• १२ साउन २०८१, शनिबार

खोलामाथि बसेको बस्ती : नगरपालिकामा बन्द, महानगरमा खुला

blog

बुढानीलकण्ठ नगरपालिकातर्फ खोला थुन्ने गरी फेरि पक्की बक्स कल्भर्ट बनाइँदै (बायाँ) । काठमाडौँ महानगरपालिकातर्फ भने गत साउनमा खोलिएको खोला खुला आकाशमुनि बग्दै ।

काठमाडौँ, चैत ४ गते । समान हैसियतका सरकार र सङ्घीय सरकारका निकायबिच समन्वय नहुँदा विकास निर्माणमा कस्तो असर पर्छ भन्ने उदाहरण काठमाडौँ जिल्लाको यज्ञमती र चखुँचाखोलाको लथालिङ्ग चालाले देखाएको छ । सङ्घीय राजधानीको काठमाडौँ जिल्लाभित्रका दुई स्थानीय तहबिच जुँघाको लडाइँ हुँदा यज्ञमती र चखुँचाखोला एकातिर खोलिँदै छन् भने अर्कातिर पुरिँदै छन् ।

भूमाफियाले अतिक्रमण गरेर बस्ती विस्तार गरेको यज्ञमती र चखुँचाखोलामा बुढानीलकण्ठ नगरपालिकातर्फ खोलालाई थुन्ने गरी फेरि पक्की बक्स कल्भर्ट बनाउने कार्य तीव्र पारिएको छ । तर काठमाडौँ महानगरपालिकातर्फ भने गत साउनमा खोलिएको खोला खुला आकाशमुनि नै बग्दै छ । 

स्थानीय सरकारबिचको समन्वयको अभावमा काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलामा बुढानीलकण्ठतर्फ एक हजार ३६५ मिटरको कल्भर्ट निर्माण भइरहेको छ ।

स्थानीयको विरोध हुँदाहुँदै सङ्घीय सरकारको सहरी विकास मन्त्रालय मातहतको काठमाडौँ उपत्यका विकास प्राधिकरणले खोलामा पक्की कल्भर्ट निर्माण गरेको हो । ठेकेदार कम्पनी हाई हिमालय जेभीले करिब ९५० मिटर कल्भर्ट निर्माण गरिसकेको छ । कपन क्षेत्रमा डुबानको प्रताडना बेहोरिरहेका स्थानीयवासी कल्भर्ट निर्माणसँगै अर्को जोखिममा पार्ने गरी यज्ञमती र चखुँचाखोला पुगेर कल्भर्ट बनाइएको छ । 

बुढानीलकण्ठतर्फ आनीगुम्बादेखि यज्ञमती र चखुँचाखोलाको सङ्गमस्थल मिलनचोकसम्म कल्भर्ट निर्माण भइरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोलासम्मै कल्भर्ट निर्माण ठेक्का लिएको थियो । तर काठमाडौँ महानगरपालिकाले साउन २६ गते धोबीखोलादेखि मिलनचोकसम्म चखुँचाखोला पुरानै स्वरूपमा फर्काउन खुला गरिएको थियो । 

काठमाडौँ महानगर–६ का वडाध्यक्ष भुवन लामाले चखुँचाखोला पुरेर राखिएका ह्युमपाइप हटाएर खोलाकै स्वरूप दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चखुँचाखोला पुर्ने काम गलत थियो, त्यसैले हामीले खोलालाई पुरानै स्वरूपमा फर्काएका हौँ, पानीको स्रोत र प्रकृतिमाथि गम्भीर खेलवाड गर्नु हुँदैन भनेर नै खोला कायम गरिएको हो ।” बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थाले पनि प्राधिकरणले कल्भर्ट निर्माण नरोकेपछि बुढानीलकण्ठ–१०, ११ र १२ मा खोला पुर्ने कार्य चलिरहेको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यज्ञमती र चखुँचाखोलामा कल्भर्ट बनाउनु अहिलेको बाध्यता रहेको दाबी गर्नुभयो ।

