• ५ जेठ २०८१, शनिबार

सीमानाका ७२ घण्टाका लागि बन्द

blog

बन्द गरिएको नाका भण्टाबारी । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख २३ गते । भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । 

नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरेको जनाएको छ ।

सुनसरी जिल्लासँग जोडिएका सीमानाका कोशी गाउँपालिकाको कोशी ब्यारेज, भण्टाबारी, लाही, कुम्याही, लौकही, श्रीपुर, हरिनगर गाउँपालिकाको घुस्की, वसन्तपुर, भाेक्राहा नरसिंहको उल्टी, नरसिंह, देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, साहेबगञ्जलगायत नाका बन्द गरिएको हो ।

नेपाली सीमानाकासँग जोडिएको भारतमा वैशाख २५ गते लोकसभा निर्वाचन हुने भएकाले बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवत–जावत निषेध गरिएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले दिनुभएको जानकारीअनुसार आइतबार साँझ ६ बजे बन्द भएका ती नाकाहरु वैशाख २५ गते राति १२ बजेपछि मात्र खुल्ने बताइएको छ ।  

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार भारतको सुपौल जिल्ला र सुनसरी जिल्लासँग सीमा जोडिएकाले बन्द अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आवत–जावत बन्द गरिएको छ । उहाँले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिनुभयो । 


खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने बिगतदेखिकै प्रचलन रहेको छ । नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमा नाका बन्द गर्नेगरेको छ । चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाइएको छ ।