• ३० असार २०८२, सोमबार

पुलको अधुरो मर्मतले बढायो जोखिम

blog

मर्मतमा अधुरै रहेको पुल ।

अविनाश चौधरी

धनगढी, असार ३० गते । कैलालीको कैलारी गाउँपलिकास्थित घुरहा नदी पुलको अधुरै मर्मत गरेर जोखिम बढाएको स्थानीयले आरोप लगाएका छन् । 

वडा नम्बर ४ र ६ जोड्ने पुल मर्मतको काम अधुरै हुँदा आवत–जावत सहज नभएको स्थानीयको भनाइ छ । दशक अगाडि निर्माण भएको सो पुलको पूर्वतर्फ नदीले धार परिवर्तन गरेर कटान गरेको थियो । नदीले पुलसम्मको पहुँचमार्ग कटान गर्नुका साथै भत्काएपछि प्रदेश सरकारको बजेटमा मर्मतको काम गरिएको छ । 

पुल मर्मतका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । तर, ५० लाख खर्चेर गरिएको मर्मत नाम मात्रको मर्मत भइ जोखिम नटरेको स्थानीय बीरबहादुर चन्दले बताउनुभयो । “पुल मर्मत गरेर आवत–जावतनै सहज भएको छैन भने कसरी ५० लाख खर्चेर मर्मत गरेको पत्याउने ?” उहाँले थप्नुभयो, “हामीले इन्जिनियरलाई पनि पटक–पटक भन्यौं । बजेट अनुसारको काम भएको भन्दै टार्नुभयो ।”

ठेकेदारले अधुरै काम गरेको भन्दै चन्दले बाढी आएपछि फेरि पहुँच मार्ग कटान हुन सक्ने जिकिर गर्नुभयो । पूर्वाधार विकास कार्यालयले पुल मर्मतका लागि भूमिराज उदयदेव निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो । सो निर्माण कम्पनीले वैशाख १८ गतेभित्र काम पूरा गर्न नसकेपछि पेटी ठेकेदारमार्फत बाँकी काम गराएको स्थानीय बताउँछन् । 

असार ४ गते मात्र हतार–हतार काम सम्पन्न गरिएको स्थानीय सरस्वती मल्ल सिंहले बताउनुभयो । पूर्वाधार विकास कार्यालयका साइट इन्जिनियर देवीकुमारी बलायरले बजेटअनुसार पुल मर्मतको काम भएको उल्लेख गर्नुभयो ।