• १५ वैशाख २०८१, शनिबार

मोतिबिन्दु भएका ८६ जनाको आँखाको शल्यक्रिया

blog

तेल्लोकमा सञ्चालित निःशुल्क शिविरमार्फत आँखाको शल्यक्रिया गराएका बिरामीहरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ८ गते ।
ताप्लेजुङमा मोतिबिन्दु भएकाहरुको आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा सञ्चालित निःशुल्क शिविरमार्फत मोतिबिन्दु भएका रोगीहरुको आँखाको शल्यक्रिया गरिएको हो ।

सिरिजङ्घा गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा संयोजक सञ्जीव सिंहका अनुसार ७५ जना मोतिबिन्दु भएका ८६ जना रोगीको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमार्फत मोतिबिन्दु भएका बाहेक टेरिजम अर्थात् आँखामा मासु पलाएर समस्या भएका १० जना र इन्ट्रोपिन समस्या भएका एकजनाको आँखाको शल्यक्रिया गरिएको सिंहले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकस्थित तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा गएको आइतबारदेखि शिविर सञ्चालन गरिएको थियो । मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सेवाग्राहीलाई शल्यक्रियासहितको सेवा प्रदान भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार गाउँपालिकाले गत साताको मङ्गलबारदेखि प्रत्येक वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । सोही घुम्ती शिविरमार्फत मेची आँखा अस्पतालकै प्राविधिक सहयोगमा प्रत्येक वडामा छनोट भएका मोतिबिन्दुका रोगीलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा केन्द्रित गरी शल्यक्रियासहित सेवा प्रवाह गरिएको नेपालीले बताउनुभयो । उहाँकाअनुसार स्वास्थ्य केन्द्रसम्म बिरामी आउनलाई गाउँपालिकाले यातायातको प्रवन्धसमेत गरेको छ । आँखाका विरामीलाई शल्यक्रियाबाहेक औषधोपचार र चश्मासमेत निःशुल्क उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै यसअघि प्रत्येक वडामा सञ्चालित एकीकृत घुम्ती शिविरमा गाउँपालिकाले व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा, बैंक खाता सञ्चालनसम्बन्धी सेवा, व्यवसाय दर्ता तथा नवीकरणका सेवा प्रदान गरेको थियो । यसैगरी गाउँपालिका तथा वडाबाट सञ्चालन भएका योजनाको प्राविधिक मूल्याङ्कन, सम्झौता र अनुगमनजस्ता सेवा प्रवाह भएका थिए । शिविर मङ्गलबार सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोले जानकारी दिनुभयो ।