ । बिहीबार टोखा नगरपालिका–४ मा सपन तीर्थ मेला भर्न निकै मानिस टोखा आए । वडाध्यक्ष दीपकराज जोशीका अनुसार कुनै राजाका समयमा छोरीलाई कुष्ठरोग भएपछि सपनामा तीर्थस्थलमा स्नान गर्नू भनिएकाले सपना तीर्थ (सपन तीर्थ)मा दुनियाँदारले पनि मेला भरेर स्नान गर्ने प्रचलन रहेको कथन छ । 

ललितपुरको सुनाकोठीमा पनि नयाँ वर्षको दिन लिङ्गो ठड्याएर सिन्दुरे जात्रा भएको छ । सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव संरक्षण समितिका अध्यक्ष रामकृष्ण महर्जनले बिहानैदेखि जात्रामा आउनेले लिङ्गो ठड्याए । भक्तपुर दधिकोटस्थित चित्रपुरमा र चारखण्डीमा भैरव तथा गणेशको जात्रा सुरु भएको छ । 

काठमाडौँमा सेतो मत्स्येन्द्रनाथ रथयात्रालाई लगनटोलमा रहेकी उनकी आमाको मन्दिर परिक्रमा गराई बुधबारबाट मत्स्येन्द्रनाथ रथयात्रा समापन भएको छ ।