• १० वैशाख २०८२, बुधबार

सामुदायिक विद्यालय सुचारु गर्न तीन पालिकाको आग्रह

blog

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख १० गते । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । बिरुवा, हरिनाश गाउँपालिका र गल्याङ नगरपालिकाले विद्यालयहरूलाई भर्ना तथा पठनपाठन लगायतका सम्पूर्ण क्रियाकलाप गर्न आग्रह गरेका हुन् । 

शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना सञ्चालन, पठनपाठनमा बाधा परेको भनि अभिभावक तथा सरोकारवालाहरूले गुनासो गरेको भन्दै बिरुवा गाउँपालिकाले भर्ना तथा पठनपाठन लगायतका सम्पूर्ण क्रियाकलाप गर्न आग्रह गरेको हो । 

गाउँपालिका अध्यक्ष सूर्य कुँवरले बुधबारबाट खोल्न आग्रह गरेको र ३३ मध्ये ३१ खुलेको बताउँदै दुई विद्यालय समन्वय भइरहेको बताउनुभयो । यस्तै गल्याङ नगरपालिकाले पनि वैशाख १४ गतेबाट पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । कार्यपालिकाको बैठक र नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार शिक्षक आन्दोलनका जायज मागहरूप्रति ध्यानार्कषण भएको जनाएको छ । 

नयाँ शैक्षिक सत्र सुचारु हुँदा पनि नियमित पठनपाठन सुरु नहुँदा विद्यार्थी, अभिभावक र दिर्घकालिन रूपमा समाजमा नकरात्मक प्रभाव पार्ने भन्दै नगरले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षालाई मुख्य प्राथामिकतामा राखेको अवस्थामा यस्तो गतिविधिले उक्त प्राथामिकताले पूर्णता नपाउने भएकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । 

त्यस्तै हरिनास गाउँपालिकाले पनि विद्यालय सञ्चालन गरी पठनपाठन गराउन आग्रह गरेको छ । पालिका अध्यक्ष खिमनारायण मानन्धरद्वारा जारी पत्रमा विद्यालय खोली पठनपाठन सुचारु गर्न आग्रह गर्दै गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरूको हकमा विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने भनिएको छ ।