• २९ असार २०८२, आइतबार

पुल हेर्दै जोखिमपूर्ण डुङ्गामा यात्रा

blog

बबई समाचारदाता

बबई (बर्दिया), असार २९ गते । बाढीले बगाएको पुल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक डिभिजन कार्यालय बाँकेले सम्झौता गरेको पुलका चार पिल्लर २०७४ मा आएको बाढीले भासिएका थिए । त्यस्तै २०७९ मा आएको बाढीले पुलको दुई वटा स्ल्याब बगाएको थियो ।

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा निर्माण गरिएको पुल हस्तान्तरणको तयारी भइरहेकै बेला २०७४ मा बाढीले बगाएको हो । बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरियासँग जोड्न निर्माण गरिएको पुल बगाएपछि यातायात सञ्चालन बन्द भएको आठ वर्ष पूरा भएको छ । 

बर्सातको समयमा अहिले पनि स्थानीय भत्किएको पुल हेर्दै बबई नदीको जब्दीघाटमा सञ्चालन भएको डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

जब्दीपुल निर्माण गर्न स्थानीयले पटक पटक आवाज नउठाएको पनि होइनन् तर पुल बगाएको चार वर्ष पूरा हुँदा पनि पुल निर्माणको पहल हुन सकेको छैन । बारबर्दिया नगरपालिका–११, बैदीका स्थानीय बासिन्दा कृष्ण अधिकारीले हिउँदमा भन्दा बर्सातको समयमा स्थानीयलाई सदरमुकाम आवतजावतमा कठिनाइ हुने गरेको बताउनुभयो । बारबर्दिया नगरपालिकाबाट गुलरियाको दुरी २० मिनेटको मात्र छ तर पुल नभएका कारण २० मिनेटको दुरीमा एक घण्टा लगाएर गुलरिया पुग्नु पर्छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढ्दै जान्छ अनि डुङ्गा सञ्चालन हुन्छ । यात्रुले नदीको केही भागसम्म पानीमा सवारीसाधन गुडाएर डुङ्गामा चढ्नुपर्ने भएकाले अझ बढी जोखिम देखिएको छ । बारबर्दिया नगरपालिका वनगाईका स्थानीय जनक विष्टले कतिपय यात्रु डुङ्गामा चढ्ने क्रममा पानीमा नै लड्ने गरेको बताउनुभयो ।

२०७४ मा आएको बाढीले पुलको उत्तरतर्फका चार वटा पिल्लर भासिएपछि पुलमा हिँड्ने बारबर्दिया नगरवासीको चाहना अधुरै रह्यो । भासिएको पुलबाट पैदल यात्रु, मोटरसाइकल र साइकल सञ्चालन हुने गरेको भए पनि २०७९ को बाढीले पुलको दुई वटा स्ल्याब नै बगाएपछि त झन् आवतजावत नै ठप्प भयो ।

बारबर्दिया नगरपालिका जब्दीगाउँका स्थानीय राम पाण्डेले आर्थिक वर्ष २०८१/८२ मा पुल निर्माणका लागि बजेट विनियोजन भएको खबरले उत्साहित स्थानीयलाई सडक डिभिजन कार्यालयले ठेक्का आह्वान नगरेर थप दुखी बनाएको बताउनुभयो । 

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बारबर्दिया र गुलरियालाई जोड्न पुनः पुल निर्माणका लागि मन्त्रालय र सडक डिभिजन कार्यालय बाँकेलाई सहमति दिइएको भए पनि पुल निर्माणको काम सुरुसमेत नभएको बताउनुभयो ।