शिवराज ढुंगाना मंगलसेन, जेठ २५ गते । मृतक पक्ष र प्रहरीबीचमा सहमति भएपछि पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको पाँच दिनपछि शवको परीक्षण हुने भएको छ । शव परीक्षण, किटानी जाहेरी दर्ता र अनुसन्धान गर्नेमा मृतकका दाजु डम्बरबहादुर शाही र अछाम प्रहरीका प्रहरी निरीक्षक कैलाश विष्टबीचमा सहमति पत्रमा हस्ताक्षर भएपछि शव उठाउन पीडित पक्ष सहमत भएको हो । मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।प्रहरीले किटानी जाहेरी नलिएको भन्दै पीडित पक्षले शवको परीक्षण गर्न नमानेपछि हराएको सात र मृत फेला परेको चौंथो दिनमा विनोदको शव घटनास्थलमै रहेको थियो । हत्याराको कानूनी कार्वाहीको सुनिश्चितता नभएसम्म शव उठान पीडित पक्ष सहमति भएको थिएन । कार्वाही गर्न सभामुखको निर्देशन सभामुख अग्निप्रसाद सापकोटाले पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ । बुधबारको प्रतिनिधिसभामा बैठकमा घटनाका बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारलाई कार्वाही प्रक्रिया अघि बढाउन सभामुखले निर्देशन दिनुभएको हो ।
मस्को, जेठ २४ गते । रुसी रक्षामन्त्री सर्गेई शोइगुले मस्कोका सेनाले युक्रेनको पूर्वमा पर्ने प्रमुख शहर सेभेरोडोनेत्स्कका आवासीय क्षेत्रको पूर्ण नियन्त्रणमा लिएको मङ्गलबार बताएका छन् । पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रमा अझै पनि युक्रेनी अधीन रहेको सबैभन्दा ठूलो शहर सेभेरोडोनेत्स्क - हालैका हप्ताहरूमा लडाइँको केन्द्रबिन्दु बनेको छ । "सेभेरोडोनेत्स्क शहरका आवासीय क्षेत्रहरू पूर्ण रूपमा मुक्त गरिएको छ," शोइगुले रक्षा मन्त्रालयको बैठकमा टेलिभिजन टिप्पणीमा भनेका छन् । रुसी सेनाले अझै पनि शहरको "औद्योगिक क्षेत्र र निकटतम बस्तीहरू" मा आफ्नो नियन्त्रण स्थापित गर्न खोजिरहेको उनले थपेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि रूसी सेनाले देशको पूर्वमा महत्त्वपूर्ण लाभहरू हाँसिल गरेको बताइएको छ । रुसी सेनाले अहिले पूर्वी युक्रेनी बन्दरगाह शहर मारिउपोललाई नियन्त्रणमा लिएको छ जुन द्वन्द्व अघि देशको दोस्रो व्यस्त शहर थियो । "मारिउपोल बन्दरगाहको उत्खनन पूरा भएको छ । यो सामान्य रूपमा सञ्चालन भइरहेको छ र पहिलो कार्गो जहाजहरू स्वीकार गरेको पनि शोइगुले भनेका छन् । मस्कोको आक्रमण सशुरु भएयता ६ हजार ४८९ युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेको शोइगुले बताएका छन् ।
जीवन खत्रीसउल, जेठ २४ गते ।सोई ढोले सोई अर्को ढोले खोई... सोई सोई ला हो हुर्रा हा हा... चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए । सन्दर्भ थियो किराँतीको महान् पर्व उभौलीको अवसर । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका किराँती राईले हर्षोलासका साथ साकेला नाच नाचेका छन् । कोरियामा रहेका किराँतीको साझा संस्था किराँत राई यायोख्खा (किराया)ले राजधानी सउलको दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा आइतबार बिहान ११ देखि साँझ ६ बजेसम्म शुभकामना आदानप्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेको थियो । ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रमले नेपाली, विशेषतः किराँती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियालीमाझ चिनाउनसमेत सहयोगी भएको आयोजक संस्थाका महासचिव जीवन राईले बताउनुभयो । किरायाकी दीपा मेवाहाङ राईका अनुसार प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि साकेला नाचिने भए पनि परदेशमा पूर्णिमाकै दिन छुट्टी नमिल्ने भएकाले अर्काे दिन पारेर कार्यक्रम गरिएको हो । किराँती रीतिअनुसार भूमिपूजा गरी उभौली मनाइने क्रममा साकेला शिली नाच नाचिन्छ । प्रकृतिपूजक किराँतीले प्रकृतिलाई खुशी पार्नका लागि नाच्ने सो नाचको विशेष अर्थ रहेको कवि शकुन आँसुले बताउनुभयो । किराँती परम्परानुसार उभौलीसँगै मङ्सिर पूर्णिमाका दिनदेखि उधौली पनि मान्ने गरिन्छ तर परदेशमा सम्भव