• १६ वैशाख २०८१, आइतबार

फ्रिलान्सिङको दुनियाँ

blog

विश्वको कुनै पनि भागमा बसेर इन्टरनेटमार्फत धेरै किसिमका काम गर्न सकिन्छ । त्यसमा पनि सूचना प्रविधिसँग सम्बन्धित काम त झन् सहज र सरल ढङ्गले गर्न सकिने भएको छ । अनलाइन माध्यमबाट आइटी आउटसोर्सिङ, अनलाइन फ्रिलान्सिङ, अफ्सोर डेभलपमेन्टलगायतका काम हुने गर्छन् । 

घरबाटै विश्वका विभिन्न स्थानमा रहेका कार्यालय, कम्पनी वा व्यक्तिगत रूपमा समेत हुने यस्तो काम कोभिड सर्वमहामारीका बेला नेपालमा वृद्धि भयो । त्यतिबेला सुरु भएको वर्क फ्रम होम, अनलाइन क्लास, अनलाइन जब, भिडियो कन्फ्रेन्सिङ अहिले पनि प्रचलनमा रहेका छन् । 

अहिलेका प्रविधिमा पोख्त युवादेखि गृहिणीसम्मले अनलाइनमा काम गरेर पैसा कमाउन सक्छन् । त्यसका लागि कुनै न कुनै ज्ञान र सिप भने हुनुपर्छ । फ्रिलान्सिङमा जो कोहीले आफ्नो रुचि र इच्छा अनुसार अनलाइनमार्फत काम गर्न सक्छन् । यस्तो काम सूचना प्रविधिको डाटा इन्ट्रीदेखि आफूलाई रुचि लाग्ने जुनसुकै काम पनि हुन सक्छ । 

फ्रिलान्सिङमा ग्राफिक डिजाइनिङ, वेबसाइट डेभलपमेन्ट, डिजिटल मार्केटिङ, भिडिओ एडिटिङ, एनिमेसन, डाटा इन्ट्री, व्यावसायिक परामर्श, कानुनी परामर्श, सर्भे, नक्साङ्कनलगायतका थुप्रै काम सकिन्छ । यस्तो काम फुर्सदिलो जुनसुकै उमेर, समूहका व्यक्तिले गर्न सक्छन् । अहिले नेपालमा प्रविधिमा पोख्त युवा विश्वका नाम चलेका कम्पनीमा घरमै बसेर आफ्नो समयको सदुपयोग गरी अनलाइनमार्फत मनग्ये आम्दानी गर्दै आएको देखिन्छ । 

यस्तो काम खोज्न विभिन्न अनलाइन वेबसाइट (प्लेटफर्म) रहेका छन् । यदि तपाईंलाई पनि यस्तै काम गर्ने रहर छ भने आफ्नो दक्षता अनुसार यस्तो प्लेटफर्ममा काम खोज्न सक्नु हुन्छ । कुनै पनि व्यक्ति वा कम्पनीले आफूलाई चाहिएको सेवाको विवरण र आफूले त्यसबापत दिने शुल्क तोकी फ्रिलान्सिङ प्लेटफर्ममा राख्दछन् । सेवा चाहिने व्यक्तिले त्यस्ता प्लेटफर्ममा गएर आफ्नो रुचि र सिपलगायतका विवरण राखेपछि सेवा चाहिने कम्पनी वा व्यक्तिले काम खोज्ने व्यक्ति (फ्रिलान्सर) लाई सम्पर्क गरी आपसी समझदारीमा काम गर्न सक्छन् । 

फ्रिलान्सरले आफ्नो अनुकूलको कामका लागि ती कम्पनीलाई फ्रिलान्सिङ प्लेटफर्ममार्फत सम्पर्क गर्छन् । यसरी उनीहरू एकआपसको काम र आवश्यकता पूरा गर्छन् । फ्रिलान्सिङ प्लेटफर्मले केही प्रतिशत सेवा शुल्क लिएर बाँकी रकम फ्रिलान्सरको एकाउन्टमा पठाइदिन्छन् तर सबै यस्ता प्लेटफर्म भरपर्दा नहुन सक्छन् । त्यसैले अनलाइनमा काम खोज्दा फ्रिलान्सिङमा सावधानी अपनाउनुपर्छ । 

फ्रिलान्सिङ के हो ?

