सोलुखुम्बुमा खुम्बुको मतपेटिका हेलिकप्टरबाट ल्याइएपछि मतगणना सुरु
सोलुखुम्बुमा खुम्बु र लिखुपिकेको मतपेटिका सदरमुकाम आउन बाँकी रहेको छ । यी दुई क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएपछि मतगणना सुरु गरिने भएको छ ।
सप्तरी क्षेत्र नम्बर एक र दुईको मतगणना सुरु
सप्तरी क्षेत्र नम्बर एक र दुईको मतगणना सुरु भएको छ । मतपेटिका सङ्कलन पश्चात् तत्कालीन सर्वदलीय बैठक बसी सहमति जुटाएर राती नै मतगणना सुरु गर्ने मुख्य निर्वाचन कार्यालयको तयारी रहे पनि सर्वदलीय बैठकले भोलि बिहानबाट गर्ने भएको सहमति अनुसार सोमबार नौ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो ।
बाँके ३ मा मतगणना सुरु, अन्य क्षेत्रमा तयारी
बाँकेको क्षेत्र नम्बर ३ मा मतगणना कार्य सोमवार बिहान सुरु भएको छ भने जिल्लाका अन्य दुई क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ ।
धनुषा– ३ को मतगणना सुरु
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । जिल्लाको क्षेत्र नं. ३ मा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनको मतगणना सोमबार बिहान ५ः३० बजेबाट सुरु भएको हो ।
गुल्मीमा मङ्गलबार पुनः मतदान
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलबार पुनः मतदान हुने भएको छ ।
बैतडीमा मतपेटिका पुर्याएर फर्कँदा जिप दुर्घटना, तीन जना प्रहरीको मृत्यु
बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
म्याग्दीमा मतपेटिका आइपुग्न अझै नौ घण्टा लाग्ने, मतगणना बेलुकीबाट
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ ।
कास्कीमा घण्टीको अग्रता
आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार कास्की प्रतिनिधि सभा २ मा नेकपा (एमाले) सूर्य चिन्हका उम्मेदवार विद्या भट्टराई १२२ र राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवार माधव कँडेलको १६२ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गर्नुभएको छ ।
झापाको– २ मा मत गणना सुरु
झापाको क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको हो । जिल्लामा पहिलो पटक यो क्षेत्रमा मतगणना सुरु भएको जनाइएको छ ।
मतपेटिका आउन ढिलाइले काभ्रेपलान्चोकको मतगणना दिउँसोबाट सुरु हुने
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएसँगै काभ्रेपलान्चोकको मतगणनाको काम दिउँसोबाट सुरु हुने भएको छ । जिल्लाको प्रतिनिधि सभा १ को मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आउन बाँकी रहेकोले मतगणना कार्य ढिला हुने भएको छ ।
काठमाडौँको क्षेत्र नं. ७ मा मतगणना सुरु: अन्य क्षेत्रमा सुरु हुँदै
काठमाडौँ जिल्लाको क्षेत्र नं. ७ को मतगणना कार्य अहिले बिहान ५ बजेबाट सुरु भएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौँ क्षेत्र नं. ७ को मतगणना कार्य सुरु भएको र अन्य निर्वाचन क्षेत्रको पनि मतगणना गर्ने कार्यको सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
चितवनमा मतगणना नाैँ बजेदेखि सुरु
आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु हुने भएको छ । चितवनको तिनै क्षेत्रमा एकै पटक मत गणना सुरु गर्न लागिएको हो ।
सुनसरी र मोरङमा सर्वदलीय बैठक बस्दै, सहमति जुटाएर तत्काल गणना सुरु हुने
सुनसरीका चार निर्वाचन क्षेत्रमा अहिले बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राति अबेरसम्म मतपेटिका सङ्कलन कार्य भएकोले अहिले बिहान सर्वदलीय बैठकमा सहमति गरेर मतगणना सुरु गरिने बताउनु भयो ।
