• १२ असोज २०८१, शनिबार

गहुँ खेती छाडेर मकैतिर किसान

blog

जयकृष्ण यादव 

इनरुवा, पुस १९ गते । सुनसरीको रामधुनी नगरपालिका–८ का किसान दिनेश चौधरीले गहुँ खेती छाडेर मकै लगाउनुभएको छ । सोचेजस्तो र लगानीअनुसारको प्रतिफल नभएपछि चौधरीले गहुँ खेती नगरी मकै खेती लगाउनुभएको हो ।

धानको सिजनमा मलखाद, सिँचाइ अभाव भएको र उत्पादनमा पनि कमी भएको अवस्थामा अर्कोतर्फ गहुँ खेती पनि राम्रो नहुने अनुमान गर्दै गहुँ खेती त्यागेर मकै खेती थालेको उहाँको भनाइ छ ।

दुई बिघा जग्गामा गहुँ खेती गर्दै आउनुभएका सुनसरीको इनरुवा नगरपलिका–९, बबियाका किसान शम्भु यादवले सो जग्गामा अहिले मकै लगाउनुभएको छ । भोक्राहा नरसिंह गाउँपालिका–७ का किसान रामचन्द्र यादवले पनि विगतमा गहुँ खेती गर्दा खासै आम्दानी नभएकाले गहुँ लगाउने खेतमा मकै रोप्नुभएको छ । 

“मकै लगाउँदा प्रतिकट्ठामा १२ मनसम्म उत्पादन हुने र प्रतिमन १२ सय रुपियाँसम्ममा बिक्री गर्न पाएकाले मकै आकर्षक बनेको हो,” उहाँले भन्नुभयो, “गाउँघरमा केहीले गहुँ छाडेर मकै लगाएको देखेर आफूले पनि सुरु गरेको र अहिले मन प्रशन्न छ ।”

उहाँ मात्र होइन, अहिले इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका अधिकांश किसानले मकै खेती गरिरहेका छन् । 

गहुँमा एक कट्ठाका लागि एक हजार रुपियाँ लगानी गर्दा एक हजार दुई सय रुपियाँको समेत गहुँ उत्पादन नभएको तर मकैमा प्रतिकट्ठा दुई हजार रुपियाँ मल, सिँचाइ र बीउमा लगानी गर्दा १० हजार रुपियाँसम्म आम्दानी हुने गरेको किसानको भनाइ छ । मकै खेतीबाट प्रतिबिघा एक लाख २० हजार रुपियाँ एक मौसममा आम्दानी गरिरहेको बबियाका किसान सियाराम यादवले बताउनुभयो ।

विगतमा सुनसरीमा २० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदा दुई हजार हेक्टर क्षेत्रफलमा मात्रै मकै खेती हुने गरेको थियो तर अहिले गहुँबाली १३ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ भने मकै १४ हजार हेक्टर क्षेत्रफलमा विस्तार भएको कृषि ज्ञान केन्द्रको अनुमान छ ।