फ्रिलान्सिङ भनेको कुनै एक व्यक्तिले एउटा कम्पनीसँग आबद्ध रही काम गर्नुभन्दा स्वतन्त्र रूपमा कुनै पनि काम विभिन्न कम्पनी वा व्यक्तिसँग निश्चित समयका लागि गर्नु हो । फ्रिलान्सिङ विभिन्न पेसा वा व्यवसायमा निकै प्रचलित शब्द हो । कुनै लेखक, पत्रकार, फोटोग्राफर, सम्पादक, भाषा अनुवादक, गीतकार वा सङ्गीतकार जो कोहीले फ्रिलान्सिङ गर्न सक्छन् । 

यसरी स्वतन्त्र रूपमा काम खोज्ने व्यक्तिलाई ‘फ्रिलान्सर’ भनिन्छ । उनीहरू कुनै कम्पनीसँग नियमित काम गर्नुभन्दा स्वतन्त्र रूपमा काम गर्न रुचाउँछन् । नेपालमा समेत फ्रिलान्सिङ युवामाझ लोकप्रिय बनेको छ । उनीहरूले अनलाइन माध्यमबाट पैसा कमाउन फ्रिलान्सिङ गर्छन् । 

‘फ्रिलान्सिङ प्लेटफर्म’ यस्तो अनलाइन सम्पर्क स्थान हो जहाँ योग्य र दक्ष फ्रिलान्सरले संसारको कुनै पनि ठाउँबाट काम खोज्न र काम गरेको आम्दानी प्राप्त गर्न सक्छन् । यहाँ काम दिने कम्पनीसँग फ्रिलान्सरलाई जोड्ने मध्यस्थकर्ताका रूपमा ‘फ्रिलान्सिङ प्लेटफर्म’ ले काम गर्छन् । ‘फ्रिलान्सिङ प्लेटफर्म’ लाई यसबापत निश्चित सेवा शुल्क दिनु पर्दछ । 

फ्रिलान्सिङलाई एक रोमाञ्चक यात्रा भन्ने पनि गरिन्छ । यसबाट तपाईंले आफ्नो अनुकूल समयमा रमाउँदै निर्धक्क आफ्नो सिपको सहायताले विभिन्न कम्पनी तथा व्यक्तिको काम गर्न सक्नुहुन्छ । यो एउटा चुनौती पनि हो जसले सधैँ तपाईंलाई अगाडि बढ्ने प्रेरणा दिन्छ । विश्वमा कन्टेन्ट राइटिङ र ग्राफिक डिजाइन फ्रिलान्सिङ काममध्येमा सबैभन्दा लोकप्रिय मानिन्छन् । 

फ्रिलान्सिङका अवसर

फ्रिलान्सिङ गर्न चाहनेका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न अवसर छन् । यदि तपाईंसँग कुनै विषयमा ज्ञान, सिप वा दक्षता छ भने तपाईं फ्रिलान्सिङ गर्न सक्नुहुन्छ । सामग्री लेखन, सम्पादन, वेबसाइट वा मोबाइल एप निर्माण तथा डिजाइनलगायत अन्य धेरै काम विभिन्न क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्न सकिन्छ ।

सन् २०२२ मा इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) ले गरेको एक अध्ययनमा नेपालबाट ६६ हजार ५०९ जनाले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा रही फ्रिलान्सिङ सेवा दिएको उल्लेख छ । त्यसो त नेपालमा पछिल्लो समयमा फ्रिलान्सिङमार्फत विदेशका नाम कहलिएका कम्पनीमा काम गर्ने युवाको सङ्ख्या बढ्दो छ । 


अनलाइनबाट के गर्न सकिन्छ ?

फ्रिलान्सिङ गर्न चाहनेका लागि अनलाइन प्लेटफर्म निकै उपयुक्त मानिएको छ । तपाईंले घरमै बसेर विश्वको काम गर्न सक्नुहुन्छ । यस्ता काममा ग्राफिक डिजाइन, भाषा अनुवाद (अङ्ग्रेजीलाई नेपाली रूपान्तरण वा अन्य कुनै भाषा अनुवाद), घोस्ट राइटिङ (अर्काको नाममा पैसा लिएर लेखिदिने), व्यावसायिक योजना, थेसिस टाइप गर्ने, कुनै पनि संस्थाको अनलाइन लाइभ च्याट गरिदिने एजेन्ट, अनलाइन सपोर्ट,  डिजिटल मिडिया प्लानर, इमेज क्लिपिङ, इमेज प्रोसेसिङ, भ्वाइस रेकर्ड रूपान्तरण, अडियो/भिडियो सम्पादन, एनिमेसन, लोगो डिजाइन, अटो क्याड डिजाइन, वेबसाइटका लागि कन्टेन्ट निर्माणलगायतका काम गर्न सकिन्छ ।

कोर्स कहाँ लिने ?

