• ५ जेठ २०८१, शनिबार

प्राविधिक शिक्षा पहिलो प्राथमिकतामाः मुख्यमन्त्री जम्कट्टेल

blog

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख २३ गते ।
प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बागमती प्रदेश सरकारले लामो प्रयासपछि विश्वविद्यालय सञ्चालनका लागि बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार यहाँ आयोजित एक कार्यक्रमका बिच बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो ।

प्रदेश शिक्षा विकास निर्देशनालयको भवनमा सम्पर्क कार्यालय उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रदेश विश्वविद्यालय स्थापना गर्न पाउने अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

उहाँले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतमा राख्ने बताउँदै शिक्षामा कोटा प्रणालीविरुद्धमा प्रदेश सरकार रहेको बताउनुभयो । ‘‘शिक्षामा आमूल परिवर्तन आवश्यक छ ।,’’ उहाँले भन्नुभयो, ‘‘शिक्षामा प्रवेश परीक्षा प्रणाली उचित होइन ।’’

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा. भिष्मकुमार भुसालले विकासको महत्त्वपूर्ण पक्षमध्ये एक प्रदेश विश्वविद्यालय भएको बताउँदै अहिलेको माग र आवश्यकताको आधारमा पाठ्क्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गरेसँगै बागमती प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि थप प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । यस अघि बागमती विश्वविद्यालयको विधान तयार भइसकेको छ ।

विधानमा प्रदेश उच्च शिक्षा ऐन २०७८ मा भएको व्यवस्था अनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज), प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरिएको छ । बागमती विश्वविद्यालयको केन्द्रीय कार्यालय हेटौँडामा रहने भएको छ ।