प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त प्रकाश अर्यालले स्थानीयवासीको माग अनुरूप पक्की कल्भर्ट निर्माण गरिएको बताउनुभयो । उहाँको यज्ञमती र चखुँचाखोला नै पुरेर बक्स कल्भर्ट निर्माण गर्नु वैज्ञानिक नहुने भए पनि स्थानीयवासीको माग र पहिल्यै कल्भर्ट बनाउने ठेक्का लगाएको हुँदाले रोक्न नसकिएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “९५० मिटर कल्भर्ट निर्माण भइसकेको छ । राज्यको करोडौँ बजेट खर्च भइसकेको छ । त्यसैले माथिल्लो भागमा रोक्न सकिँदैन । तर मिलनचोकदेखि धोबीखोलासम्म कल्भर्ट निर्माण गरिँदैन । भविष्यमा खोलालाई साबिककै स्वरूपमा कसरी फर्काउने भन्ने चाहिँ बेलैमा ध्यान दिनु पर्छ ।”

काठमाडौँ महानगरपालिकाले चखुँचाखोला खोलेपछि प्राधिकरणले एक हजार १०० मिटर कल्भर्ट निर्माण रोकेको हो । तर आयुक्त अर्यालले खोलाको दुईतर्फी किनार मिचेर घर निर्माण भइसकेकाले कल्भर्ट निर्माणको विकल्पमा प्राधिकरण पुगेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मिलनचोकदेखि धोबीखोला मिसिने ठाउँसम्म खोलामा कल्भर्ट बनाउने आयोजना त्यागौँ, त्यहाँ खोला खुला नै रहन्छ । तर यज्ञमती खोलातर्फको काममा अहिले अर्को विकल्पमा जान सक्ने स्थिति रहेन ।”

खोला पुर्न २८ करोड

प्राधिकरणले यज्ञमती खोला छोपेर कल्भर्ट निर्माण गर्न २८ करोड ७४ लाख ३९ हजार ९५४ रुपियाँ खर्च गरिरहेको छ । प्राधिकरणले ललितपुरको बालकुमारीमा कार्यालय रहेको हाई हिमालय पिआर जेभीलाई २०७८ जेठ ६ गते ठेक्का दिएको हो । 

बुढानीलकण्ठ नगरका प्रमुख अधिकारीले कल्भर्ट निर्माण सँगसँगै भूमिगत पानी पुनः प्राप्ति (रिचार्ज) का लागि दुई करोड रुपियाँ जति बजेट व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कल्भर्ट निर्माण गरेपछि भूमिगत पानी जोगाउन पनि रिचार्ज वेल निर्माण गरिने छ ।”

भयावह हुन सक्छ कपन

यज्ञमती र चखुँचाखोलाको अध्ययन र विशेष गरी जलस्रोत क्षेत्रका विज्ञ एवं पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले यज्ञमती खोलामा कल्भर्ट निर्माण कार्य नरोकिए त्यस क्षेत्रमा पानीको सङ्कट र बाढीको बबन्डर भयावह हुने चेतावनी दिनुभएको छ । उहाँले बर्खामा पानी पर्दा कति पानी बग्छ, बहाव क्षेत्र कति हुनु पर्छ र पानीको बहाव क्षमताभन्दा बढी आएमा त्यसको निकास के हुन्छ भन्ने विषयमा अध्ययन नगरी कल्भर्ट निर्माण हुँदा स्थिति भयावह हुने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “यज्ञमती र चखुँचाखोला पुरेर कल्भर्ट निर्माण गर्नु नै गलत हो, अर्को कुरा अहिले जलवायु परिवर्तनको असरले पानी कहिले पर्दैन नपर्ने, परेपछि भीषण बाढी आउने हुन्छ, त्यसैले कल्भर्टमा नअटेको पानीको निकास रोकिँदा खोला मिचेर बनाएका घर एउटै नरहने अवस्था आउँछ । यो कुरा क्लियर छ ।” तर नगर प्रमुख अधिकारीले यज्ञमती खोलामा पानीको बहाव अनुमान गरेरै कल्भर्ट निर्माण गरेको दाबी गर्नुभयो । तर कसरी गर्नुभयो, विधि र प्रक्रिया र कहिले गर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिन सक्नुभएन ।