रेखीराम राना
तानसेन, वैशाख ९ गते । पाल्पाका सरकारी अस्पतालहरूमा रेविजविरुद्धको खोप नहुँदा सेवाग्राही मर्कामा परेका छन् । जिल्लास्थित पाल्पा अस्पताल, रामपुर अस्पताल तथा विभिन्न स्वास्थ्य केन्द्रहरूमा रेविजविरुद्धको खोप नहुँदा सेवाग्राही फर्कन बाध्य भएका छन् ।
पछिल्लो समय कुकुरको टोकाइबाट घाइते हुने मानिसको सङ्ख्या बढेपनि रेविजविरुद्धको खोप नहुँदा बिरामी फर्काउन बाध्य भएको पाल्पा अस्पतालले जनाएको छ । पाल्पा अस्पतालका लागि आएको दुई सय रेविजविरुद्धको खोप सकिएपछि बिरामीलाई सेवा दिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले बताउनुभयो । कुकुरले टोकेका बिरामी बढ्दा कोटाभन्दा बढी खोप आउँदा पनि अस्पताललाई अपुग भएको उहाँले बताउनुभयो ।
सरकारी अस्पतालमा रेविजविरुद्धको खोप नपाउँदा कुकुरको टोकाइबाट घाइते भएका बिरामी निजी स्वास्थ्य संस्थामा पुगेका छन् । दुई महिनादेखि नै पाल्पाका सरकारी अस्पतालहरूमा रेविजविरुद्धको खोप नभएको अस्पतालहरूले जनाएका छन् ।
रेविज बिरुद्धको खोप नहुँदा सरकारी अस्पतालमा आएका दैनिक पाँचभन्दा बढी बिरामी सेवा नलिइ फर्कन बाध्य भएका छन् । सरकारी अस्पतालमा निःशुल्क खोप पाइन्छ भनेर आए पनि सेवा नपाएपछि निजी मेडिकलमा पुगेको रामपुर–६, का स्थानीय बासिन्दा रनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रामपुर अस्पतालमा निःशुल्क खोप पाइन्छ भनेर हतार–हतार आइयो खोप छैन भनेपछि निजी अस्पतालमा पुगेर आठ सय रुपियाँ खर्च गरेर खोप लगाइयो ।’’
यसैबिच लुम्विनी प्रदेश सरकारले रेविजविरुद्धको खोप सङ्घीय सरकारबाट उपलब्ध नभएको भन्दै जिल्लास्थित सबै अस्पताललाई खोप खरिद गरेर सेवा सुचारु गर्न अनुरोध गरेको छ । मन्त्रालयका अनुसार केन्द्रबाट खोप प्राप्त नहुँदा प्रदेशभरका सरकारी अस्पतालहरूमा खोप अभाव रहेको छ ।
अस्पताल विकास समितिले रेविजविरुद्धको खोप खरिद गरेर निःशुल्क रुपमा सेवा प्रदान गर्न लुम्बिनी स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले आग्रह गर्नुभएको छ । उहाँले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा रेविज बिरुद्धको खोप नियमित उपलब्ध नहुँदासम्म अस्पताल विकास समितिको निर्णय अनुसार खोप खरिद गरेर सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो ।