• १३ साउन २०८१, आइतबार

चैतमै भयो असारे विकास

blog

नगेन्द्र सापकोटा 

काठमाडौँ, वैशाख २ गते  ।  अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८÷०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके । 

आर्थिक वर्ष समाप्त हुन लाग्दा हतार गरेर काम गरिने र त्यस्ता कामको गुणस्तर कमजोर हुनेहुँदा त्यसलाई असारे विकास भन्ने गरिन्थ्यो । अरू बेला भर्खर–भर्खर सुरु हुने काम यस वर्ष भने वैशाख नलाग्दै त्यस्ता केही आयोजना सकिएका हुन् । सामान्यतः असारमा हुने विकास निर्माणकार्य चैतमै सकिएका हुन् । 

यो वर्ष स्थानीय तह निर्वाचन हुने भएकाले सबै स्थानीय तहको सरकारबाट हुने चालू आवका विकासका योजना ०७८ चैत मसान्तभित्रै सकिए । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घका अनुसार ७५३ वटै स्थानीय तहले गत असारमा गाउँ र नगर सभाले विनियोजन गरेका अधिकांश योजना चैतभित्रै सम्पन्न गरेको जनाएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका उपाध्यक्ष एवं झापाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले सबै पालिकाले विकासका योजना चैत मसान्तभित्रै सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्थानीय तह निर्वाचन हुने भएकाले हामी जनप्रतिनिधिले पनि आफूहरूले सुरु गरेका योजना आफ्नै कार्यकालमा सक्न योजनाको नियमित अनुगमन र ताकेता गरेका छौँ । ठेकेदारले पनि निर्वाचन आचारसंहिता लागेपछि योजना सुरु गर्न र भुक्तानी लिन समस्या हुने डरले काम चैतभित्रै सम्पन्न भएका हुन् ।” 

उहाँका अनुसार विगतका वर्षहरूमा पुस, माघदेखि मात्र सुरु गरिने कतिपय योजना यस वर्ष भदौ, असोजदेखि नै थालिएका थिए । पालिकाभित्रका प्राविधिक प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतकाको टोली गठन गरी उपभोक्ता समिति र ठेकेदारसँग नियमति रूपमा समन्वय सहजीकरण गर्ने काम गरिएको थियो । 

स्थानीय तहले विकासका योजनाअन्तर्गत, खानेपानी, ढल निकास, सडक निर्माण तथा स्तरोन्नति, सामुदायिक भवन, पुल निर्माण, सार्वजनिक जमिन संरक्षण गरी पार्क निर्माण, स्थानीय पाटीपौवा, मठमन्दिर, कला र सम्पदा संरक्षण, पुनर्निर्माण र नवनिर्माण गरेका छन् । त्यस्तै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकका हक–अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । सहरी क्षेत्रमा कौसीखेतीका लागि मल, उन्नत बीउ, प्लास्टिकका बकेट र गमला वितरणका लागि कौसीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेका काफ्लेले बताउनुभयो । 

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहका जनप्रतिनिधिले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी विकासका योजना चैतभित्रै सम्पन्न गरेको बताउनुभयो । केही–केही पालिकाका विकासका योजनाका सानातिना काम भने बाँकी छन् । तर, अधिकांश पालिकाले विनियोजन गरेको विकासका आयोजना सम्पन्न गरिसकेका छन् । 

उहाँका अनुसार कतिपय पालिकामा भने बजेट अभावमा यसअघिका अधुरा योजना भने अहिले पनि अधुरै छन् । सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर गर्नुपर्ने योजना भने अहिले पनि कार्यान्वयकै चरणमा छन् ।