• १६ भदौ २०८१, आइतबार

पाँच वर्षमा अठहत्तर किलोमिटर सडक

blog

बेलिना थापा 

लमजुङ, वैशाख २ गते   ।  लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा ७८ किलोमिटर सडक निर्माण गरेको छ । २०७४ मा स्थानीय तह निर्वाचनपछि गाउँपालिकामा आएका जनप्रतिनिधिको सक्रियतामा गाउँ–गाउँमा सडक सञ्जाल पुगेको हो । जनप्रतिनिधि गाउँ–गाउँ, टोल–टोल पुगेर नागरिकको समस्या बुझ्ने र समाधान गर्ने क्रममा सडकको समस्या भएका ठाउँमा सडक पु-याएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सडक नपुगेको ठाउँमा सडक पु-याउने काम गरेको बताउनुभयो । सडक सञ्जाल नजोडिएको ठाउँका नागरिकलाई आउजाउ गर्न, सामान ढुवानी गर्न समस्या भएपछि बजेट व्यवस्थापन गरी सडक पु-याएको बताउनुभयो । गाउँपालिकाका नौवटा वडाका गाउँ–गाउँमा सडक सञ्जालले छोएको बताउनुभयो । 

सडक अभावमा विद्यालय जान, स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था जान, सहरबजार झर्न नागरिकलाई समस्या थियो । घण्टौँ हिँडेर जानुपर्ने बाध्यता थियो । अहिले सवारीसाधनमार्फत सहजै आवातजावत गर्न पाएका छन् । स्थानीय सरकार आएपछि सडक पुगेको र नागरिकले खुसी र सुखी अनुभव गरेका छन् । स्थानीय सरकारले गरेको कामप्रति नागरिक हर्षित छन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार पाँच वर्षमा ७८ किलोमिटर नयाँ सडक निर्माण भएको छ । ३४ किलोमिटर सडक स्तरोन्नति भएको छ । सडक सञ्चालन भएका तर सहज नभएका सडक स्तरोन्नति भएको हो । गाउँपालिकाभित्र हाल कुल सडक सञ्जाल १२९ किलोमिटर रहेको बताउनुभयो । नागरिकको चाहना, माग र आवश्यकताअनुसार नै बजेट व्यवस्थापन गरी काम हुँदै आएको उहाँले बताउनुभयो ।