• १५ वैशाख २०८१, शनिबार

खोटाङ सेवा समाजद्वारा स्वास्थ्य शिविर सञ्चालन

blog

खोटाङ, चैत १५ गते । खोटाङ सेवा समाज बेलायतले तीन करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समाजले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको उपस्थितिमा २ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनुभयो । 

विगत ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवा भावको अभियानमा समाजले २ वटा कार्यक्रम बेलायतमा आयोजन गरी करिब १२ हजार पाउन्ड रकम सङ्कलन गरेको थियो । साथै यो अभियानका लागि विश्वका विभिन्न देशका नेपालीहरूबाट करिब ७० लाख जति सङ्कलन भएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिनुभयो । 

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपियाँ बराबरको रकम शिविरमा खर्च गरिने उहाँले बताउनुभयो । चैत १५ देखि २४ गतेसम्म चल्ने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता रहने बताइएको छ । 

शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरुलाई स्वास्थ्य परीक्षण र औषधी वितरण निःशुल्क गरिने समाजले जानकारी दिएको छ ।

स्वास्थ्य शिविर सञ्चालन जानकारी सभाको उ्घाटन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरबाट दुर्गममा रहेका र विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित बिरामीहरूलाई राहत पुग्ने विश्वास गर्नुभएको छ । 

कार्यक्रममा प्राइम टेलिभिजनका महाप्रबन्धक गणेश थापाले स्वास्थ्य शिविर ग्रामीण बस्तीमा रहेका र स्वास्थ्यमा पहुँच नपुगेका नागरिकका लागी तत्कालको समस्या र पहिचान भएकाले ग्रामीण बस्तीमा रहेका र विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिका  लागी राज्यले स्थायी स्वास्थ्य सेवा प्रदानका लागि विशेषज्ञ डा. को स्थायी व्यवस्था गर्न नसको बेला  डायस्पोरामा रहेका सबै नेपालीको सहकार्यबाट सबै स्थानीय तहमा पूर्णकालीन डा. को व्यवस्था गरी १२ महिना २४ घण्टा स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताउनुभयो । जुन कुरा अहिले सञ्चालन गरिने स्वास्थ्य शिविरमा लाग्ने खर्चमा भन्दा कम खर्च लाग्ने र सर्वकालीन सेवा प्रदान गर्न सकिने हुँदा त्यसतर्फ ध्यान केन्द्रित गर्न खोटाङ सेवा समाज बेलायतलाई आग्रह गर्नुभयो । 

समाजका महासचिव राजेन, रामजङ राईले सञ्चालन कार्यक्रममा पूर्व जिविस सभापति विष्णु राई, हलेसी तुवाचुङ नगर प्रमुख विमला राई, साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राई, दिप्रुङ चुईचुम्मा गापा उपाध्यक्ष अरूणा थापा मगरलगायतले कार्यक्रम सफलताको लागी शुभकामना व्यक्त गर्नु भएको थियो भने खोटाङ कलाकार समाजले मातृभूमि सम्बन्धी गीत प्रस्तुत गरेका थिए ।