बागमती प्रदेशको ललितपुरमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा तालिम र परामर्श दिने संस्थाको वर्चस्व रहेको छ । रोजगार मेलामा सिधै रोजगारी पाइने आसले आएकाहरू निराश भए । अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका अधिकांश निरास भएर फर्किएका छन् । मेलामा रोजगारीभन्दा पनि सिप, तालिम र परामर्श दिने संस्था भएकाले रोजगारी खोज्न आएकाहरू निरास भएका हुन् । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा मङ्गलबार र बुधबार चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका साथ अवलोकनमा आएको पाइयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा बाध्यकारी व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागीले आवश्यकता औँल्याएका छन् । कोषले जसरी वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध गराउने बाध्यकारी व्यवस्था गरेको छ, त्यसै गरी औपचारिक, अनौपचारिक र स्वरोजगारका श्रमिकलाई कोषको योजनामा आबद्ध नभएसम्म व्यवसाय दर्ता, नवीकरण, सरकारी कार्यालयबाट पाउने अन्य सुविधाबाट वञ्चित नगरेसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सक्दैन ।
लुम्बिनी प्रदेशमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि बिहीबारसम्म चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका साथ अवलोकनमा आएका हुन् । यस्तैमध्येका एक हुनुहुन्छ बुटवल मणिग्रामका यज्ञराज अर्याल । हुन त उहाँ वैदेशिक रोजगारीको सिलसिलामा विगत डेढ दशकदेखि कतारमा काम गर्दै आउनुभएको छ ।
सरकारले उत्पादकत्व र रोजगारी वृद्धि गरी आमनागरिकको विश्वास बढाउने नीति लिँदै बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ को बराबरको बजेटलाई नै निरन्तरता दिएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आन्तरिक रोजगारीमा चालु आवकै बजेटमा निरन्तरता दिने गरी बजेट प्रस्तुत गर्नुुभएको हो । चालुु आवमा श्रम रोजगारीका लागि आठ अर्ब आठ करोड विनियोजन गरिएकोमा आगामी आवका लागि आठ अर्ब १० करोड रुपियाँ विनियोजन भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको हो ।
नेपालबाट रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेश गइरहेका बेला नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या सामान्य दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा उच्च दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनामा सरकारले एक हजार ९८८ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० वैशाखको तुलनामा २०८१ को वैशाखमा सिप सिकेर, दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा दक्ष भएर जानेको सङ्ख्या ६९ प्रतिशत रहेकोमा गएको वैशाख ७४ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०७९/८० को चैत महिनाको तुलनामा चालु आवको चैत महिनामा वस्तु र सेवाको महँगी झन्डै आधाले घटेको हो । केन्द्रीय बैङ्कको प्रतिवेदन अनुसार गत आवको चैत महिनामा ७.७६ प्रतिशत रहेको महँगी चालु आवको चैतमा घटेर ४.६४ प्रतिशतमा सीमित रहेको छ । खाद्य तथा पेय पदार्थको महँगी पनि गत वर्षको चैतको तुलनामा घटेको छ । गत आवको चैतमा ६.९३ प्रतिशत रहेको महँगी चालु आवको चैतमा ५.२१ प्रतिशतमा सीमित रहेको देखिएको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू विदेशमा गएर लुक्ने प्रवृत्ति बढेसँगै सरकारले त्यस्ता अभियुक्तलाई इन्टरपोलमार्फत खोजी कार्य तीव्र पार्दै आएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा वैदेशिक रोजगारीमा हुने ठगीका घटना बढ्न थालेपछि त्यस्ता अपराधीलाई विदेशबाट पक्राउ गरी कारबाही अघि बढाउन थालेको हो ।
‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज (बुधबार) नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको गुनासो भइरहेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बजार अनुुगमन गरेकामध्ये अधिकांशमा कुनै न कुनै जरिबाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख १३ गतेसम्म अनुगमन टोलीले तीन हजार ७६६ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा तीन हजार ७२९ मा कुनै न कुनै कैफियत भेटिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि उपभोक्ता अदालत गठन गरी गुनासो सुनेर पीडित उपभोक्तालाई न्याय दिलाउन सुरु गरिने भएको छ । आपूर्ति मन्त्रालयले उपभोक्ता संरक्षण ऐन २०७५ मा भएको व्यवस्था अनुसार उपभोक्ता अदालत गठन गर्नेसम्बन्धी सबै प्रक्रिया पूरा गरी अन्तिम रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ ।
दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । सानोतिनो कमाइले परिवार धान्न गाह्रो भएको अनुभव सहकारीमा पैसा सङ्कलनको काम गर्ने विष्णुमाया क्षेत्रीले सुनाउनुभयो । दैनिक एक हजार रुपियाँले चार जनाको परिवारलाई सामान्य खाएर दुई छाक टार्न गाह्रो भएको अनुभव विष्णुमायाको छ । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।”
पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणमा परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएकामा छ हजार ३२१ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । बाँकी १० हजार ७९ जना छनोटका लागि भाषा परीक्षा सञ्चालन हुन बाँकी रहेको छ । सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । पहिलो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले मङ्गलबार राति गरेको जनाइएको छ । एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ ।