• २० असोज २०८१, आइतबार

बुटवलमा रात्रिकालीन बजार

blog

बुटवल समाचारदाता

बुटवल, पुस १९ गते । बुटवलको इतिहासमा पहिलो पटक बुटवलको कालिकापथमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडकको नयाँ बसपार्कदेखि होराइजन चोकसम्मको सडकमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको हो । 

बुटवल उपमहानगरपालिकाले सो रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तत्काललाई राति ११ बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिनुभयो ।   

नगरप्रमुख पाण्डले बजारमा आउने ग्राहकलाई निःशुल्क शौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने र पार्किङका लागि बुटवल बसपार्कमा व्यवस्थापन गर्ने बताउनुभयो । नगरप्रमुख पाण्डेले अहिले सुरु गरेपछि बिस्तारै बजार सुधार गर्दै जाने उल्लेख गर्नुभयो । 

कालिकापथ सडकमा रात्रिकालीन बजार सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीले धेरै पहिलेदेखि माग गर्दै आएका थिए । 

उद्योगी व्यवसायीको मागबमोजिम आइतबार रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख पाण्डेले सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गर्नुभएको हो । 

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख सावित्रादेवी अर्यालले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । 

पर्यटन विकास परिषद् लुम्बिनीका निर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशत पर्यटक रमाइलोका लागि आउने बताउँदै रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा उनीहरूलाई आकर्षित गर्न सकिने बताउनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खस्किँदो बुटवलको बजारलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सङ्घले लामो समयदेखि परामर्श गर्दै आएको बताउँदै रात्रिकालीन बजारले बुटवलको आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्नुभयो । 

अन्तक्र्रिया कार्यक्रममा रात्रिकालीन बजार सञ्चालनसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका कार्यसमिति सदस्य तथा रात्रिकालीन बजारसम्बन्धी समितिका संयोजक प्रतीक पोखरेलले पहिलो फेजमा होटल व्यवसाय र दोस्रो फेजमा गैरखाद्य वस्तु राख्न सकिने भनाइ राख्नुभयो । 

उहाँले रात्रिकालीन बजार सञ्चालनका लागि सबैभन्दा पहिले व्यवसायी तयार हुनुपर्ने, त्यसपछि स्थानीय सरकारले वातावरण तयार गर्नुपर्ने र प्रहरी प्रशासनले शान्ति सुरक्षाको व्यवस्थालाई सहज बनाइदिनुपर्ने उल्लेख गर्नुभयो ।