फ्रिलान्सिङ गर्न चाहनेले सिपमूलक कोर्स अफलाइन वा अनलाइन लिन सक्छन् । तपाईं रहेको स्थानमा रहेका सिप सिकाउने कम्पनी वा इन्स्टिच्युटबाट आफूलाई चाहिने र अनलाइनमा काम पाइने कोर्स लिन सक्नुहुन्छ । अथवा यस्ता कोर्स अनलाइनमै पनि खोज्न सकिन्छ । यस्ता अनलाइन कोर्स शुल्क तिरेर युडेमी, युडासिटी, कोड एकेडेमी, ब्लक, स्किल सेयर, आइभर्सिटी, कोर्सएरालगायतका वेबसाइटमार्फत लिन सकिन्छ ।

निःशुल्क रूपमा युट्युब, भिभोलगायतका भिडियो सेयरिङ प्लेटफर्मबाट सजिलैसँग सिक्न मिल्छ । साथै तपाईंले यस्ता कोर्स इन्टरनेटमा उपलब्ध इ–बुक, गाइड बुकका साथै विभिन्न सिप सिकाउने वेबसाइटबाट पनि लिन सिक्नुहुन्छ । यस्ता अनलाइन कोर्स गरेर सर्टिफिकेटसमेत लिन सकिन्छ । यी प्लेफर्ममा गएर तपाईंले आफ्नो रुचि अनुसारको काम खोज्न सक्नु हुन्छ । 

फ्रिलान्सिङमा काम गर्दा कुनै अफिस, कम्पनी वा सङ्घसंस्थामा काम गरे जस्तो हुँदैन । यसमा आम्दानीमा उतारचढाव आउन सक्छ । कुनै कम्पनीमा कर्मचारी भएर काम गर्दा निश्चित तलब हुन्छ । फ्रिलान्सिङमा निश्चित तलब हुँदैन तर फ्रिलान्सिङमा काम बढी आएमा धेरै आम्दानी हुन्छ भने काम थोरै भएमा आम्दानी पनि घट्छ । १० देखि ५ बजेको निश्चित कार्यालय समय हुँदैन । तलबका लागि महिना कुर्नुपर्ने बाध्यता पनि हुँदैन । 

काम गर्ने र गराउने दुवैका लागि फ्रिलान्सिङ उपयुक्त आधुनिक तरिका हो । कर्मचारी राखेर काम गराउनुभन्दा फ्रिलान्सरबाट निश्चित समयका लागि काम गराउन कम्पनीलाई सस्तो पर्छ । फ्रिलान्सरलाई पनि एकै समय विभिन्न कम्पनीको काम गर्न पाउँदा आम्दानी बढ्न जान्छ । अहिले विश्वमै युवामाझ फ्रिलान्सिङ निकै लोकप्रिय काम गर्ने विधि भएको छ । जसमा मन लागेको काम आफ्नो अनुकूल समयमा गर्ने स्वतन्त्रता रहन्छ ।  


लोकप्रिय फ्रिलाइन्सिङ काम

  • लेखा र वित्त ।
  • प्रशासनिक ।
  • मार्केटिङ ।
  • कानुन ।
  • लेखन तथा सम्पादन ।
  • ग्राहक सेवा ।
  • द्विभाषी ।
  • कम्प्युटर र सूचना प्रविधि (आइटी) ।
  • चिकित्सा र स्वास्थ्य तथा औषधि ।
  • सम्पादन ।
  • मानव संसाधन व्यवस्थापन ।
  • शिक्षा र प्रशिक्षण ।
  • केही लोकप्रिय फ्रिलाइन्स प्लेटफर्म
  • अपवर्क ।
  • फाइभर ।
  • टपटेल ।
  • फ्रिलान्सर डटकम ।
  • फ्लेक्स जेब्स ।
  • सिम्प्ली हायर ।
  • गुरु ।
  • लिङ्डइन ।
  • बेहेन्स ।
  • ९९ डिजान्स ।
  • ड्रिबल ।
  • पिपुल पर आवर ।
  • टाक्स र्‍याबिट ।