यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ४८ हजारभन्दा बढी खसी, बोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा बिक्री भएका छन् ।
दसैँ नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ । उपत्यकामा दसैँलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो ।
बाढीपहिरोको मारमा परेका उपभोक्ता अस्वाभाविक मूल्यवृद्धिले झनै आक्रान्त बनेका छन् ।
केही दिनदेखि उपभोक्ताले महँगो मूल्य तिरेर पनि ताजा तरकारी खान पाएका छैनन् । देशभर लगातार परेको पानीका कारण आएको बाढीले सडकलाई क्षति पुर्याएको छ ।
नेपालीका ठुला चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक/डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो ।
बितेका १६ वर्षमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत एक लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख पाँच हजार ५४४ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु श्रमिक थप सुरक्षित एवं मर्यादित किसिमले पठाउने गरी छलफल भइरहेको जनाएको छ । महिलामाथि राज्यको विभेदकारी नीतिमा अझै परिवर्तन हुन नसकेको भन्दै महिला अधिकारीकर्मी र सरोकारवालाबाट व्यापक गुनासोपछि श्रममन्त्री शरतसिंह भण्डारीले मङ्गलबार सङ्घीय संसद्मा घरेलु श्रमिकसम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि दुई पक्षीय छलफल भइरहेको जानकारी दिनुभएको हो ।
सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमन आगामी सातादेखि गर्ने तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्वका बेलामा बजारमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यका साथ आउँदो सातादेखि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको हो । विभागका महानिर्देशक राजन पौडेलले थप कर्मचारी माग गरिसकेकाले आउँदो सातादेखि चाडपर्वमा बढी खपत हुने सामानमा केन्द्रित भएर १० वटा टोलीले अनुगमन गर्ने जानकारी दिनुभयो ।
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइब्रेरियालगायतका देशमा जाने युवाको सङ्ख्या ६६ हजारभन्दा बढी छन् ।
चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको हो । नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा दुई सय रुपियाँ बढेर आएको सङ्घले जनाएको छ ।
वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ । सरकारले लगातार चार वर्षदेखि वैदेशिक रोजगार ऐनको बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था प्रयोग गरी वार्षिक एक सय जना श्रमिक पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्दै आएको छ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र प्रकाशित गरिसकेको छ । एक सय श्रमिक पठाउन नसकेका २५० वटा म्यानपावरको नवीकरणको बाटो खुलेको हो । विगत चार वर्षदेखि विभिन्न कारण देखाउँदै एक सय श्रमिक विदेश पठाउन नसकेका म्यानपावर पनि नवीकरण भएका थिए ।
वैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको सङ्ख्या क्रमशः बढेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः बढेको देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा गत आवमा बढेर ७२ प्रतिशत नेपाली श्रमिक दक्ष भएर विदेश गएका छन् । पछिल्ला वर्षमा शिक्षित र तालिम लिएका युवा विदेश जाँदा पनि सिप परीक्षण गरेर जाने प्रवृत्तिको विकास भएको छ ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरेको छ । हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने सङ्घीय सरकारले तय गर्ने गरिएकोमा अब मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक दीपकराज नेपालले अबदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमूलक तालिम दिने गरी स्थानीयकरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि चालु आवका लागि छुट्याइएको बजेट स्थानीय तहको ‘तालिमको मोडालिटी’ अनुसार सिधै जान्छ ।
नेपाल सरकारले भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म/व्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो । यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोट गरी चिनी खरिद गर्न पत्राचार गरेको थियो । सरकारले तोकेको मापदण्ड अनुसार भारत सरकारबाट उपलब्ध गराइएको कोटाको चिनी महँगो दरमा खरिद गरेर बिक्री गर्न नसक्ने उद्योगीले भनेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले व्यवसायीमार्फत चिनी खरिदका लागि आह्वान गरेको छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।