• १९ असोज २०८१, शनिबार

दैनिक अनुगमन हुँदा पनि उपभोक्ताले पाएनन् राहत

blog

काठमाडौँ, असोज १९ गते । बाढीपहिरोको मारमा परेका उपभोक्ता अस्वाभाविक मूल्यवृद्धिले झनै आक्रान्त बनेका छन् । दसैँको चहलपहलको मौका छोपी व्यवसायीले लत्ताकपडा, खाद्यवस्तु, हरिया तरकारीदेखि यातायात र हवाई भाडालगायतमा मनपरी गरेका छन् । पछिल्ला दिनमा हरेक उपभोग्य वस्तुदेखि सेवाका क्षेत्रमा अत्यधिक मूल्यवृद्धि भएको छ । यसबिचमा महँगो नभएको कुनै पनि वस्तु छैन । 

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्रीवितरण गर्नुलाई कालोबजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिबानाको व्यवस्था गरेको छ । 

सो ऐनमा भएको व्यवस्था अनुसार सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सय कडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै हुन सक्ने व्यवस्था छ । व्यापारीले ११५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक निकाय मूकदर्शक बनेका छन् । 

राष्ट्रिय उपभोक्ता मञ्जका अध्यक्ष प्रेमलाल महर्जनले एकातिर प्राकृतिक विपत्ति र अर्कोतिर दसैँ नजिकिँदै गर्दा हवाई, यातायातको भाडा र खाद्यवस्तुको मूल्यवृद्धिले आमउपभोक्ता चर्को मारमा परेको बताउनुभयो । यसबेलामा नागरिकप्रति जिम्मेवार भई सरकारका नियमनकारी निकायको बजारमा दरो उपस्थिति हुन नसकेकोमा उहाँले आपत्ति जनाउनुभयो । 

अर्को उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले चाडपर्वमा सबै खाद्यवस्तु महँगिँदा सरकारको चाडपर्वलक्षित अनुगमनको प्रभाव नदेखिएको बताउनुभयो । सरकारको चाडपर्वलक्षित अनुगमन खाली बजेट सकाउनेबाहेक केही हुन नसकेको उहाँको भनाइ छ । उहाँले चाडपर्वमा उपभोग्य वस्तुहरूको मूल्य विगतका वर्षहरूमा पनि बढ्ने गथ्र्यो तर उपभोक्ताको क्षमताले थेग्न नसक्ने गरी यस पटक बढेको बताउनुभयो । 

यता सरकारका नियमनकारी निकायले भने प्राकृतिक विपत्ति र दसैँका बेलामा बजारमा हुन सक्ने अस्वाभाविक गतिविधिप्रति सचेत रहेर नै संयुक्त रूपमा बजार अनुगमन गरेको दाबी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा असोज ५ गतेदेखि चाडपर्वलक्षित टोलीले दैनिक ९/१० वटा अनुगमन गर्दै आएको छ तर बजारमा सुधार देखिएको छैन । 

विभागका महानिर्देशक राजन पौडेलले चाडपर्वलक्षित गरेर विभागको नेतृत्वमा दैनिक औसतमा ३७/३८ वटा व्यवसायी फर्मको अनुगमन गरिरहेको जानकारी दिनुभयो । सरकारको संयुक्त बजार अनुगमनले आमउपभोक्ताको आकाङ्क्षा अनुसार नभए पनि तरकारी र खाद्यवस्तुको भाउमा सुधार आएको दाबी उहाँको थियो । 

बिदामा पनि अनुगमन 

विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले सार्वजनिक बिदाको दिनमा पनि बजार अनुगमन गर्दै आएको छ । विभाग नेतृत्वको दसैँलक्षित तीन वटा अनुगमन टोलीले बिहीबार सार्वजनिक बिदाका दिनमा १७ वटा व्यवसायी फर्मको अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा एयरपोर्ट सेकुबाघर एन्ड रेस्टुराँ र रिगल एयरपोर्ट होटलमा म्याद नाघेको वस्तु बिक्री गरेको भेटिएपछि दुई/दुई लाखका दरले जरिबाना गरेको विभागले जनाएको छ । अनुगमन गरेका १५ वटा व्यवसायी फर्मलाई भने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ ।