मध्यनेपाल नगरपालिकाको प्रमुखमा पुनः पाण्डे विजयी
मध्यनेपाल नगरपालिकाको प्रमुखमा निर्वाचित प्रमुख रमेशकुमार पाण्डे र उपप्रमुखमा निर्वाचित सीता गुरुङ
पाल्पाको बगनासकालीमा एमालेबाट चिदी विजयी
पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ६ हजार ४ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरेर उपविजेता हुनुभयो ।
जैमिनी नगरपालिकामा जनमोर्चा विजयी
बागलुङको जैमिनी नगरपालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका उम्मेदवार नरबहादुर थापा विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्मा विजयी हुनुभएको छ ।
बागलुङ नगरपालिकामा गठबन्धन विजयी
बागलुङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।
पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।
नपा र गापाको परिणाम आउँदै,पोखरा महानगरको मतगणनामा ढिलाइ
पोखरा महानगरपालिकाको मतगणना शनिबारदेखि निरन्तर चलिरहेको छ । यहाँका ३३ वडामध्ये अहिलेसम्म सातवटा वडाको अन्तिम परिणाम आइसकेको छ । पोखरामा एक लाख ४३ हजार २१३ मत खसेको थियो । अहिलेसम्म २३ हजार हाराहारी मतगणना भएको छ ।
तानसेनको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी उम्मेदवार विजयी
रेखीराम रानापाल्पा, जेठ ३ गते । पाल्पाको सदरमुकाम तानसेनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबट तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी हुनुभएको हो । श्रेष्ठले ११ हजार २ सय ७३ र सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । एमालेबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ र उपप्रमुखका उम्मेदवार शशी श्रेष्ठले १० हजार १ सय ५१ मत ल्याउनुभएको छ । तानसेनमा नेपाली काङ्ग्रेसले वडा नं. १, २, ३, ४, ६, ७, ११ र १२ वडामा जितेको छ । यस्तै माओवादीका उम्मेदवारले तानसेनको वडा नं. ५ र १३ वडा जितेको छ । एमालेले भने वडा नं. ८, ९, १० र १४ जितेको छ । बैशाख ३० गते रातिदेखि सुरु भएको मतगणनाको काम मङ्गलबार बेलुकी मात्रै सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
अमरराज नहर्की तनहुँ, जेठ ३ गते । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै नेकपा (एमाले) ले जितेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो । एमालेका होमबहादुर थापाले ७९७ मतान्तरणले नेपाली काँग्रेसका गङ्गा कुमाललाई पराजित गर्नुभयो । थापाले चार हजार ३३१ मत प्राप्त गर्नुभयो भने कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार चारसय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । काङग्रेस र एकीकृत समाजवादीको गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार सातसय ४७ मत प्राप्त गर्नुभएको थियो । घिरिङ गाउँपालिकाको ५ वटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसबाट १ को वडाध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गर्नुभएको छ । एमालेबाट २ को वडाध्यक्षमा नरबहादुर थापा, ३ को वडाध्यक्षमा तहलसिं थापा र ४ को वडाध्यक्षमा भिमबहादुर कुमालले विजय हासिल गर्नुभएको छ । यसअघि २०७४ को स्थानीय तहमा पनि एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।
भिमाद नगरपालिका प्रमुख तथा उपप्रमुखमा एमाले विजयी
अमरराज नहर्की तनहुँ, जेठ ३ गते । नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजबादी) को गठबन्धनलाई पाराजित गर्दै भिमादमा नगरपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको छ । सो नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी हुनुभयो । सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत पाउनुभयो । यस्तै, उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी हुनुभयो । खनाल यसअघि पनि यस नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । खनालको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २०५ मत पाउनुभयो । भिमाद नगरपालिकाको वडा २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काँग्र्रेसले भिमाद–१, ४, ५, ६ जितेको छ । तनहुँको कूल जम्मा २४ हजार ८८४ मतदाता रहेको भिमाद नगरपालिकामा १६ हजार १४९ मत खसेको थियो । भिमादमा काँग्रेस, नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । काँगेसले उपप्रमुख र समाजवादीले प्रमुख पदमा उम्मेदवारी दिएको थियो । भिमाद नगरपालिका यसअघिको २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुख तथा उपप्रमुख दुवै एमालेले जितेको थियो ।