• १० वैशाख २०८२, बुधबार

कश्मीर हमलामा एक नेपालीकाे मृत्यु

blog

आतङ्कवादी हमलामा परेर मृत्यु भएका सुदिप न्यौपाने ।

छविलाल पाण्डे 

बुटवल, वैशाख १० गते । बुटवल उपमहानगरपालिका-१४ बेलभरिया घर भई बुटवल-११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मु-कश्मीरकाे आतङ्कवादी हमलामा परी मृत्यु भएको छ । 

सुदिपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु-कश्मीर घुम्न गएका थिए । 

बुटवल उपमहानगरपालिका-१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले आतङ्कवादीको आक्रमणमा सुदिपको मृत्यु भएको बताउँदै शव आजै साँझसम्म काठमाडौं ल्याउने तयारी रहेको जानकारी दिनुभयो । उहाँले सुदिप आफ्नो माईलो बुवाको नाती रहेको पुष्टी गर्दै सुदिपको आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित काश्मीर गएको बताउनुभयो । 

जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका हुन् । सुदिप घरको एक्लो छोरा र अविवाहित हुन् । सुदिप धरानमा 'पब्लिक हेल्थ' विषय पढ्दै गरेको बताइएको छ । उहाँसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुसल रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । 

यसैगरी बुटवल-१४ बेलभरियाका स्थानीयले सुदिपको आतङ्कवादी आक्रमणमा परि मृत्यु भएको सुनेपछि भावविह्वल भएको बताउनुभयाे । स्थानीय जगन्नाथ पौडेलले सुदिप सानैबाट यही बसेको र पछि बसाई सरेर बुटवलको कालिकानगर गएको बताउँदै घटना सुनेपछि आफूहरु शोकका परेको बताउनुभयो । 

सुदिपका बुबा ध्रुव न्यौपाने रुपन्देहीको सौरहिया विद्यालयमा अध्यापनरत हुनुहुन्छ । आमा र बुवाबिच सम्बन्धविच्छेद भएपछि सुदिप आमासँग बुटवल-११ कालिकानगरमा बस्दै आएका थिए । 

बुटवल-१४ का वडा सदस्य रामप्रसाद पराजुलीले सुदिपको भारतको कश्मीरमा आतङ्कवादी हमलामा परि मृत्यु भएको सुन्दा बेलभरिया गाउँ नै शोकमा डुबेकाे बताउनुभयो । उहाँले सुदिपको बसाई बुटवल-११ कालिकानगरमा रहेपनि घरजग्गा सबै बुटवल १४ बेलभरियामा रहेको जानकारि दिनुभयाे ।

यस्तै, स्थानीय मैया पराजुलीले सुदिप अत्यन्त मिलनसार रहेको बताउँदै घटना सुनेपछि गाउँ नै शाेकमा परेकाे बताउनुभयो ।