• २५ वैशाख २०८१, मङ्गलबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

blog

काठमाडौं, पुस १८ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अङ्कमा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो । यस्तै ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कुल ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर रु दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा नबिल बैङ्क शीर्षस्थानमा छ । सो बैङ्कको रु १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो ।

यस्तै, हिमालयन डिस्टिलरीको रु. १६ करोड ६४ लाख ८२ हजार तीन सय तीन, एनआइसी एसिया बैङ्कको रु. ११ करोड १४ लाख ५५ हजार, नेपाल दूरसञ्चार कम्पनीको रु. आठ करोड ३५ लाख ८५ हजार नौ सय १५ र युनिभर्सल पावरको रु. सात करोड ९२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार उकालो लागेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त र खप्तड लघुवित्त छन् । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, अजोड इन्स्योरेन्स नौ दशमलव ९८ र प्रभु इन्योरेन्सका लगानीकर्ताले नौ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, एनएमबीका ५० लगानीकर्ताले चार दशमलव ८० प्रतिशतले गुमाए भने  नेपाल दूरसञ्चार कम्पनीको चार दशमलव शून्य एक, नेपाल इन्भेस्टमेन्ट बैङ्कको ऋणपत्र तीन दशमलव ९६, नेपाल बैङ्क लिमिटेडको दुई दशमलव ५६ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।