काठमाडौँ, वैशाख ३१ गते । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमाको विश्वसनीयता बढाउने गरी काम गर्न बिमा कम्पनीहरूसँग आग्रह गर्नुभएको छ ।
बुधवार काठमाडौँमा नेपाल बिमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओझाले बिमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरू हटाउँदै जानुपर्ने बताउनु भयो ।
सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्त्वपूर्ण प्राथमिकता भनेको बिमाको विश्वसनीयता बढाउनु रहेको उल्लेख गर्नुभयो । दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरूको सम्बोधन गर्दै जानुपर्ने अध्यक्ष ओझाले बताउनु भयो । बिमा प्राधिकरणमा उजुरीका सङ्ख्या बढिरहेको भन्दै यसले बिमाको क्षेत्रमा विश्वसनीयतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्छ । बिमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी बिमाको विश्वसनीयता बढाउने गरी काम गर्न तयार छौँ । आजका दिनमा देखिएका कमी, कमजोरीहरू हटाउँदै जानेछौँ । सुधार नियमित प्रक्रिया हो । हाम्रो अहिलेको महत्त्वपूर्ण प्राथमिकता भनेको विश्वसनीयता बढाउने नै हो । हामीले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा जे जस्तो गुनासोहरू आउने गर्दछन् । त्यसलाई हामीले क्रमशः घटाउँदै जानुपर्ने छ ।
शून्यमा पुर्याउनुपर्नेछ । बिमा प्राधिकरणमा उजुरीका सङ्ख्या बढिरहेका छन् । त्यसले हाम्रो विश्वसनीयतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्छ । बिमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक छ ।’ अध्यक्ष ओझाले एक वर्षको बिमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनीयतामा हुनुपर्ने बताउनुभयो ।