• १६ वैशाख २०८१, आइतबार

अमेन्डाको सङ्घर्ष

blog

घटना सन् २०१९, मे महिनाको हो । जब लगभग पाँच किलोमिटरको पदयात्रा (हाइकिङ) मा बाटो बिर्संदा अमेन्डा इलरलाई हवाईमा रहेको माउईको जङ्गल अत्यन्त कष्टप्रद जीवन सङ्घर्षमा परिणत हुन पुग्यो । अमेन्डाले आफूसँग खाना, पानी, मोबाइल फोन केही पनि लिएर गएकी थिइनन् किनभने उनी छोटो दूरीमा हिँडेर फर्कने योजना बनाएर जङ्गल छिरेकी थिइन् ।

हिँड्दै जाँदा अमेन्डाले बाटो बिर्सिइन् र जति कोसिस गर्दा पनि फर्किन सकिनन् । जति जति उनले कोसिस गरिन् उनी झन् झन् अनकन्टार जङ्गलमा हराउन थालिन् । १७ दिनसम्म अमेन्डाले जङ्गलमा जीवनका लागि सङ्घर्ष गर्नुपर्‍यो ।

३५ वर्षीया अमेन्डा फिजियोथेरापी चिकित्सक हुन् । आफ्नो अन्तर्मनले निर्देशित हुने गजबको खुबी भएकी अमेन्डा त्यस मनको अभिव्यक्तिले गर्दा पदयात्रामा गएकी थिइन् तर दुर्भाग्यले उनी फर्केर आफ्नो कारमा आउन सकिनन् । आफ्ना हरेक कदमले उनी जङ्गलभित्र हराउँदै गइन् । अमेन्डाको जीवन सङ्घर्षलाई हामीले मात्र शारीरिक चुनौतीका रूपमा मात्र बुझ्नु हुँदैन, १७ दिनसम्म अनकन्टार जङ्गलमा खानापानीबिना एक्लै सङ्घर्ष गर्न मानसिक रूपमा समेत बलियो हुनु पर्छ । उनले आफ्ना हरेक कदमलाई सकारात्मक रूपमा लिइन् र एक दिन अवश्य आफ्नो उद्धार हुने विश्वासमा रहिन् । उनले हरेश खाइनन् ।

उनी भन्छिन्, “हरेक कदममा मैले जीवन देखेँ ।” यस्तो बलियो मानसिकताले नै उनको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेल्यो । अमेन्डाले धेरै दिनसम्म अन्तर्आत्माको कुरा सुन्ने र धैर्य राखेर आफूलाई जीवित राखिन् । उनी हराएको खबर फैलिएपछि वरिपरिका समुदाय र सुरक्षा निकायले व्यापक स्तरमा खोजी कार्य थाले । संसारमा यसको चर्चा भयो । घनघोर जङ्गललाई हेलिकोप्टरबाट हेरियो, स्वयंसेवीहरूले रुखमा चढेर हेरे, आवाज दिइयो तर अमेन्डा फेला परिनन् । चौतर्फी प्रयास भइरहँदा एक दिन अमेन्डा नजरमा आइन् । खोजी कार्यमा जुटेको एउटा हेलिकोप्टरबाट मे २४ मा एक दुरस्थ कन्दरामा अमेन्डा देखिइन् । उनलाई चोट लागेको थियो, राम्रोसँग खान पाएकी थिइनन् तर पनि उनी होसमै थिइन् ।

जङ्गलमा जीवन सङ्घर्ष गर्दा अमेन्डाले जङ्गली बयर खाने, खोलाको पानी पिउने र सुरक्षित स्थान खोजेर पातमा सुत्ने गर्थिन् । 

– युवामञ्च