नहुने भएकाले उभौलीलाई मात्र भए पनि निरन्तरता दिइएको कवि सुनिलदिप्त राईले स्पष्ट गर्नुभयो । अन्नबाली लगाइने समयमा बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनाका साथ उभौली मनाइन्छ । साकेला अर्थात् सान्केवा नाचमा हातखुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव–जनावरको नक्कल गरी ढोल–झ्याम्टाका तालमा सामूहिक नृत्य गरिन्छ । साकेलसाकेन्वा नाच्दा प्रस्तुत गरिने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिने आयोजक सुष्मारानाहमा राईले बताउनुभयो । यहाँ रहेका नेपाली किराँतीले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला दुई वर्ष कोरोनाका कारण रोकिएको थियो । कार्यक्रममा कोरियामा रहेका किराँती समुदायलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसासी तथा मजदुरको सहभागिता थियोे ।
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकाले कानूनअनुसार निलम्बनकाे व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विभिन्न मितिमा भ्रष्टाचार कसुरमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दयार गरेको र मुद्दा विचाराधीण रहेकै अवस्थामा ती व्यक्तिहरु वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएकाे थियाे ।निर्वाचित हुनेमा कैलालीको मोहन्याल गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेकाले भ्रष्टाचार मुद्दा दायर छ ।कैलालीकै मोहन्याल गाउँपालिका, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेकाले उहाँमाथि आरोपपत्र दायर गरेको छ ।नुवाकोटको विदुर नगरपालिका, वाड नं.९ का सुलक्षण माध्यामिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकाले उहाँमाथि पनि भ्रष्टाचारकाे मुद्दा छ ।अछामको पंचदेवल विनायक नगरपालिका, वडा नं. ७ को कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक सुरतबहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेकाले उहाँमाथि पनि भ्रष्टाचार मुद्दा दायर छ ।यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति र राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका ५० वर्षीया महिलाको मंगलबार दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेको ज्यान गएको जानकारी दिनुभयो । घटनाको बारेमा पुष्टि भएपछि चारवटा हात्ती प्रयोग गरेर बोटेको खोजी भइरहेको जानकारी दिनुभयो ।
देवरामप्रसाद यादवसप्तरी, जेठ २४ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामलखन मलाहाले पूर्वाग्रह नराखेर सबै वडा र क्षेत्रको विकास गरिने बताउनुभयो ।डाक्नेश्वरी नगरपालिकाको मगलबार आयोजित शपथ ग्रहण र पदास्थापन कार्यक्रममा प्रमुख मलाहाले सो कुरा बताउनुभएको हो ।जनप्रतिनिधिहरुले जनताको इशारा र संकेत बुझ्न जरुरी रहेको भन्नुहुँदै जनताको सुझावलाई मार्गनिर्देशनका रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य ताराकान्त चौधरीले सिँचाई, खाद्यमलको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गर्नुभयो । गुणस्तरिय शिक्षामा ध्यान दिन र अस्तव्यस्त रहेको अवस्थालाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधिलाई सुझाव दिनुहुँदै उहाँले अविलम्ब स्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताउनु भयो ।नगर प्रमुख मलाहाले उपप्रमुख मीराकुमारी यादवसहित वडा अध्यक्षहरु र सदस्यहरुलाई सामूहिक रुपमा शपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा निवर्तमान प्रमुख शिवनारायण साह, जिल्ला विकास समितिका पूर्वसदस्य हरिसुदन यादव, निर्वाचन अधिकृत शम्भुनाथ मगर, प्रत्याशी उम्मेदवार बेचु साह, प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, वडा नम्बर ९ का अध्यक्ष कर्णदेव चौधरी, नेकपा (एमाले) सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरलगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
