• ५ जेठ २०८१, शनिबार

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, वैशाख २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार सोमबारभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिने प्रयोजनका लागि संसद्को बैठक आइतबार दिउँसो ३ बजे बोलाइएको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले ह्विप जारी गरेका छन् । एमाले र माओवादी केन्द्रका संसदीय दलका बैठकले यस्तो निर्णय लिएका हुन् । 

आइतबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची बनेको छ । अधिकारी नेतृत्वको सरकारलाई एमालेका २२, माओवादी केन्द्रका सभामुखबाहेक सात र स्वतन्त्र एक गरी ३० संसद्को समर्थन जुट्ने देखिन्छ । 

६० सदस्यीय प्रदेशसभामा बहुमत ३० कि ३१ भनी दलहरूबिच विवाद छ । सभामुखसहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त अधिकारीविरुद्ध निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च जानुभएको थियो । सर्वोच्चले वैशाख १७ गते पाण्डेको रिट खारेज गर्दै सरकारलाई विश्वासको मत लिने बाटो खोलिदिएको छ । 

सर्वोच्चको संक्षिप्त आदेशमा सभामुखको पद तटस्थ रहने जनाउँदै ३० सांसदको समर्थन भए पुग्ने उल्लेख छ । सत्तारुढ दलहरू यथाशक्य दुई सांसद रहेको राप्रपाको साथ लिने त्यसो नभए सर्वोच्चको आदेश बमोजिम ३० सांसदलाई बहुमत मानी विश्वासको मत लिने दाउमा छन् । फैसलाकाे पूर्णपाठ आउन बाँकी छँदै विश्वासको मत लिनैपर्ने बाध्यतामा गण्डकीका मुख्यमन्त्री हुनुहुन्छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढा पुन सर्वोच्चको आदेश अनुसार प्रदेशमा सरकारसँग बहुमतको समस्या नरहेको बताउनुहुन्छ । “अदालतको व्याख्या अनुसार पनि सरकारसँग बहुमत छ, तर पनि हामी अरू दलको पनि समर्थन जुटाउन पहल गर्छौँ,” उहाँले भन्नुभयो, “संवैधानिक बाटोबाटै विश्वासको मत लिन्छौँ ।”

राप्रपाको कार्यसम्पादन समितिले यसअघि नै गण्डकीमा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । काँग्रेस संसदीय दलको बैठक भने अहिले जारी छ । । सभामुखले ३० संसद्को समर्थनलाई नै बहुमत सदर गरे काँग्रेस फेरि सर्वोच्च जाने तयारीमा छ । प्रदेशसभामा काँग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने विश्वासको मतका लागि ३१ सांसदकै समर्थन चाहिने बताउनुहुन्छ ।