• ८ पुस २०८१, सोमबार

घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार

blog

काठमाडौँ, मङ्सिर ५ गते । “पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,” कीर्तिपुरकी उपभोक्ता रमा अधिकारी भन्नुहुन्छ, “चार जनाको परिवारमा नुन, तेल, जिरा, मसलासमेत गर्दा धेरै परिकार बनाउन खोज्दा एक छाकलाई तीन सय रुपियाँले पनि नपुग्ला जस्तो भयो ।”  

कङ्लकी चोकमा तरकारी भाउ बुझिरहेका ट्याक्सी ड्राइभर विनोद थापाले अब रोजेको तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले हाल तरकारीमा रायो साग, पाकेको फर्सी, मुला, इस्कुस खाने गरेको बताउनुभयो । तिहारपछि गोलभेँडा, काउली, आलु र प्याजको भाउ घट्ने आशा थियो तर झन् महँगिएर पो आइरहेको उहाँको भनाइ छ । 

दसैँअगाडि देशैभर आएको अविरल वर्षाले भएको बाढीपहिरोले महँगिएको तरकारी दसैँतिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । ताजा तरकारीको माग अनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको छ, जसको मारमा सर्वसाधारण उपभोक्ता परेको अधिकारी र थापाको भनाइले बुझाउँछ ।  अहिले काठमाडौँको स्थानीय काउली थोकमै प्रतिकेजी १२० देखि १३० रुपियाँसम्म पुगेको छ । स्थानीय काउली मात्रै होइन, अधिकांश ताजा तरकारीको भाउ प्रतिकिलो सय रुपियाँभन्दा माथि नै छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गोलभेँडा प्रतिकेजी १०० देखि ११० रुपियाँ,  गाँजर प्रतिकेजी १२० देखि १५० रुपियाँसम्म, सेतो मुला ५० रुपियाँ, बोडी तने १२० रुपियाँ, घिउसिमी १२० रुपियाँ, मटरकोसा १८० रुपियाँ, थोकमै कारोबार भएको छ । यस्तै सुकेको प्याज प्रतिकेजी १२० रुपियाँ थोकमा कारोबार भइरहेको छ भने रातो (नेपाली) आलु प्रतिकेजी ८५ रुपियाँ थोकमा किनबेच भइरहेको छ । थोकमा यो अवस्थामा रहेको तरकारीको भाउ खुद्रामा झनै महँगो छ । 

 खुद्रामा गोलभेँडा प्रतिकेजी १५० देखि १६० रुपियाँ, स्थानीय काउली प्रतिकेजी १५० देखि १८० रुपियाँसम्म किनबेच भइरहेको छ । यस्तै आलु रातो प्रतिकेजी एक सय रुपियाँ र सुकेको प्याज प्रतिकेजी १९० रुपियाँसम्ममा खुद्रा मूल्यमा किनबेच भएको छ । 

बजारमा प्रायः सबै खालका तरकारीको भाउ बढेको छ । गएको भदौमा प्रतिकेजी औसतमा ३५/४० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको गोलभेँडा अहिले बढेर थोकमै १२० रुपियाँ पुगेको छ । दसैँअगाडिको तुलनामा आलु र प्याजबाहेक अधिकांश तरकारी तनेबोडी, घिउसिमी, स्थानीय काउली, सेता मुला, मटरकोसालगायतका सबै जसो ताजा तरकारीको भाउ यसै गरी बढेको छ । 

उत्पादन र आयात दुवैमा कमी 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको माग अनुसार आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । कालीमाटीमा सामान्य अवस्था दैनिक एक हजारदेखि एक हजार एक सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले सात सयदेखि ७५० मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ । समितिका प्रवक्ता वियन श्रेष्ठले बर्खे तरकारी सकिएको र हिउँदे तरकारी बजारमा ्रपर्याप्त नआइसकेकाले बजारमा तरकारी महँगो भएको बताउनुभयो । 

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको साउनदेखि असोजसम्मको मूल्यवृद्धिको आँकडा अनुसार तरकारीको मूल्य अचाक्ली नै बढेको देखाउँछ । खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत सबैभन्दा बढी तरकारीमा २५.१५ प्रतिशतले बढेको तथ्य सार्वजनिक गरेको छ ।