शिवशंङ्कर मिश्र बारा, जेठ २४ गते । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ पटेर्वा टोलका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा सोमबार राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित हुनुभएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका आठै जना निर्वाचित हुनुभएको हो । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)का कोपिला उपरकोटी –९२) मत प्राप्त गरी विजयी हुनुभएको छ । महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)का विना नेपाली (८६) निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।एमाले–राप्रपा गठबन्धनबाट तीन जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ पाँच सदस्यमा उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।
नारद कोहारतौलिहवा, जेठ २४ गते । प्रदेश सरकर वन सम्बन्धी ऐन नियम बनाएको कारण सम्पूर्ण जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले कपिलबस्तुको जितपुरमा आयोजना गरेको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सबै सामुदायिक वनले आ–आफ्नो नियमअनुसार राजश्व तिर्ने, संरक्षण गर्ने र लाभ पाउने व्यवस्था प्रदेश सरकारले गरेकाले आउने दिनमा वनभित्र चोरी निकासी नहुने मुख्यमन्त्री केसीले बताउनुभयो ।प्रदेशको ५९ प्रतिशत वनको स्रोत भएकाले समृद्ध प्रदेश बनाउन यसले कोसेढुंगा सावित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले वन क्षेत्रलाई मात्रै व्यवस्थित ग¥यो भने पर्यटकीय प्रर्वद्धनमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।”आउने आर्थिक वर्षदेखि लुम्बिनी प्रदेशको सबै सरकारी निकायमा आफ्नै प्रदेशमा उत्पादित फर्निचरको प्रयोग हुने समेत उहाँले बताउनुभयो । यसको लागि एउटा ठूलो अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
जनकपुरधाम, जेठ २४ गते । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा जुत्ताचप्पलको व्यवस्थापन शुरु गरिएको छ । केही वर्षयता व्यवस्थापन नहुँदौ मन्दिर परिसरबाट जुत्ताचप्पल हराउने र चोरी हुने समस्या रहँदै आएको थियो ।जनकपुरधाममा महिनापिच्छे हुने धार्मिक तथा साँस्कृतिक उत्सवका बेला जानकी मन्दिर दर्शन गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरभित्र प्रवेश गर्नुअघि नै जुत्ताचप्पल फुकाल्नुपर्ने हुन्छ । तर, केही वर्षयता जुत्ताचप्पल व्यवस्थापन कार्य अवरुद्ध रहँदा मन्दिरको मूल भवनबाहिर नै यत्रतत्र जुत्ताचप्पल छाड्नुपर्ने दर्शनार्थीको वाध्यता रहेको थियो । स्थानीय समाजसेवी वैद्यनाथप्रसाद साहका अनुसार फलामको स्ट्यान्ड बनाई जुत्ताचप्पल राख्ने व्यवस्थापन कार्य गर्न थालेपछि श्रद्धालुहरूलाई सजिलो भएको छ । श्रद्धालुहरू जुत्ताचप्पल फुकाएर स्ट्यान्डमा राख्न थालेपछि उहाँहरूलाई राहतको अनुभूति भएको हो । मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले भिडभाड भएका बेला मन्दिरबाहिर जुत्ताचप्पल छरिने र अन्य बेला पनि साटिने गरेको समस्या यसको व्यवस्थापनपछि समाप्त भएको बताउनुभयो ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।
देवराम प्रसाद यादवसप्तरी, जेठ २४ गते । सप्तरीको रुपनीस्थित मुसहरनीया बसबिटी राजविराज सडकखण्ड अन्तर्गत रुपनी ५ स्थित पाँच किलो भन्ने ठाउँमा मगंलबार माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर गाउँका ६८ वर्षीया तारावतीदेवी यादव रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले 'पार्टी निर्णय र नेतृत्वलाई चुनौती दिएको' भनेर केही अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमा चलाइएका भ्रामक प्रचार अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएकाे छ ।
किवी खेतीतर्फ दैलेखका किसानको आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै छन् । जिल्लाको भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठका अनुसार सरकारमा भएका मन्त्रीलाई फर्काउने र नयाँ राख्ने निर्णय भए बमोजिम कार्यान्वयन भने हुन्छ ।