• १३ असोज २०८१, आइतबार

मतपेटिका आउन ढिलाइले काभ्रेपलान्चोकको मतगणना दिउँसोबाट सुरु हुने

blog

काभ्रेपलान्चोक, मङ्सिर ५ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएसँगै काभ्रेपलान्चोकको मतगणनाको काम दिउँसोबाट सुरु हुने भएको छ । जिल्लाको प्रतिनिधि सभा १ को मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आउन बाँकी रहेकोले मतगणना कार्य ढिला हुने भएको छ । 

जिल्लाको प्रतिनिधि सभा २ को सोमबार बिहानसम्म मतपेटिका आएकोले मतपेटिका मिलाउने काम भइरहेको प्रतिनिधि सभा २ का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिनुभयो । “बिहानसम्म मतपेटिका आएकोले मतपेटिका मिलाउने काम भइरहेको छ, मतपेटिका मिलाइसकेपछि सर्वदलीय बैठक बस्नेछ” उहाँले थप्नुभयो । सहायक निर्वाचन अधिकृत दाहालले सर्वदलीय बैठक बसेपछि सोमबार दिउँसोबाट मतगणनाको काम सुरु गरिने बताउनुभयो । उहाँले मतगणनाको लागि आवश्यक सबै तयारी पुरा गरिएको बताउनुभयो । 

यसै गरी प्रतिनिधि सभा १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले निर्वाचन क्षेत्र अन्तर्गतको छ वटा मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रको मतपेटिका आएको बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण जिल्लाको खानी खोला गाउँपालिकाको वडा नम्बर १, ३ र ६ को छ वटा मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेको बताउनुभयो । उहाँले कार्यालयका आएका मतपेटिका मिलाउने काम भइरहेको बताउँदै बाँकी रहेका मतदान केन्द्रको मतपेटिका आएको दुई घण्टामा सर्वदलीय बैठक राखेर मतगणनाको काम सुरु गरिने बताउनुभयो । उहाँले सोमबार साँझसम्म मतगणना सुरु हुनसक्ने बताउनुभयो । काभ्रेपलान्चोक प्रतिनिधि सभा १ अन्तर्गत १८९ वटा मतदान केन्द्र र प्रतिनिधि सभा २ अन्तर्गत एक अस्थायी मतदान केन्द्रसहित २०१ वटा मतदान केन्द्र थिए । 

Author

केदार तिमल्सिना