• ८ पुस २०८१, सोमबार

भारत हुँदै तेस्रो देश जान ‘एनओसी’ नचाहिने

blog

काठमाडौँ, कात्तिक २७ गते । श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अबदेखि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । सोमबार दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीलाई भारतीय विमानस्थल प्रयोग गरेर श्रम गन्तव्य जाँदा एनओसी नचाहिने व्यवस्था लागु गरेको जानकारी गराएको हो । 

दूतावासका अनुसार साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनु पर्छ । वैदेशिक रोजगार विभाग र विभागमातहतका श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भने एनओसी आवश्यक नरहेको सूचनामार्फत स्पष्ट पारिएको छ । 

त्यसै गरी नेपाली कूटनीतिक, आधिकारिक, सेवा राहदानी धारक, संयुक्त राष्ट्र सङ्घ लायसेज–पासर (युएनएलपी) भएका नेपाली नागरिक र १६ वर्षमुनिका नेपाली नाबालिगलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासको सूचनामा उल्लेख गरिएको छ । 

दूतावासका अनुसार अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि अबदेखि एनओसी चाहिँदैन । रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने हुन्छ । 

भम्रणका लागि एनओसी आवश्यक पर्ने नेपाली नागरिकलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातसहित तोकिएको मितिभन्दा कम्तीमा सात दिनअगाडि सम्पर्क गर्न दूतावासले सूचनामार्फत आग्रह गरेको छ । यात्रा एनओसीका लागि सेवा शुल्क प्रतिव्यक्ति एक हजार भारतीय रुपियाँ तोकिएको छ ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि एयरलाइन्स कम्पनीले हवाई भाडा दोब्बरले बढाएका छन् । त्यसैले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले भारतको बाटो हुँदै श्रम गन्तव्य मुलुक जाने व्यवस्था गर्न अनुरोध गरेपछि सरकारले यो व्यवस्था लागु गरेको हो । 

पछिल्लो केही दिनयता विदेश जानेको चाप बढेपछि हवाई भाडा चार दोब्बरसम्म वृद्धि भएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भारतीय दूतावासको पछिल्लो निर्णयको स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । 

अब श्रम स्वीकृति लिएर जाने नेपाली नागरिकलाई ठुलो राहत पुग्ने उहाँको भनाइ छ । श्रमिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य देशमा पुग्न एनओसी लिनुपर्ने व्यवस्था असाध्यै झन्झटिलो रहेको उहाँले बताउनुभयो । 

वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या दैनिक औसतमा दुई हजार चार सयको हारहारीमा रहेको छ । दसैँतिहार मनाउन बिदामा आएर पुनः श्रम स्वीकृत लिएर जाने सङ्ख्या ठुलो छ । 

हवाई भाडा क्रमशः घट्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन थालेपछि क्रमशः अहिलेको चाप कम हुने र हवाई भाडा पनि घट्ने दाबी गर्नुभयो । सोमबार मन्त्रालयमा पत्रकारसँगको औपचारिक भेटघाट कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको चाप भैरहवाबाट उडान सुरु भएपछि कम हुने बताउनुभएको हो । 

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई श्रम गन्तव्यसँग जोड्न श्रमसँग जोडिएका कार्यालयका शाखा विस्तारका लागि पनि प्रक्रिया सुरु गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार लुम्बिनी प्रदेश कार्यालयबाट श्रम स्वीकृतिको काम भए पनि म्यानपावर व्यवसायीका शाखा, प्रस्थानपूर्व लिइने अभिमुखीकरण तालिमका शाखा र एयरलाइन्सका शाखा नहुँदा काठमाडौँ आउनुपर्ने बाध्यता रहेकाले अब ती सबै शाखा विस्तार गर्ने तयारी छ । 

भैरहवाबाट उडान सुरु गरेका एयरलाइन्सका देशका भिसा सेन्टर र एयरलाइन्सका शाखा तुरुन्त स्थापना गर्न जानकारी गराएको पनि उहाँले बताउनुभयो ।