१६१ जनाले चढे मनासलु
यस वर्षको शरद ऋतु (असोज–कात्तिक)मा मनासलु हिमाल आरोहण गरेका छन् ।पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनासलुको चुचुरोमा पुगेका हुन् ।
निगम भैरहवा जान तयार
नेपाल वायुसेवा निगम अन्ततः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न तयार भएको छ। गत जेठदेखि व्यावसायिक सञ्चालनमा आएको यो विमानस्थलमा दैनिक उडान शून्य प्रायः भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको हिउँदे उडान तालिका अनुसार निगम बाध्य भएर भैरहवामा उडान भर्न तयार भएको हो।
आयात निर्यात दुवै घट्यो
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यात दुवै घटेको छ । आयात निर्यात घटेसँगै व्यापार घाटा घटे पनि राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को साउनदेखि असोज मसान्तसम्म आयात निर्यात दुवै घटेको हो । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन केही वस्तुुको आयातमा कडाइ गरेको छ ।
धान भित्र्याउने चटारो
दलका नेता, कार्यकर्ता भोट माग्न गाउँगाउँ घुमिरहेका बेला कैलालीका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याइ छ । धान पाकिसकेकाले अब पनि भित्र्याउन ढिला गर्दा क्षति हुने भएकाले किसान धान भित्र्याउन व्यस्त भएका हुन् । किसानलाई तिहारमा समेत धान भित्र्याउन धमाधम थियो । धान पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्व मान्दै धान भित्र्याउने काम गरिएको कैलारी गाउँपालिका–७ का कृषक खोजरामीदेवी चौधरीले बताउनुभयो ।
अलैँची थन्क्याउन भ्याइनभ्याइ
दशैँ, तिहारजस्ता चाडपर्व सकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । किसान यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची औल क्षेत्रमा भदौदेखि सङ्कलन गर्न सुरु गरिन्छ । लेकाली क्षेत्रमा मङ्सिर महिनासम्म सङ्कलन गर्ने गरिन्छ ।
श्रम स्वीकृति लिने बढे
कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै गत वर्षदेखि नै लयमा फर्किएको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । उक्त तथ्याङ्कमा काठमाडौँबाहिर रहेका छवटा श्रम कार्यालयबाट लिइएको पुनः श्रम स्वीकृतिको तथ्याङ्क समावेश गरिएको छैन ।
पाल्पाली ढाकाको आकर्षण बढ्दै
पाल्पाली ढाकाबाट बनेका सामग्री ‘कोसेली’ (उपहार)का रूपमा प्रयोग हुने क्रम बढेको छ । तानसेन घुम्न आउने मानिसले पाल्पाली चिनोका रूपमा आफन्तलाई ढाकाबाट बनेका चोली, पछ्यौरी, सारी, टोपी, इस्टकोट, पर्स, हाते झोला कोसेलीका रूपमा लैजाने गरेका हुन् ।
‘आर्थिक वृद्धिदर ४.२ प्रतिशत’
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने आकलन गरेको छ। आईएमएफले भर्खरै सार्वजनिक गरेको एसिया प्रसान्त क्षेत्रको यो प्रतिवेदन ‘क्षेत्रीय आर्थिक परिदृष्य’ले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आकलन गरेको छ।
डेढ लाखलाई सहुलियतपूर्ण कर्जा
आव २०७९/८० को भदौ मसान्तसम्ममा एक लाख ४७ हजार ९२६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार भदौ मसान्तसम्ममा ती ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १३ अर्ब २३ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा ६० हजार ३०२ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६७ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७९० महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब १० करोड रुपियाँ कर्जा बक्यौता रहेको छ।
खाद्य कम्पनीले तीन लाख क्विन्टल धान खरिद गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले सरकारले तोक्ने न्यूूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागेको हो। कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गरी आफ्नै मिलमा कुटाएर चामल बिक्री गर्दै आएको छ।
चाडपर्वले फलफूल महँगियो
तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ। तिहारको तुलनामा छठमा केरा महँगो भएको छ। छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शनिबार केरा प्रतिदर्जन १२० देखि १३५ रुपियाँमा कारोबार भएको छ। जब कि तिहारमा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो।
