• ५ जेठ २०८१, शनिबार

अधिकांश स्थानीय तहमा गठबन्धन सफल

blog

बागलुङ नगरपालिकामा गठबन्धनले निकालेको विजय ¥याली । तस्बिर : गोरखापत्र

नवीन शिशिर विक 

बागलुङ, जेठ ४ गते । स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलीय गठबन्धन अधिकांश स्थानीय तहमा सफल भएको छ । जिल्लाको १० वटा स्थानीय तह र ८५ वटा वडामध्ये अधिकांश पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् । 

मतगणना सम्पन्न भएका नौ स्थानीय तहमा आठ वटामा गठबन्धन र एक स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले बागलुङ नगरपालिका (बसन्त कुमार श्रेष्ठ), काठेखोला गाउँपालिका (राजु थापा), गलकोट नगरपालिका (भरत शर्मा गैरे), तमानखोला गाउँपालिका (जोकलाल बुढा) र निसीखोला गाउँपालिका (सूर्यबहादुर घर्ती) प्रमुख पदमा जीत हासिल गरेका छन् । 

नेकपा (माओवादी केन्द्र) ले ताराखोला गाउँपालिका (धनबहादुर विक), राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका (नरबहादुर थापा) र बरेङ गाउँपालिका (कृष्ण शर्मा) प्रमुखमा  जितेको छ । नेकपा एमालेले ढोरपाटन नगरपालिका प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली विजयी हुनुभएको छ । गठबन्धनको भागबण्डा अनुसार ढोरपाटन नगरपालिका नेकपा (माओवादी केन्द्र) को भागमा परेको थियो । 

मतगणना जारी रहेको बडिगाड गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवार एक हजार बढी मतको अग्रता कायम छ । पहिलो स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले जितेको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका गुमाएको छ । राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर जैमिनी नगरपालिका थप गरेको छ । 

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पहिलो निर्वाचनमा गुमाएको सत्ता नेपाली काँग्रेसले प्राप्त गरेको छ । अधिकांश स्थानीय तहमा पनि गठबन्धन सफल भएको छ । नेपाली काँग्रेसले बागलुङ नगरपालिकामा ३० वर्षपछि आफ्नो नेतृत्व स्थापित गरेको छ । यसअघि सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालले निरन्तर जित्दै आएको थियो ।