सरकार गठनका आ–आफ्नै दाबी
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुभएको छ। उहाँले आइतबार बिहान १० बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो। उहाँकी पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
मतदान गर्न उमेरले छेकेन
यस पटकको निर्वाचनमा ज्येष्ठ नागरिक पनि उत्साहसाथ मतदानमा सहभागी हुनुभएको छ । सय वर्षभन्दा बढी उमेर भइसके पनि केहीले आफैँ निर्वाचनमा सहभागिता जनाउनुभएको छ । केहीले आफन्तको सहयोगमा मतदान केन्द्रसम्म पुगेर मतदान गर्नुभएको छ । इलाममा ११५ वर्षीय मनबहादुर राईले मतदान गर्नुभएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का राईले स्थानीय सिंहदेवी मावि सिकारी भञ्ज्याङको मतदान केन्द्रबाट मतदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई १९६४ सालमा साबिक एकतप्पा गाविस–५ मा जन्मनुभएको उहाँको नागरिकतामा उल्लेख छ ।
याे निर्वाचन स्थानीय तहको जस्तो उत्साह देखिएन
प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदाताको उत्साह निक्कै कम देखिएको छ । गत वैशाखको स्थानीय तहको चुनावमा केही जिल्लामा ७० प्रशितसम्म मतदान भएकोमा यस पटक कैलालीमा ६३, डडेलधुरामा ५२, बैतडीमा ६०, दार्चुलामा ६५, अछाममा ५५, कञ्चनपुर ६२ र डोटीमा ५१.९ प्रतिशतले मतदान गरेका छन् ।
अनपेक्षित कम मतदान
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले ७० प्रतिशतसम्म मत खस्ने प्रक्षेपण गरेको थियो । तर, मतदाताले भने निर्वाचन आयोगको प्रक्षेपणलाई साथ दिएनन् । निर्वाचन आयोगको प्रारम्भिक अनुमानमा ६१ प्रतिशत मत खसेको छ जुन आयोगको प्रक्षेपणभन्दा ९ प्रतिशतले कमी हो । वैशाखको स्थानीय तह निर्वाचनभन्दा पनि अहिले कम मत खसेको हो । हालैको स्थानीय तहको अन्तिम नतिजाको तुलनामा पनि सङ्घ र प्रदेशका विधायक छान्ने निर्वाचनमा मतदाताको उत्साह घटेको हो ।
विद्युतीय मतदान होस्
२०१५ मा पुख्र्यौली थलो सोलुखुम्बुमा भएको त्यो पहिलो मतदान ८२ वर्षीय दीर्घबहादुर गुुरुङ अहिले पनि झलझली सम्झनुहुन्छ । बसाइँ सरेपछि काठमाडौँ क्षेत्र नम्बर ३ को बौद्धको पानीट्याङ्की मतदान केन्द्रबाट यस पटक मतदान गर्नुभएका उहाँले अहिलेको मतदान उहिलेको भन्दा निकै व्यवस्थित भएको बताउनुहुन्छ । उहाँजस्तै उमेरले नेटो काट्दै गएका मतदाता अबका निर्वाचनहरूमा विद्युतीय मतदान गर्न पाइयोस् भन्ने चाहना राख्नुहुन्छ ।
चितवनमा मतगणनाको तयारी
चितवनमा झण्डै ६५ प्रतिशत मत झरेको छ ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभएको छ। आइतबार निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।
मतगणनास्थलमा काठमाडौंका मतपेटिका (फोटो फिचर)
काठमाडौं, मङ्सिर ४ गते । काठमाडौंका विभिन्न मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल नयाँ बानेश्वरस्थित संसद् भवनमा ल्याइएको छ । सङ्घीय संसद् भवन परिसरमा मतपेटिकाको ढुवानी र त्यहाँका गतिविधि : तस्बिर: कविन अधिकारी
६१ प्रतिशत मतदान : निर्वाचन आयोग
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ।
मतदान सकियो (फोटो फिचर)
निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ ।
सप्तरीमा करिब ६१ प्रतिशत मतदान
प्रतिनिधि तथा प्रदेश सभाका लागि आइतवार यहाँ छिटपुट घटना वाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ प्रतिशतभन्दा वढी मत खसेको छ ।