• ३० असार २०८२, सोमबार

कोशीमा एकचालिस प्रतिशत क्षेत्रफलमा रोपाइँ

blog

शशिधर पराजुली

विराटनगर, असार ३० गते । कोशी प्रदेशमा यस वर्ष कम पानी पर्दा धान रोपाइँ प्रभावित छ । न्यून वर्षाकै कारण गत वर्षको यसै अवधिको तुलनामा कोशीमा असार २८ गते शनिबारसम्म ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कोशी प्रदेशमा गत वर्षभन्दा २० प्रतिशतले कम हो । गत वर्ष यसै अवधिमा यहाँका ६१ प्रतिशत खेतमा रोपाइँ भइसकेको थियो । न्यून वर्षा हुँदा रोपाइँ गर्न नपाएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । असार २२ गतेसम्म २९.५४ प्रतिशत रोपाइँ भएको कोशीमा २८ गतेसम्म जम्मा ४१ प्रतिशत मात्र रोपाइँ भएको छ । अर्थात् एक साताको अवधिमा ११.५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ जबकि गत वर्ष असार अन्तिम साता २७ प्रतिशत रोपाइँ भएको थियो । 

कोशी प्रदेशको उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुममा असार अन्तिम सातासम्म ३९.७१ प्रतिशत र मध्य पहाडका आठ जिल्लामा ५१.२७ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम रोपाइँ झापा, मोरङ र सुनसरीमा भएको छ । यी तीन जिल्लामा जम्मा ७३ हजार ३८१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ जबकि यी तीन जिल्लामा एक लाख ९३ हजार २८५ हेक्टर जमिनमा धान खेती गर्ने गरिएको छ । 

जेठ दोस्रो र तेस्रो साता राम्रो वर्षा भएपछि किसानले राखेको धानको बिउ ब्याडमै हुर्किइसकेको छ तर समयमा रोपाइँ गर्न नपाउँदा धानको बिउ खेतमै सुक्ने चिन्ताले किसानलाई पिरोलेको छ । बिउ राखेको २२ दिनपछि रोपाइँ गर्दा उत्पादन राम्रो हुने मान्यता छ तर महिना दिनभन्दा बढी समय छिप्पिएको बिउ रोप्नुपर्ने बाध्यता आइपरेको छ ।

कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार, प्रदेशभर यस वर्ष प्रदेशको कुल तीन लाख २३ हजार ९७९ हेक्टर धान रोप्ने क्षेत्रमध्ये यस वर्ष एक लाख ३४ हजार ४५४ हेक्टरमा मात्र रोपाइँ भएको छ । गत वर्षको यसै अवधिमा एक लाख ९८ हजार ८१८ हेक्टरमा रोपाइँ भइसकेको थियो । यसरी एक लाख ८९ हजार ५२५ हेक्टर क्षेत्रफल अझै बाँझो रहेको छ । उच्च पहाडी जिल्ला सोलुखुम्बुमा सबैभन्दा कम २३ प्रतिशत, ओखलढुङ्गामा ३४ प्रतिशत र खोटाङमा २८ प्रतिशत मात्र रोपाइँ भएको छ । विगतका वर्षमा असार अन्तिमसम्म पहाडी क्षेत्रमा झन्डै ७५ प्रतिशत रोपाइँ भइसक्थ्यो तर यस पटक पहाडी क्षेत्रमा पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन सकेको छैन । 

तराईका जिल्लामा पनि न्यून मात्र रोपाइँ भएको छ । सुनसरीमा ६१ प्रतिशत, मोरङमा ३७ प्रतिशत र झापामा ४३ प्रतिशत रोपाइँ भएको छ । सुनसरीमा गत वर्षको तुलनामा २१ हजार ३९८ हेक्टर कम रोपाइँ भएको छ । मोरङमा ३७ हजार ३८६ हेक्टर र उदयपुरमा सात हजार २९९ हेक्टर क्षेत्रफल रोपाइँ हुन बाँकी छ ।

उदयपुरमा १४ हजार ३८३ हेक्टरमध्ये मात्र सात हजार ८४ हेक्टरमा रोपाइँ भएको छ भने सुनसरीमा ५५ हजार २९७ हेक्टरमध्ये ३३,८९९ हेक्टरमा रोपाइँ भएको छ । यी दुवै जिल्लामा २१ हजार ३९८ हेक्टर र २१ हजार ३९८ हेक्टर क्षेत्रफल रोपाइँ हुन बाँकी छ । सुनसरी मोरङ सिँचाइ आयोजनाले समेट्ने क्षेत्रको पनि सबै ठाउँमा रोपाइँ हुन सकेको छैन । उच्च जमिनमा सिँचाइ सुविधा भए पनि राम्ररी पानी चढ्दैन । त्यस्ता ठाउँमा किसानले आकासे पानीमै भर गर्ने गरेका छन् । तुलनात्मक रूपमा भोजपुरमा बढी अर्थात् ५८ प्रतिशत रोपाइँ भएको छ विभागले जानकारी दिएको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले भन्नुभयो, “कम वर्षा हुँदा यस वर्ष धान रोपाइँमा कमी आएको छ । समयमै रोपाइँ गर्न नपाउँदा उत्पादनमा असर पर्न सक्ने देखिन्छ ।”

मनसुन सक्रिय भएमा अझै पनि तराई क्षेत्रमा रोपाइँका लागि समय बाँकी रहेकाले चिन्ता गर्न नपर्ने जानकार बताउँछन् । झापा, मोरङ र सुनसरीमा साउनभर रोपाइँ गर्न सकिन्छ ।  राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले यो साता पनि कम पानी पर्ने र तापक्रम बढ्ने प्रक्षेपण गरेकाले रोपाइँमा खासै प्रगति नहुने सम्भावना देखिएको छ ।