रुपन्देहीका स्टिल उद्योग बन्द
रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग बन्द भएका छन्। स्टिलको कच्चापदार्थ एमएस ब्लेड र स्पन्ज आइरन आयातमा भन्सार महसुल र अन्तःशुल्क वृद्धिले उत्पादन लागत बढाएकाले उद्योग बन्द गर्नुपरेको उद्योगीहरूले बताएका छन्।
सहकारीका पाठ्यक्रम प्रमाणीकरण अनिवार्य
अब सहकारी सङ्घ/संस्था तथा निजी क्षेत्रबाट सञ्चालित विभिन्न निकायले आफूखुसी सहकारीका तालिम तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न नपाउने भएका छन् । नियामक निकाय सहकारी विभागले सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि, २०७९ जारी गर्दै दुई दिनको प्रारम्भिक सहकारी शिक्षाबाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
पोखरामा साढे दुई करोडको फूल बिक्री हुने
तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।
सजिलो र बढी आम्दानी दिने फूल खेती
फूल खेती र व्यवसायप्रति आकर्षण बढ्दो छ । अरू खेतीभन्दा सजिलो र आम्दानी पनि बढी हुने भएकाले किसान फूल खेतीप्रति आकर्षित भएका छन् । घोडाघोडी नगरपालिका–३, जुरपानीका निर्मला भण्डारी चौधरीले पुष्प व्यवसाय सुरु गरेको दुई वर्ष मात्र भयो ।
सुनचाँदी पसलमा भीड
चाडपर्वमा सुनचाँदीको माग निकै धेरै हुन्छ, त्यसमा पनि तिहारमा बढी हुने गर्छ । तिहारमा लक्ष्मी पूजाअघिका तीन/चार दिनमा सुनचाँदीका गरगहना र सामानको माग उच्च हुने व्यवसायीले बताएका छन् । यस वर्ष सोमबार लक्ष्मीपूजा गरिँदै छ । सुनचाँदी र तामा समान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनअनुसार अहिले यी समानका पसलमा भीड लाग्ने गरेको छ ।
क्षतिपूर्ति कोष स्थापना गर्न आह्वान
एम्नेस्टी इन्टरनेसनलले दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकको क्षतिपूर्तिका लागि कोष स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको छ । विश्वकप प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहे पनि कतारमा रङ्गशाला बनाउने काममा खटिएका आप्रवासी श्रमिकमाथि भएको शोषण र दुव्र्यवहार कायमै रहेको भन्दै एम्नेस्टीले दुव्र्यवहारमा परेका श्रमिकको क्षतिपूर्तिका लागि कोषको स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको हो ।
टेलिकमको अफर
तिहार, म्हपूजा तथा छठका अवसरमा नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आरोहीको पहिलो रोजाइ मनासलु
डोरी टाँग्ने काम सकेसँगै आरोहण सुरु भएको मनासलुमा यस वर्ष सबैभन्दा बढी आकर्षण देखिएको छ । मनासलुमा गत भदौ ३० गते डोरी टाँगिएको थियो । पर्यटन विभागका अनुसार यो सिजनमा मनासलु आरोेहणका लागि ३८ समूहका ४०४ जनाले आरोहण अनुमति लिएका थिए । मनासलु आरोहणका लागि अनुमति लिनेमा ९७ महिला र ३०७ जना पुरुष छन् ।
विद्युतीय भुक्तानीको विस्तार तीव्र
नेपालमा नगदरहित कारोबार तीव्र रूपले विस्तार भइरहेको छ । सजिलो इन्टरनेट पहुँच र बढ्दो विद्युतीय साक्षरता तथा नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वित्तीय संस्थाकै प्रवद्र्धनात्मक कार्यक्रमका कारण पछिल्लो समय भुक्तानीमा मोबाइल बैङ्किङ, कनेक्ट आईपीएस, वालेट तथा क्यूआर कोडजस्ता विभिन्न विधि प्रयोग बढेको छ ।
तिहार बिदामा पेट्रोल पम्प खुला रहने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ । तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो ।
अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज
करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
उत्पादन घट्ने अनुमान
चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ ।
त्रासमा धान भित्र्याउँदै किसान
गत वर्ष दाङको लमही नगरपालिका–६, देउपुरका विष्णु पौडेलको काटेर खेतमा सुकाएको धान वर्षाले भिजेपछि खेतमै उम्रने अवस्थामा पुगेको थियो । गत साल जस्तै नहोस् भनेर उहाँले यसपालि हरियोमै धान काट्नुभयो र राम्रोसँग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो ।