• १२ साउन २०८१, शनिबार

स्थानीय तह निर्वाचन उम्मेदवार छनोटमै सकस

blog

शान्ता अधिकारी 

चितवन, वैशाख २ गते  । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनमा चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीनवटै पार्टीले पहिलो चरणको चुनावी घरदैलो पूरा गरेर पालिका तहका उम्मेदवार घोषणाको 

तयारीमा छन् ।

महानगर प्रमुखमा एमालेले बागमती प्रदेश सभा सदस्य विजय सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । माओवादी केन्द्रले रेनु दाहाललाई नै नगरप्रमुखको उम्मेदवार बनाउने भएको छ । काँग्रेसमा भने आकाङ्क्षीहरू धेरै देखिएका छन् । जिल्ला पार्टी सभापति राजेश्वर खनालका अनुसार महानगर प्रमुखमा २५ र उपप्रमुखमा २४ जनाले पार्टीसमक्ष उम्मेदवारी दाबी पेस गरेका छन् ।

वैशाख ४ गतेभित्र सहमति गरी केन्द्रमा नाम पठाउने परिपत्र सत्तारूढ पाँच दलको केन्द्रीय परिपत्र भए पनि चितवन जिल्लामा कस्तो गठबन्धन बन्ने भन्ने अझै निश्चित भइसकेको छैन ।

एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेको चितवन जिल्लामा गत स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा जितेको थियो । काँग्रेसले इच्छाकामना गाउँपालिकामा मात्र जितेको थियो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा एमालेले जितेको थियो । 

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने जिल्लामा सातवटै स्थानीय तहमा एमालेको जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार एमालेले भरतपुर महानगरपालिका प्रमुख र १५ वटा वडाका वडाध्यक्ष र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा पार्टीले सर्वसम्मतिले उम्मेदवार चयन गरिसकेको छ । एक÷दुई दिनभित्र जिल्लाका वडाको उम्मेदवार तय गर्ने तयारी भएको भन्दै मिल्न नसकेका स्थानको हकमा प्रदेश कमिटीमा पठाउने र निर्णय गर्ने न्यौपानेले बताउनुभयो ।

काँग्रेसका जिल्ला सभापति खनालले जिल्लामा आएका नामावली रायसहित प्रदेश समितिमा पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका सातवटा पालिकामध्ये कुनै पनि पालिकाको प्रमुख र उपप्रमुखमा निर्विरोध सिफारिस भएको छैन । उहाँले गठबन्धनलाई मान्ने तर महानगरको प्रमुख पद काँग्रेसले पाउनुपर्ने जिल्ला पार्टीको ‘वटम लाइन’ भएको दाबी गर्नुभयो ।

माओवादी केन्द्रको जिल्ला समन्वय समिति चितवनका संयोजक रामचन्द्र अधिकारीका अनुसार पार्टीले भरतपुर महानगरबाहेक अन्य स्थानीय तहमा अझै निर्णय गरिसकिएको छैन । गठबन्धनका स्थानीय नेतृत्वबीच औपचारिक अनौपचारिक छलफल भइरहेको भन्दै उहाँले भन्नुभयो, “पाँच गतेभित्र जिल्लाबाट केन्द्रमा गठबन्धनका उम्मेदवारको नामावली पठाउने गरी तयारी भइरहेको छ ।”

भरतपुर महानगर यतिबेला देशकै बहसको केन्द्रमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला र उहाँको निर्वाचन क्षेत्रमा पर्ने भएर मात्र होइन उहाँकी छोरी वर्तमान महानगर प्रमुखसमेत हुनुहुन्छ । गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय भइरहँदा महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस दुवैले दाबी गरिरहेका छन् । माओवादी केन्द्रले नगरप्रमुख दाहाललाई नै दो¥याउने तयारीमा छ । उता काँग्रेस महानगरको नेतृत्व छोड्ने पक्षमा देखिँदैन । २०७४ को स्थानीय तहको निर्वाचनमा छ पालिकामा एक्लाएक्लै उम्मेदवारी दिएको काँग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा भागबन्डा गरी चुनावी तालमेल गरेका थिए ।

अन्योलमा गठबन्धनका दल 

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्लामा गठबन्धनमा रहेका दलहरू उम्मेदवार छान्न अलमलमा परेका छन् ।

नौवटा स्थानीय तहमा गरी ७९ वटा वडा रहेको सिन्धुली जिल्लामा नेकपा एमालेले उम्मेदवार टुङ्ग्याउँदै गएको जनाएको छ । कुन पालिका र वडा कसलाई भन्ने भागबन्डा नटुङ्गिँदा उम्मेदवार चयन प्रक्रिया अघि बढ्न नसकेको गठबन्धनमा रहेका राजनीतिक दलहरूले जनाएका छन् ।

नेपाली काँग्रेस सिन्धुलीका सचिव ईश्वर बस्नेतले वैशाख ३ गतेसम्म उम्मेदवार टुङ्ग्याएर प्रदेश समितिमा पठाउन केन्द्रबाट सकुर्लर भएकोले त्यति बेलासम्म सबै कुरा मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन पालिकामा जुन दलले जितेको छ, त्यो उसैलाई र वडाको हकमा भोटका आधारमा भागबन्डा गर्ने तयारी भएको छ । कतै भूगोल मिलाउन तलमाथि हुन सक्छ ।” जिल्लाका नौवटा पालिकामध्ये काँग्रेसले तीन, नेकपा माओवादी केन्द्रले तीन र नेकपा एमालेले तीनवटा पालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा जितेका थिए । 

गठबन्धनको मुख्य दल काँग्रेसको तीनपाटन गाउँपालिका, फिक्कल गाउ“पालिका र दुधौली नगरपालिकाले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तीमध्ये तीनपाटनमा काँग्रेसले गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरलाई पुनः अध्यक्षमा उठाउने सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लेखनाथ दाहालले गठबन्धनको विषय टुङ्गो नलाग्दा अन्योल नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठक बस्ने तयारीमा छौँ । पहिल्यै उम्मेदवारी घोषणा गर्दा गठबन्धनमा हुने भागबन्डामा कुन कसलाई पर्छ यकिन नभएकाले पछि उम्मेदवारी फिर्ता गर्नुपर्ने हुन्छ कि भन्ने अन्योल छ ।”

गठबन्धनमा रहेका दलले बनाएको पालिका स्तरीय संयन्त्रले आफ्नो प्रतिवेदन बुझाइसकेकाले त्यसलाई अध्ययन गरी टुङ्गोमा पुगिने उहाँको भनाइ छ । निर्वाचन लक्षित पार्टी कार्यक्रम र गतिविधि भने भइरहेको उहाँले सुनाउनुभयो ।

उता नेकपा एमालेले भने नौवटा पालिकामध्ये गोलन्जोर र मरिण गाउँपालिकामा अध्यक्ष सर्वसम्मत चयन गरेको छ । गोलन्जोर गाउँपालिकामा शङ्कर बराल र मरिण गाउँपालिकामा गोविन्दलाल माझीलाई अध्यक्षमा उठाउने पालिका स्तरीय कमिटीले सर्वसम्मत निर्णय गरी जिल्ला कमिटीमा सिफारिस गरेको एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जय दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्य पालिकामा अध्यक्षको आकाङ्क्षी धेरै भएकाले जित्ने आधार के हो भनी आकाङ्क्षीबीच छलफल चलाइरहेका छौँ । अब सबैको नाम प्रदेश कमिटीमा पठाउछौँ ।” वडाध्यक्षको हकमा भने अधिकांश वडामा उम्मेदवारी टुङ्गिसकेको उहाँको भनाइ छ ।

आकाङ्क्षी धेरै हुँदा समस्या 

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार स्थानीय निर्वाचनका लागि दोलखामा क्रियाशीला दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भएको छ । स्थानीय तहका प्रायः सबै पदमा आकाङ्क्षी धेरै हुनुका साथै गठबन्धनले समेत आफूले पाउने पालिका टुङ्ग्याउन नसक्दा उम्मेदवार छनोट गर्न सकस भएको बताइएको छ । 

नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसबीच आउँदो आइतबारसम्म स्थानीय तहको भागबन्डा टुङ्ग्याउने सहमति भएको छ । दोलखाका काँग्रेस सभापति बर्मा लामाले भन्नुभयो, “एक त गठबन्धन अर्कोतर्फ हरेक पदमा पाँच÷सात जना आकाङ्क्षी देखिएका छन् । पहिला पालिकाको भागबन्डा टुङ्गिन्छ, त्यसपछि पार्टीको उम्मेदवार टुङ्ग्याउनुपर्छ । तालमेल भए पनि नभए पनि ७ गते संसदीय समितिमार्फत उम्मेदवार टुङ्गो लगाउनैपर्छ । 

विधानले दिएको अधिकार प्रयोग गरी सात गाउँपालिकाको यहीँबाट र दुई नगरपालिकाको केन्द्रमा सिफारिस पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

पार्टीको विधानअनुसार नगर÷पालिकाले सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिसकेका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक कुलबहादुर बुढाथोकीले भन्नुभयो, “काँग्रेस चार, माओवादी चार र नेकपा एसलाई एउटा स्थानीय तह दिने गरी तालमेल गर्ने सहमति भएको छ । नगर र पालिका तोक्न बाँकी छ । यो टुङ्गो लागेपछि उम्मेदवार छनोट भइहाल्छ । आकाङ्क्षी धेरै भए पनि पालिकाले छनोट गर्ने भएकाले त्यति सकस नहोला । 

नेकपा एमालेमा पनि आकाङ्क्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न सकस नै भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठले भन्नुभयो, “पालिकाभन्दा नि नगरमा धेरै आकाङ्क्षी देखिएका छन् । आन्तरिक छलफल सघन रूपमा चलिरहेको छ । सर्वसम्मतीबाटै उम्मेदवार छनोट हुनेमा आशावादी छौँ ।” 

गठबन्धन छलफलमा सीमित

सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न दलहरूलाई सकस भएको छ । स्थानीय सरकारको नेतृत्वमा लिन आकाङ्क्षीहरूको सङ्ख्या बढेपछि पार्टीहरूले पालिकादेखि वडासम्मको उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । 

चुनावमा तालमेल गर्न सैद्धान्तिक सहमति गरेका सत्ता गठबन्धनले कुन पालिकामा कसरी तालमेल गर्ने भन्नेबारे अहिलेसम्म सहमति गर्न सकेका छैनन् । सत्ता गठबन्धन छलफलमा मात्रै सीमित भइरहेको छ । उम्मेदवारको मनोनयन दर्ता गर्न अब १२ दिन बाँकी छ तर अहिलेसम्म गठबन्धनका दलहरूले आफूले पाउने पालिकाका विषयमा छलफलसमेत अगाडि बढाएका छैनन् र कुन स्थानीय तह आफूले पाउने भन्नेमा अल्झेका छन् । बरु गठबन्धनका दलहरू आआफ्नै उम्मेदवार छनोट गर्न व्यस्त छन् । 

सत्ता साझेदार नेपाली काँगे्रस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाले पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्ष र सदस्यहरूका उम्मेदवार सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न सकेका छैनन् । वडा सदस्यदेखि पालिका अध्यक्ष, प्रमुखसम्म दर्जन आकाङ्क्षी भएपछि उम्मेदवार छनोटमा विवाद बढेको छ । 

एकीकृत माओवादी केन्द्रका केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा ‘सुवोध’ले गठबन्धन दलबीच छलफल चलिरहेको जानकारी दिनुभयो । आआफ्ना धाराण राख्ने, कुन पालिका र वडा कुन पार्टीले पाउने भन्नेबारे छलफल जारी रहेको उहाँले बताउनुभयो । काँगे्रस र माओवादीसहितका दललाई बराबरको भागबन्डा मिलाइनुपर्नेमा माओवादीको दाबी छ । माओवादीले पालिकादेखि वडासम्मका सिफारिस वैशाख ५ गतेभित्र प्रदेश कमिटीमा पठाउने भएको छ । 

