• १३ असोज २०८१, आइतबार

सरकार गठनका आ–आफ्नै दाबी

blog

काठमाडौँ, मङ्सिर ५ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुभएको छ। उहाँले आइतबार बिहान १० बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो। उहाँकी पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो । 

गठबन्धनकै नेतृत्वमा सरकार

अमरगढी समाचारदाताका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचन नहुने भन्दै कतिपय तत्त्वले भ्रम फैलाइरहे पनि तोकिएको मितिमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले वाम–लोकतान्त्रिक गठबन्धनको सरकारले तोकिएको समयमा निर्वाचन गराई लोकतन्त्र र संविधानको रक्षा गरेको उल्लेख गर्दै निर्वाचनपछि देशमा समृद्धिको बाटो खुला भएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले अहिले धेरै कुरा बोल्न नमिल्ने भन्दै निर्वाचनपछि गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने बताउनुभयो। उहाँले आगामी तीन/चारवटा निर्वाचनसम्म गठबन्धन कायम रहने बताउँदै लामो समयसम्म सरकार सञ्चालन गर्न सके राजनीतिक स्थिरता कायम भई देश समृद्ध हुने प्रतिक्रिया दिनुभयो।

उहाँ २०४८ सालदेखि डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निरन्तर निर्वाचित हुँदै आउनुभएको छ र अहिले उहाँ सातौँ पटक उम्मेदवार हुनुभएको हो।

प्रधानमन्त्रीमा विवाद नगर्ने

नारायणगढ समाचारदाताका अनुसार पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुर मतदान स्थलबाट मतदान गर्नुभयो। यो चितवन निर्वाचन क्षेत्र नं. ३ हो र २०७४ सालको संसदीय निर्वाचनमा उहाँ यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उहाँ यस पटक गोरखा क्षेत्र नं. २ मा उम्मेदवार हुनुहुन्छ।

मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी अध्यक्ष प्रचण्डले निर्वाचनपछि पनि गठबन्धन कायमै रहने बताउनुभयो। उहाँले नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाउने बताउँदै प्रधानमन्त्रीका लागि आफूहरूले विवाद नगर्ने र आगामी सरकार गठनका बारेमा छलफलबाट निष्कर्ष निकाल्ने बताउनुभयो। उहाँ मतदान गरेलगत्तै गोरखा प्रस्थान गर्नुभएको थियो।

‘एमालेको नेतृत्वमा नयाँ सरकार’

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभयो। उहाँले मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेको नेतृत्वमा नयाँ सरकार निर्माण हुने र यस निर्वाचनले मुलुकलाई सकारात्मक बाटोतर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो। उहाँ झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ। 

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं. २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभयो।

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभयो। उहाँ रौतहट क्षेत्र नं. १ का उम्मेदवारसमेत हुनुहुन्छ। 

स्थायित्व प्रदान गर्न निर्वाचन महत्त्वपूर्ण

पशुपतिनगर समाचारदाताका अनुसार पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभयो। प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नं. १ बाट गठबन्धनका तर्फबाट उम्मेदवारसमेत हुनुहुन्छ। उहाँले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गठबन्धनकै नेतृत्वमा आगामी सरकार बन्ने दाबी गर्दै देशलाई स्थायित्व प्रदान गर्न निर्वाचन महत्त्वपूर्ण हुने बताउनुभयो।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ। पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे मतदान केन्द्रबाट मतदान गर्नुभयो।  परराष्ट्रमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरको त्रियुगा नगरपालिका–८, झोडास्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ। उहाँ उदयपुर क्षेत्र नं. १ मा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ।

पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभयो। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ को भारती सदन मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो।

यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। उहाँ तनहुँ क्षेत्र नं. १ का उम्मेदवार हुनुहुन्छ। 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५, विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रमा मतदान गर्नुभयो। मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा मतदान गर्नुभयो। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयूरकुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ। उहाँ काठमाडौँ क्षेत्र नं. ४ बाट उम्मेदवार हुनुहुन्छ। काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवार रहनुभएका कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। 

एमालेका महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुर–१८, बिजौरीस्थित जनता संस्कृत माविमा मतदान गर्नुभएको छ। एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्बाङले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गर्नुभएको थियो। 

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयमा, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्नुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शमशेर माध्यमिक विद्यालय गैँडाकोट–१, जौजुवामा र बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्नुभयो।