चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १० गते। स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको मोटरेवल पुल (मोटर गुड्ने पुल) को कामलाई तीब्रता दिइएको छ। ठेक्का लागेको सात वर्ष बितिसक्दा पनि पुल निर्माणमा ध्यान नदिएको निर्माण कम्पनीले भर्खरैदेखि कामलाई तीब्रता दिएको हो।
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरको आङ्बुङ र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिन जोड्नेगरी तमोर नदीको लिम्बुनीमा मोटरेवल पुल निर्माण गर्न सुरु गरिएको हो। उक्त पुल निर्माणको जिम्मा लागेको सात वर्ष पुरा हुँदासमेत २० प्रतिशत पनि काममा प्रगति नभएपछि आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले चासो राख्न थाल्नुभएको थियो। अध्यक्ष पोमुले मोटरेवल पुल निर्माण गर्न ढिलाई गरिएकोमा निर्माण कम्पनी र नियमक निकायप्रति खबरदारी गर्नुभएको थियो।
उहाँको निरन्तरको खबरदारी अर्थात पुल निर्माण गराउने सन्दर्भमा ध्यानाकर्षण, दबाब र पहलसँगै पछिल्लो पटक निर्माण कम्पनीविरुद्ध आक्रोस पोख्दै कानुनी प्रक्रियामा गएर कारबाही गर्ने चेतावनीपछि निर्माण काम सुरु गरिएको छ। पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी एमएस सपना याक्थुङ जेभीविरुद्ध कानुनी लडाइँमा जाने अध्यक्ष पोमुले चेतावनी दिनुभएको थियो।
उहाँले नियमक निकाय तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनामा पनि निर्माण कम्पनीलाई तत्काल काममा फर्काउन र नभए ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न लिखित आग्रह गर्ने तयारी गर्नुभएको थियो। सडक योजनामा मौखिक रुपमा भने पुल निर्माणमा गरिएको बेवास्ताप्रति पटक–पटक ध्यानाकर्षण गराउनुभएको थियो। सोही स्थानीय सरकारका तर्फबाट अध्यक्ष पोमुले गर्नुभएको निरन्तरको दबाबपछि निर्माण कम्पनीले काम सुरु गरेको बताइएको छ।
पुल निर्माणमा बेवास्ता गरिएकोप्रति विगतदेखि नै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरु, उद्योगी व्यवसायी लगायतका सरोकारवालाले पटक–पटक स्थलगत अनुगमन र निरीक्षण गर्दै मोटरेवल पुलबारे चासो राख्दै आउनुभएको थियो। निर्माण कम्पनीका प्रतिनिधि तेजबहादुर कुरुम्बाङलाई तत्काल पुल निर्माणको काम गर्न सरोकारवालाले आग्रह गर्ने गरेका थिए। यसरी चौतर्फी दबाबपछि निर्माणको कामलाई गति दिएको पाइएको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमुका स्वकीय सचिव लेखनाथ भट्टराईको भनाइ छ।
भट्टराईका अनुसार पाँचथरतर्फ मोटरेवल पुलको जिप निर्माणको काम अहिले धमाधम भइरहेको छ। मङ्गलबार पुल निर्माणस्थल पुग्दा ढलान र बेस निर्माणसहित जिप बनाउने काम भइरहेको पाइएको उहाँले बताउनुभयो। यता पुल निर्माणको कामलाई तीब्रता दिएको पाइए पनि कामको निरन्तरता हुनेमा भने स्थानीयवासीले आशङ्का व्यक्त गरेका छन्।
सात वर्षभन्दा लामो समयावधिमा निर्माण कम्पनीले दुई–चार दिन काम गर्ने झैं गरेर छोड्दै आएकाले स्थाीयले आशङ्का व्यक्त गरेका हुन्। निर्माण कम्पनीले २०७४ फागुन पहिलो साता भ्याट र पिएससहित २२ करोड पाँच लाख ७७ हजार ८९० रूपियाँ बजेटमा पुल निर्माण गर्ने जिम्मा पाएको थियो। अहिले पुल निर्माण गर्न ठेक्का सम्झौता भएको सात वर्ष दुई महिना बितिसकेको छ।
यता तमोर नदीको उक्त पुल निर्माण भएकै कारण नेपाल, भारत र चीन जोड्ने छोटो सडक मार्गको रूपमा रहेको तमोर कोरिडोरअन्तर्गत पाँचथरको पञ्चमी र ताप्लेजुङको निघुरादिन–फुलबारी खण्डमा यातायात सञ्चालन हुन सकेको छैन। सो पुल निर्माण भएमा भने भारतको सिमाना जोगवनी रानी विराटनगर हुँदै धनकुटा मुलघाट, पाँचथरको माझिटार, ताप्लेजुङको दोभान हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपतालासम्म यातायात सञ्चालन हुने छ।