• १२ साउन २०८१, शनिबार

ट्रयाक खुलेको पन्ध्र वर्षपछि : बेनी–तातोपानी सडक कालोपत्रे

blog

ठाकुरप्रसाद आचार्य  

बेनी (म्याग्दी), वैशाख २ गते  म्याग्दीको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक कालोपत्रे गर्न थालिएको छ । सडक ट्र्याक खुलेको डेढ दशकपछि पहिलो चरणमा बेनीदेखि तातोपानीसम्म नौ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो । 

सडकमार्ग खुलेको १५ वर्षपछि जिल्लाको रणनीतिक महŒवको बेनी–दरबाङ सडकको बेनीबाट–तातोपानी खण्ड कालोपत्रे गर्न थालिएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना चार वर्षअघि सुरु गरिएको थियो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसकेको हो । जिल्लाका सरोकारवाला निकायहरूको खबरदारीका कारण पछिल्ला केही महिनायता निर्माण व्यवसायी सडक बनाउन जुटेको हो ।  

पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्रे गर्न प्राइम कोट राखेर अलकत्रा राख्न थालिएको बताउनुभयो । 

बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक वैशाख १५ भित्र कालोपत्रे गरिसक्ने योजनाका साथ धमाधम काम थालिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार आठ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ ।  

प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्रे गर्न लागिएको उहाँले बताउनुभयो । 

ठेकेदार लामा–समानान्तर निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले वैशाख १५ भित्र कालोपत्रे गरिसक्न मजदुर र उपकरण परिचालन गरेर दैनिक १४ घण्टासम्म काम गरेको बताउनुभयो । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक एक सय मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण  भइरहेको छ । 

२०७४ साल असोज ४ गते ४५ करोड रुपियाँ ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण गरिसक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाइफ लाइन’ मानिने २०६३ सालमा मार्ग खुलेको बेनी–दरबाङ सडक वर्षामा बाढी र पहिरोले दैनिक अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण  भएको थियो । 

आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर सडकखण्ड कालोपत्र गर्न  २२ करोड ५७ लाख ९३२ रुपियाँमा २०७६ साल जेठमा बिरुवा–क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । 

हालसम्म उक्त खण्डमा ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम थालिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।