• १३ असोज २०८१, आइतबार

गुल्मीमा मङ्गलबार पुनः मतदान

blog

तम्घास, मङ्सिर ५ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलबार पुनः मतदान हुने भएको छ । 

जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका  वडा नम्बर– २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मङ्सिर ६ गते मङ्गलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।

आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको  ५५ वटा मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका एक हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।

यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो  ।

यस्तै आइतबार गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमतिपश्चात् मतदान पुनः सुचारु गरिएको थियो ।

जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Author

तिलाचन पाण्डे