चितवन समाचारदाता
फिसलिङ, असार ३० गते । गोरखा र चितवनको सिमानामा निर्माणाधीन एक सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावर परियोजनाको काम ३५ प्रतिशत सकिएको छ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–१ र चितवनको इच्छाकामना गाउँपालिका–३ को सिमाना फिसलिङनजिकै आयोजनाका पाँच वटा गेटमध्ये तीन वटा निर्माण भएका छन् ।
परियोजनाका टिम लिडर गङ्गेश कर्णले विभिन्न व्यवधान रहँदा रहँदै पनि काम तीव्र रूपमा हुँदै गरेको बताउनुभयो । ताइबानमा प्रयोग भएको नयाँ प्रविधिबाट विद्युत् उत्पादन गर्ने गरी काम भएको उहाँले बताउनुभयो । सात हजार आठ सय क्युसेक पानीको बहाब क्षमताका आधारमा डिजाइन भएकाले यसलाई नदीमा आउने ठुलो बाढीले पनि क्षति बनाउन नसक्ने टिम लिडर कर्णले जानकारी दिनुभयो ।
२० अर्बको लागतमा निर्माण भइराखेको हाइड्रोपावरको पानी रोक्ने गेट चितवनतर्फ निर्माण भइसकेको छ । परियोजनामा तीन वटा टर्वाइन जडान हुने र दुई वटाले ३३/३३ मेगावाट तथा अर्कोले ३४ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपालका अन्य खोला तथा नदीमा ठाडो पानीबाट विद्युत् उत्पादन हुँदै आएको छ । नदीलाई माथिबाट खसालेर तीव्र गतिमा टर्वाइन घुमाएर विद्युत् उत्पादन गर्ने गरिएको छ । निर्माणाधीन यस परियोजनामा भने सामान्य तीव्रता भएको नदीको पानीबाटै विद्युत् उत्पादन गर्न मिल्ने गरी नयाँ प्रविधि ल्याइएको कर्णले बताउनुभयो । २०८० जेठ २८ गते निर्माणको सम्झौता भएको परियोजना २०८३ पुस मसान्तसम्ममा सम्पन्न गर्ने उल्लेख छ ।