काँगे्रसका जिल्ला सभापति जङ्गबहादुर लामाले सत्ता गठबन्धन दलबीच सकरात्मक छलफल चलिरहेको बताउनुभयो । “निश्चित आधार र मापदण्ड बनाएर पालिकादेखि वडासम्मको भागबन्डा मिलाउन लागिरहेका छौँ,” सभापति लामाले जानकारी दिनुभयो । सत्ता गठबन्धनका दललाई कुन र कति स्थानीय तह दिन सकिन्छ भन्नेबारे पार्टीमा छलफल जारी रहेको भन्दै पालिकाको उम्मेदवार तय गरी वैशाख ३ गतेभित्र प्रदेश समितिमा पठाइने जानकारी दिनुभयो । 

नेकपा एमालेका जिल्ला अध्यक्ष कमल नेपालले वडा सदस्यदेखि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहितको आकाङ्क्षीको सूच बागमती कमिटीमा बुझाउन लागिएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने भए पनि कतिपय स्थानमा राप्रपा नेपालसँग गठबन्धन गरेर जाने कि भन्नेबारे छलफलमा उठेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमा १०३ वडा रहेका छन् । 

गठबन्धनको निर्णय कुर्दै एमाले 

बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार स्थानीय निर्वाचनको मिति आउन २८ दिन बाँकी रहँदा राजनीतिक दलहरू उम्मेदवारहरू छनोटमा अझै अलमलमा रहेका छन् । कुन पालिका र वडा कसरी टुङ्गो लगाउने भन्नेमा सत्ता गठबन्धनका दलहरू छलफलमा रहेका छन् । उता नेकपा एमालेलगायतका दलहरू गठबन्धनका दलहरूको उम्मेदवारको आधारमा आफ्नो उम्मेदवार खडा गर्ने दाउमा रहेका छन् । 

गठबन्धमा रहेका नेपाली काँग्रेस, नेकपा माओावादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलबीच बढी पालिका र वडा पाउनुपर्ने आआफ्नो दाबी कायमै रहेका कारण पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । 

काँग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई्रंले गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने विषयले गर्दा हालसम्म उम्मेदवारको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँले गठबन्धनमा रहेका दलबीच तालमेलबारे छलफल भइरहेको भन्दै पालिका र वडाको विषयमा टुङ्गो लगाउनका लागि शुक्रबार बैठक बोलाइएको बताउनुभयो । 

यसैगरी नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेलले हालसम्म एक गाउँपालिका र ३८ वटा वडामा सर्वसम्मत उम्मेदवारको टुङ्गो लागेको बताउनुभयो । उहाँले जिल्लाको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको भन्दै ४५ भन्दा बढी वडामा सर्वसम्मत रूपमा उम्मेदवारको चयन भएको बताउनुभयो । उहाँले आकाङ्क्षी बढी भएका स्थानमा सर्वसम्मत गर्न छलफल अघि  बढाइएको बताउनुभयो । 

माओवादी केन्द्रका जिल्ला सचिव दैवलाल घिसिङले गठबन्धनमा रहेका दलबीच सहमति गरेर निर्वाचनमा जान छलफल भइरहेको भन्दै देखिएका समस्या स्थानीयतरमा नै समाधान गरेर जाने विषयमा गठबन्धनका दलहरू एक रहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी जिल्ला सचिव दीपक गौतमले गठबन्धनमा रहेका दलबीच आआफ्नै अडान कायम भएकोले उम्मेदवारको टुङ्गो लाग्न नसकेको बताउँदै शुक्रबार र शनिबार बस्ने गठबन्धनका दलहरूको बैठकले पालिका र वडा टुङ्गो लगाउने र टुङ्गो नलागेमा एक्लै निर्वाचनमा जाने बताउनुभयो । 

यसैबीच नेपाल मजदुर किसान पार्टीले जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र चौरीदेउराली गाउँपालिकामा उम्मेदवारी दिने प्रस्ताव केन्द्रमा गरेको जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँले वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाइने बताउनुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठले जिल्लाको १३ वटै पालिका र १३५ वटै वडामा उम्मेदवारी दिने भन्दै अन्य पार्टीसँग तालमेल नहुने बताउनुभयो ।